प्राज्ञिक गौरव प्रा.डा. निर्मलमणि अधिकारीलाई ‘गण्डकी वाङ्मय पुरस्कार–२०८२’
उनी काठमाडौँ विश्वविद्यालयमा सञ्चार विषयका एकमात्र प्राध्यापक मात्र होइनन्, नेपालबाट सञ्चार क्षेत्रमा पीएचडी र पोस्ट–डक्टोरल अध्ययन पूरा गर्ने पहिलो नेपालीका रूपमा पनि परिचित छन्।
काठमाडौँ : तनहुँको माटोमा जन्मिएर सञ्चार र प्राज्ञिक क्षेत्रमा अन्तर्राष्ट्रिय पहिचान स्थापित गर्न सफल विशिष्ट सिद्धान्तकार प्रा.डा. निर्मलमणि अधिकारी लाई यस वर्षको ‘गण्डकी वाङ्मय पुरस्कार–२०८२’ प्रदान गरिने भएको छ।
गण्डकी वाङ्मय प्रतिष्ठानको शुक्रबार बसेको बैठकले नेपाली साहित्य, सञ्चार र शोध–अनुसन्धान क्षेत्रमा उनले पुर्याएको दीर्घकालीन र असाधारण योगदानको कदर गर्दै उक्त निर्णय गरेको हो। प्रतिष्ठानका पदाधिकारीहरूद्वारा जारी विज्ञप्ती अनुसार अधिकारीको बौद्धिक नेतृत्व र अनुसन्धानमूलक कामले नेपाली वाङ्मय र सञ्चार अध्ययनलाई नयाँ उचाइमा पुर्याएको छ।
प्रा.डा. अधिकारी हाल काठमाडौँ विश्वविद्यालय मा प्राध्यापक तथा भाषा तथा आमसञ्चार विभागीय प्रमुखका रूपमा कार्यरत छन्। उनी काठमाडौँ विश्वविद्यालयमा सञ्चार विषयका एकमात्र प्राध्यापक मात्र होइनन्, नेपालबाट सञ्चार क्षेत्रमा पीएचडी र पोस्ट–डक्टोरल अध्ययन पूरा गर्ने पहिलो नेपालीका रूपमा पनि परिचित छन्। यस अर्थमा उनको शैक्षिक यात्रा नेपाली सञ्चार अध्ययनका लागि ऐतिहासिक उपलब्धिका रूपमा लिइन्छ।
सञ्चार सिद्धान्तको क्षेत्रमा उनले विकास गरेको ‘साधारणीकरण ढाँचा’ (Sadharanikaran Model of Communication) विश्वस्तरमै मौलिक र चर्चित मानिन्छ। यो ढाँचा पूर्वीय दर्शन र सामाजिक यथार्थलाई समेटेर तयार गरिएको सञ्चार मोडेल हो, जसले सञ्चार प्रक्रियालाई नयाँ दृष्टिकोणबाट व्याख्या गर्छ। सञ्चार अध्ययनका अन्तर्राष्ट्रिय बहसहरूमा समेत यो मोडेलले उल्लेखनीय स्थान बनाएको छ।
अधिकारीका ६० भन्दा बढी पुस्तक तथा कृतिहरू प्रकाशित भइसकेका छन् भने सयौं अनुसन्धानमूलक लेखहरू विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नलहरूमा प्रकाशित छन्। उनका कृतिहरूले सञ्चार सिद्धान्त, सांस्कृतिक अध्ययन, दार्शनिक विमर्श तथा मिडिया अनुसन्धानमा नयाँ दिशा प्रदान गरेका छन्। विद्यार्थी, अनुसन्धानकर्ता तथा प्राध्यापकहरूका लागि उनका लेखनहरू सन्दर्भ सामग्रीका रूपमा स्थापित छन्।
प्रतिष्ठानकी अध्यक्ष गौकुमारी न्यौपानेका अनुसार नयाँ वर्ष २०८३ को अवसरमा व्यास नगरपालिका को सभाकक्षमा आयोजना गरिने विशेष समारोहबीच उक्त पुरस्कार प्रदान गरिनेछ। “प्रा.डा. अधिकारीको प्राज्ञिक निष्ठा, बौद्धिक साधना र अन्तर्राष्ट्रिय स्तरको योगदानको सम्मानस्वरूप यो पुरस्कार अर्पण गर्न लागिएको हो,” उनले भनिन्।
उनका अनुसार यस्तो सम्मानले नेपाली वाङ्मय र सञ्चार क्षेत्रमा क्रियाशील स्रष्टा तथा अनुसन्धानकर्तालाई थप प्रेरणा मिल्ने विश्वास गरिएको छ। “यो केवल एउटा व्यक्तिको सम्मान मात्र होइन, समग्र नेपाली प्राज्ञिक क्षेत्रको गौरव पनि हो,” उनले थपिन्।
आफ्नै गृहजिल्लाको प्रतिष्ठित संस्थाबाट प्राप्त हुन लागेको यो सम्मानलाई अधिकारीको दीर्घकालीन बौद्धिक योगदानको कदरका रूपमा हेरिएको छ। तनहुँका बौद्धिक समुदाय, विद्यार्थी तथा सञ्चारकर्मीहरूले यसलाई जिल्लाको गर्वको विषयका रूपमा लिएका छन्।
नेपाली सञ्चार अध्ययनलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन महत्त्वपूर्ण भूमिका खेलेका प्रा.डा. अधिकारीलाई प्रदान गरिने यो सम्मानले देशभित्र मात्र होइन, बाहिर पनि सकारात्मक सन्देश दिने अपेक्षा गरिएको छ।
प्रा.डा. अधिकारीलाई यो गरिमामय उपलब्धिका लागि हार्दिक बधाई तथा शुभकामना व्यक्त गरिएको छ।
-
0%
लाइक
-
0%
मनपर्यो
-
0%
अचम्मित
-
0%
दुःखी
-
0%
आक्रोशित


.jpeg)



