सिद्धान्तकार प्रा. डा. निर्मलमणि अधिकारीको स्वर्ण जन्मोत्सव समारोह भव्य रूपमा सम्पन्न

विभिन्न देशका प्रतिष्ठित शिक्षाविद्, सञ्चारविद्, अनुसन्धानकर्ता, सांस्कृतिक व्यक्तित्व, प्राध्यापक, विद्यावारिधि शोधार्थी तथा शुभेच्छुकहरूको उल्लेखनीय सहभागितामा सम्पन्न

 

काठमाडौं: सञ्चारशास्त्र, मिडिया अध्ययन, मौलिक ज्ञान प्रणाली, साहित्य तथा शैक्षिक नेतृत्वका क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएका सिद्धान्तकार प्राध्यापक डा. निर्मलमणि अधिकारीको स्वर्ण जन्मोत्सवको अवसरमा आयोजित दुईदिने विशेष समारोह भव्य तथा गरिमापूर्ण रूपमा सम्पन्न भएको छ ।

विभिन्न देशका प्रतिष्ठित शिक्षाविद्, सञ्चारविद्, अनुसन्धानकर्ता, सांस्कृतिक व्यक्तित्व, प्राध्यापक, विद्यावारिधि शोधार्थी तथा शुभेच्छुकहरूको उल्लेखनीय सहभागितामा सम्पन्न उक्त कार्यक्रमले प्रा. डा. अधिकारीको दीर्घ शैक्षिक यात्रासँगै उनले स्थापित गरेका वैचारिक विरासतलाई विशेष रूपमा स्मरण गरेको थियो ।

समारोहको उद्घाटन अन्तर्राष्ट्रिय वेबिनारमार्फत गरिएको थियो । उद्घाटन सत्रका प्रमुख अतिथि प्रख्यात सञ्चारविद् केजी सुरेशले प्रा. डा. अधिकारीले पूर्वीय दर्शन र मौलिक ज्ञान प्रणालीका आधारमा सञ्चार अध्ययनलाई नयाँ बौद्धिक उचाइ प्रदान गरेको उल्लेख गरे ।

उनले भने, “प्राध्यापक निर्मलमणि अधिकारीले पूर्वीय दार्शनिक दृष्टि र मौलिक स्वदेशी ज्ञान प्रणालीमार्फत सञ्चार अध्ययनलाई समृद्ध बनाउन उल्लेखनीय योगदान गर्नुभएको छ । उहाँको शैक्षिक समर्पणले सीमापारका अनुसन्धानकर्ता र विद्वानहरूलाई समेत प्रेरित गरिरहेको छ ।”

समारोहका मुख्य वक्ता निकोलस बोइन प्रिन्सिपाटोले प्रा. डा. अधिकारीका कृतिहरूको अन्तर्राष्ट्रिय महत्वमाथि प्रकाश पारे । उनले प्रा. अधिकारीको बौद्धिक दृष्टि र अन्तरविषयक अध्ययनले विभिन्न सभ्यता र शैक्षिक परम्पराबीच अर्थपूर्ण संवादको वातावरण निर्माण गरेको बताए ।

“प्राध्यापक अधिकारीको वैचारिक दृष्टि र अन्तरविषयक अध्ययनले विश्वका फरक शैक्षिक परम्पराहरूबीच महत्वपूर्ण संवाद स्थापित गरेको छ,” उनले भने, “उहाँका कृतिहरू भविष्यका सञ्चार अनुसन्धानकर्ताहरूका लागि पनि महत्वपूर्ण सन्दर्भ सामग्रीका रूपमा रहिरहनेछन् ।”

समारोहअन्तर्गत सञ्चालित विविध शैक्षिक सत्रहरूमा सञ्चार, संस्कृति, दर्शन, मिडिया अध्ययन तथा मौलिक ज्ञान प्रणालीसँग सम्बन्धित विविध विषयमा पहिलो दिन २३ वटा अनुसन्धानपत्र प्रस्तुत गरिएको थियो । त्यस्तै दोस्रो दिन छ वटा कार्यपत्रसंगै औपचारिक कार्यक्रम सम्पन्न भएको थियो। विभिन्न विश्वविद्यालय तथा शैक्षिक संस्थासँग आबद्ध विद्वान् तथा अनुसन्धानकर्ताहरूले सक्रिय सहभागिता जनाउँदै समसामयिक बौद्धिक विमर्शलाई समसामयिक र सान्दर्भिक बनाएका थिए ।

कार्यक्रममा नेपालका विविध सांस्कृतिक परम्परालाई प्रतिनिधित्व गर्ने सांस्कृतिक प्रस्तुतिहरू पनि आकर्षणका केन्द्र बने । पारम्परिक नृत्य, सांस्कृतिक प्रस्तुति तथा औपचारिक जन्मोत्सव समारोहले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो ।

औपचारिक समारोहअन्तर्गत प्रमुख अतिथि प्रा.डा. बीना पौड्यालले दीप प्रज्वलन गरी कार्यक्रमको शुभारम्भ गरेकी थिइन् । त्यसपछि आनन्दप्रसाद घिमिरे तथा उनको समूहले वैदिक स्वस्तिवाचन प्रस्तुत गरेका थिए । बुद्ध वचन अनुवाद समितिकी अध्यक्ष तथा बौद्ध दर्शनकी अध्येता टीका शेर्पाले बुद्ध मंगल बचन वाचन गरेका थिए भने किरात थुलुङ्ग राई साया स्योम्दी मदन राईले गरेका थिए ।

कार्यक्रममा त्रिचन्द्र क्याम्पस नेपाली विभाग प्रमुख उषा अधिकारीको कविताकृतिको भिडियो सार्वजनिक गरिएको थियो । त्यस्तै विश्व संस्कृत दिवस समितिका संयोजक माधवप्रसाद पाण्डेयद्वारा बाघचाल बोर्डगेम सार्वजनिक गरिएको थियो । दीपा बस्नेतद्वारा लिखित वृत्तचित्रसमेत कार्यक्रममा प्रस्तुत गरिएको थियो, जसलाई प्रमुख अतिथि बीना पौड्यालले औपचारिक सार्वजनिक गरेकी थिइन् ।

समारोहको दोस्रो दिन आयोजित विशेष सत्रमा प्रमुख अतिथि प्रा.डा. बीना पौड्यालले प्रा. डा. अधिकारीलाई शुभकामना व्यक्त गर्दै उनको जीवनलाई समर्पण, विनम्रता र शैक्षिक उत्कृष्टताको उदाहरणका रूपमा चित्रित गरिन् ।

उनले भनिन्, “प्राध्यापक अधिकारीको जीवनले समर्पण, सरलता र बौद्धिक उत्कृष्टताको प्रेरणादायी उदाहरण प्रस्तुत गरेको छ । एक शिक्षक, अनुसन्धानकर्ता र मार्गदर्शकका रूपमा उहाँले असंख्य विद्यार्थी र विद्वानहरूको जीवनमा सकारात्मक प्रभाव पार्नुभएको छ ।”

कार्यक्रममा वक्ताका रूपमा सहभागी बुद्ध छिरिङ लामाले नेपालको समकालीन सामाजिक, राजनीतिक तथा भूराजनीतिक परिवेशमा प्रा. डा. अधिकारीका सिद्धान्त र दार्शनिक अवधारणाहरूको सान्दर्भिकतामाथि विशेष जोड दिए ।

उनले भने, “प्राध्यापक निर्मलमणि अधिकारीद्वारा प्रतिपादित वैचारिक रूपरेखाहरूले नेपालको राजनीतिक विमर्श र नीतिगत दिशाका लागि महत्वपूर्ण दृष्टिकोण प्रदान गर्छन् । नेपालको संवेदनशील भूराजनीतिक अवस्थिति र परिवर्तनशील विश्व व्यवस्थाका सन्दर्भमा राष्ट्रिय एकता, सांस्कृतिक कूटनीति तथा रणनीतिक सन्तुलन प्रवर्द्धन गर्ने मौलिक दर्शन र सञ्चार प्रतिमानहरूसँग राजनीतिक नेतृत्व तथा शैक्षिक संस्थाहरूले गम्भीर रूपमा संवाद र बहस गर्नु आवश्यक छ ।”

कार्यक्रमका सभापति अरुण पौड्यालले समारोहलाई सफल बनाउन सहयोग पुर्‍याउने सम्पूर्ण वक्ता, सहभागी, आयोजक तथा शुभेच्छुकहरूप्रति आभार व्यक्त गरे ।

उनले भने, “यो समारोह केवल प्राध्यापक अधिकारीको उपलब्धिको सम्मान मात्र होइन, उहाँले शैक्षिक जगत् र समाजमा पुर्‍याउनुभएको दीर्घकालीन योगदानप्रतिको सामूहिक सम्मान पनि हो ।”

दुईदिने समारोह प्रा. डा. निर्मलमणि अधिकारीको निरन्तर स्वास्थ्य, सुख, दीर्घायु तथा आगामी बौद्धिक यात्राका लागि शुभकामना व्यक्त गर्दै सम्पन्न भएको थियो । सहभागीहरूले सञ्चार अध्ययन, मौलिक ज्ञान प्रणाली तथा समाज रूपान्तरणका क्षेत्रमा उनले पुर्‍याएको योगदानलाई दीर्घकालसम्म स्मरणीय रहने बताएका थिए ।

सञ्चार सिद्धान्तकार तथा चिन्तक प्रा. डा. निर्मलमणि अधिकारीले सञ्चारशास्त्र, सभ्यतागत चिन्तन र मौलिक ज्ञान प्रणालीका क्षेत्रमा पुर्‍याएको योगदानका कारण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बौद्धिक वृत्तमा विशिष्ट पहिचान निर्माण गरेका छन् । उनीद्वारा प्रतिपादित ‘साधारणीकरण मोडल अफ कम्युनिकेसन’, ‘सहृदयताको अवधारणा, ‘स्थित–गत्यात्मक प्रगतिवाद’ तथा ‘राज्य–राष्ट्र सिद्धान्त’ जस्ता वैचारिक प्रतिमानहरू नेपाली मौलिक चिन्तनका महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएका छन् ।

सञ्चार अध्ययनलाई पूर्वीय दर्शन, संस्कृति र स्वदेशी ज्ञान प्रणालीसँग जोड्ने उनको प्रयासलाई अन्तर्राष्ट्रिय शैक्षिक समुदायले समेत अर्थपूर्ण बौद्धिक हस्तक्षेपका रूपमा लिएको छ । उनका अनुसन्धान, पुस्तक तथा वैचारिक कृतिहरू सञ्चार, संस्कृति, दर्शन, समाज र सभ्यतासम्बन्धी विमर्शमा महत्वपूर्ण सन्दर्भ सामग्रीका रूपमा स्थापित हुँदै गएका छन् । उनका ६० भन्दा बढी पुस्तक र १०० भन्दा बढी अनुसन्धान लेखहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नलहरूमा प्रकाशित छन् । उनी नेपालमा पत्रकारिता तथा आमसञ्चार विषयमा विद्यावारिधि  र विद्यावारिधीउत्तर (पोष्ट डक्टरल) गर्ने पहिलो नेपाली प्राध्यापक हुन् ।  

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा