किशोर नातिलाई मिर्गौला दिने ७३ वर्षीय हजुरबुबा : यसरी बुनियो प्रेमको अनुपम कथा

कहिलेकाहीँ प्रेम शब्दमा व्यक्त हुँदैन, निर्णयमा व्यक्त हुन्छ। कहिलेकाहीँ सम्बन्ध रगतले मात्र होइन, त्यागले प्रमाणित हुन्छ। धनकुमार राईले आफ्नो नातिका लागि गरेको निर्णय त्यस्तै प्रेमको एउटा असाधारण अभिव्यक्ति हो।

 

 

काठमाडौँ: अस्पतालको निलो बेडमा पल्टिएका दुई पुस्ताका अनुहारमा एकैपटक मुस्कान फुलेको छ मानै सगरमाथाको शिरमा सेतो हिउँ। एउटै अस्पताल, उस्तै सेतो सिरक र उस्तै अस्पतालको परिवेश। तर ती दुई अनुहारबीचको सम्बन्ध केवल रगतको नातामा सीमित छैन। एउटा अनुहारमा जीवन दिन पाएको हर्ष अर्कोमा जिवन पाएको उल्लास। 

तस्बिरमा देखिएको र बोध गरीए झैँ १७ वर्षीय नितेश राई हाँसोमा जीवनको अर्थ उजागर हुन्छ। उनको छेवैमा रहेका ७३ वर्षीय हजुरबुबा धनकुमार राईमा विश्व विजेता हुँदा जस्तो खुसीका छालहरू पोखिएको नदेखिने कुरै भएन। केही समयअघिसम्म अस्पतालका बेड, डायलासिस मेसिन, औषधि र उपचारको अनिश्चितताबीच जीवनका लागि लुकामारी गरिरहेका यी दुई पुस्ता अहिले एउटै सफलताको उत्सवमा मस्त छन्। नितेशको शरीरमा अब हजुरबुबाको एउटा मिर्गौला आनन्दले रमाइरहेको छ।

न यो केवल एउटा सफल मिर्गौला प्रत्यारोपणको कथा हो यो एक हजुरबुबाले आफ्नो नातिलाई दिएको जीवनको अमुल्य उपहार हो। यो दुई वर्षभन्दा लामो समयसम्म नटुटेको आमाबुबाको आशाको अनन्त दियो हो। यो आर्थिक अभावबीच पनि मानवीय सम्बन्ध र सामूहिकताले बुनेको सुन्दर जीवन कला हो। 

१७ वर्षीय नितेश राईको मिर्गौला प्रत्यारोपण सफल भएपछि उनका ७३ वर्षीय हजुरबुबा धनकुमार राईको फोटो। 

 

एसईईको नतिजासँगै जीवनमा बज्रिएको बज्रपात

माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भएसँगै किशोर नितेश राईको जीवनमा एउटा अप्रत्याशित संकट आइपर्‍यो। भविष्यका सपना बुन्दै किशोरावस्थाको नयाँ यात्रामा प्रवेश गर्नुपर्ने उमेरमा उनलाई दुवै मिर्गौलाले काम गर्न छाडेको खबर सुनाइयो।

विराट टिचिङ अस्पतालमा परीक्षण तथा उपचारका क्रममा मिर्गौला फेल भएको जानकारी पाएपछि उनलाई थप उपचारका लागि काठमाडौँस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ अस्पताल) रिफर गरियो। त्यसपछि विभिन्न परिस्थितिका कारण उनलाई शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र पुर्‍याइयो।

तर त्यहाँ तत्काल मिर्गौला प्रत्यारोपण सम्भव भएन। त्यसपछि डायलासिस र अन्य उपचारका लागि परिवार राजधानीका विभिन्न अस्पताल धाउन बाध्य भयो।

उमेरले १७ वर्ष पुगेका नितेशका लागि यो समय केवल रोगसँगको संघर्ष थिएन। किशोरावस्थाका रहर, पढाइ, साथीभाइ र भविष्यका सपनाहरू अस्पतालका बेड र डायलासिस मेसिनसँग गाँसिन पुगे। सामान्य जीवन बाँच्नुपर्ने उमेरमा उनको दैनिकी उपचार, परीक्षण र अस्पतालको चक्करमा सीमित हुन थाल्यो।

पछिल्लो एक वर्ष त परिवार भक्तपुरमा भाडाको कोठा लिएर बस्यो। गाउँको घर, आफ्नो परिवेश र नियमित जीवन छाडेर राजधानीमा डायलासिस गराउनु उनीहरूको बाध्यता बन्यो। एउटा उपचारका लागि अर्को उपचार, एउटा अस्पतालबाट अर्को अस्पताल र एउटा आशाबाट अर्को सम्भावनासम्मको यात्रा निरन्तर चलिरह्यो।

यसबीच नितेशको शरीरले मात्र होइन, परिवारको धैर्यले पनि लामो परीक्षा भोग्यो।

दुवै मिर्गौलाले काम गर्न छाडेपछि नितेश राईको अवस्था। 

 

सरकारी विद्यालयका शिक्षक बाबु र गृहिणी आमाको असह्य विवशता

नितेश, शिक्षक रामकुमार राई र गृहिणी गोमा कुमारी राईका एक्ला छोरा हुन्। सोलुखुम्बुको विकट गाउँमा स्थानीय सरकारी विद्यालयमा अध्यापन गर्ने बाबु र घरव्यवहार सम्हाल्ने आमाका लागि छोराको जीवन बचाउनु सबैभन्दा ठूलो जिम्मेवारी बन्यो।

सुरुमा आमाबुबाले नै उपचार खर्च जुटाउने र मिर्गौला प्रत्यारोपण गराउने आँट गरे। तर मिर्गौला प्रत्यारोपणको प्रक्रिया, त्यसका लागि आवश्यक स्वास्थ्य परीक्षण, अस्पतालको खर्च, औषधोपचार र सम्भावित रूपमा भारतसम्म जानुपर्ने आर्थिक भार उनीहरूको पारिवारिक क्षमताभन्दा धेरै ठूलो बन्यो।

एकातिर छोराको जीवन बचाउनुपर्ने जिम्मेवारी, अर्कोतिर सीमित आम्दानी र बढ्दो उपचार खर्च। बाबुका लागि यो आर्थिक संकट मात्र थिएन, आफ्नो सन्तानलाई बचाउन चाहेर पनि स्रोतसाधनको अभावमा असहाय बन्नुपर्ने पीडा थियो।

आमाको पीडा झन् शब्दमा व्यक्त गर्न कठिन थियो। एक दिन वा दुई दिन होइन, झन्डै २६ महिनासम्म बिरामी छोराको उपचार, डायलासिस र भविष्यको अनिश्चितताबीच उनले आफूलाई सम्हाल्नुपर्‍यो। आफ्नो सन्तानलाई पीडामा देख्नुपर्ने र उसको जीवनको सुनिश्चितता गर्न नसक्ने अवस्थाले आमाको मन कति पटक भत्कियो होला, त्यसको अनुमान गर्न पनि सकिन्न।

सन्तानको पीडा आमाका लागि आफ्नै पीडाभन्दा ठूलो हुन्छ। नितेशको उपचार यात्रामा गोमा कुमारीले भोगेको संघर्ष यही मातृत्वको एउटा मौन र कठोर अभिव्यक्ति मान्दा अन्यथा नहोला।

 

नितेश राई बचाऔं अभियान : एउटा किशोरको जीवनका लागि समाजको एकता 

उपचारको खर्च निरन्तर बढ्दै जाँदा परिवारले एक्लै यो भार थेग्न नसक्ने अवस्था आयो। त्यसपछि नितेशको जीवन रक्षाका लागि सामाजिक स्तरमा सहयोग जुटाउने पहल भयो। यही क्रममा ‘नितेश राई बचाऔँ अभियान’ गठन गरियो।

सन्तोष राईको संयोजकत्वमा गठित अभियानमा छिरिङ दोर्जे राई (शिशिर) कोषाध्यक्ष तथा गोवर्धन राई, नरबहादुर राई र थर्कबहादुर राई सदस्य रहे।

अभियानले देशविदेशमा रहेका आफन्त, शुभेच्छुक, सामाजिक अभियन्ता र सहयोगी मनहरूसमक्ष नितेशको उपचारका लागि आर्थिक सहयोगको अपिल गर्‍यो। परिणामस्वरूप करिब ३५ लाख रुपैयाँ सहयोग संकलन भयो।

यो रकम केवल आर्थिक सहयोग थिएन। नितेशको जीवनप्रति समाजले देखाएको चासो, एउटा परिवारको पीडामा अर्को परिवारले महसुस गरेको अपनत्व र अपरिचित मानिसले समेत अर्को मानिसको जीवन बचाउन गरेको मानवीय योगदानको प्रतीक थियो।

कसैले आफ्नो क्षमताअनुसार रकम दिए, कसैले सहयोग जुटाउन पहल गरे, कसैले अभियानलाई फैलाए। सबैको साझा उद्देश्य एउटै थियो, नितेशले फेरि सामान्य जीवन बाँच्न पाऊन्।

तर आर्थिक सहयोग जुट्दैमा मिर्गौला प्रत्यारोपणको सबैभन्दा कठिन समस्या समाधान भएको थिएन। अब परिवारका सामु अर्को चुनौती थियो, नितेशसँग मिर्गौला मिल्ने दाता खोज्नु।

 

मिर्गौला खोज्नु देवता खोज्नुभन्दा कठिन

मिर्गौला प्रत्यारोपणका लागि परिवारले सम्भव भएसम्म सबै विकल्प खोज्यो। सुरुमा बाबुआमा दुवैले मिर्गौला दान गर्न सकिन्छ कि भनेर परीक्षण गराए। तर दुवैको मिर्गौला नितेशसँग म्याच भएन।

आफ्नै सन्तानलाई जीवन दिन चाहने आमाबुबाको मिर्गौला नमिल्नु परिवारका लागि अर्को ठूलो निराशा थियो।

त्यसपछि आफन्त तथा सम्भावित दाताको खोजी सुरु भयो। नातागोता र चिनजानका व्यक्तिहरूमाझ पनि परीक्षण तथा म्याचिङको प्रयास गरियो। कतिपय सम्भावित व्यक्तिबाट सकारात्मक संकेत मिलेजस्तो हुन्थ्यो, तर कहिले हुन्छ भन्ने र कहिले हुँदैन भन्ने अनिश्चित जवाफले परिवारलाई थप निराश बनाउँथ्यो।

नितेशका बाबुका लागि मिर्गौला प्रत्यारोपणको आर्थिक भारभन्दा कम पीडादायी थिएन, उपयुक्त दाता खोज्ने अनन्त प्रयास।

कतिपय अवस्थामा मिर्गौला मिल्ने सम्भावित व्यक्ति भेटिए पनि नेपालको प्रचलित कानुनी व्यवस्थाअनुसार प्रत्यारोपणका लागि आवश्यक सम्बन्ध र प्रक्रिया पूरा नहुने अवस्था थियो। परिवारले चाहेर पनि कानुनी सीमाभन्दा बाहिर गएर विकल्प रोज्न सक्ने अवस्था थिएन।

आमाबुबाको मिर्गौला नमिल्नु, आफन्तबाट निश्चित जवाफ नआउनु, कानुनी प्रक्रिया र आर्थिक सीमितताले परिवारलाई निरन्तर दबाबमा राखे।

अन्ततः भारतसम्म लगेर प्रत्यारोपण गराउने विकल्पबारे समेत सोचियो। तर त्यसका लागि आवश्यक ठूलो रकम, भरपर्दो अस्पताल तथा उपचार प्रक्रियाको विश्वसनीयता र कानुनी जटिलताले त्यो निर्णय पनि सहज थिएन।

परिवारका लागि हरेक दिन एउटा नयाँ प्रश्न बोकेर आउँथ्यो, नितेशलाई मिर्गौला कसले दिने?

 

७३ वर्षीय हजुरबुबाको एउटा निर्णय : ‘म नातिलाई जीवनदान दिन आएको हुँ’

परिवारका लागि आशा क्षीण हुँदै गएको समयमा एउटा अप्रत्याशित खुसीको खबर आयो। नितेशका ७३ वर्षीय हजुरबुबा धनकुमार राईको मिर्गौला परीक्षण गर्दा नातिसँग म्याच भएको मेडिकल रिपोर्ट प्राप्त भयो।

झन्डै दुई वर्षदेखि दाताको खोजीमा भौँतारिरहेको परिवारका लागि यो समाचार कुनै चमत्कारभन्दा कम थिएन।

तर मिर्गौला मिलेको खबरसँगै अर्को भावनात्मक प्रश्न पनि परिवारका सामु उभियो। ७३ वर्ष पुगिसकेका वृद्ध हजुरबुबाले आफ्नो मिर्गौला नातिलाई दिने निर्णय गर्नु सामान्य कुरा थिएन। उमेर र स्वास्थ्यको संवेदनशीलतालाई ध्यानमा राख्दा नातिको जीवन बचाउन हजुरबुबाले जोखिम लिनुपर्ने अवस्था थियो।

नितेशका बाबुआमालाई भने हजुरबुबाको उमेरका कारण केही संकोच र अप्ठ्यारो लागेको थियो। आफ्नै बाबुलाई यस्तो ठूलो निर्णयमा अघि सार्नु उनीहरूका लागि सहज थिएन।

तर हजुरबुबा धनकुमारको उत्साह र आत्मविश्वास भने सुरुदेखि नै उल्लेखनीय रह्यो। मिर्गौला म्याच भएको खबर पाएपछि उनी निकै खुसी भए। प्रत्यारोपणको पूर्वतयारीदेखि शल्यक्रियापछिसम्म पनि उनले आफ्नो निर्णयप्रति कुनै डर वा ग्लानि व्यक्त नगरेको अभियानका संयोजक सन्तोष राई बताउँछन्।

काठमाडौँ आएपछि उनले खुसी हुँदै भनेका थिए, “म त मेरो नातिलाई जीवनदान दिन पो आएको, कत्ति हर्ष छ मलाई, थाहा छ!”

मिर्गौला म्याच भएको खबरपछि उनले अर्को अबोध तर प्रेम नामको शक्तिशाली अभिव्यक्ति दिएका थिए, “मेरो नाति मपट्टि गएको रहेछ, त्यसैले खुन (रगत) मसँग मिल्यो।”

उनका यी अभिव्यक्तिमा केवल मिर्गौला दान गर्ने निर्णयको उत्साह थिएन, पुस्तौँदेखि निरन्तर रहेको पारिवारिक आत्मीयता र नातिप्रतिको अगाध स्नेह पनि अभिव्यक्त भएको थियो।

सन्तोष राईका अनुसार, धनकुमारको उत्साह प्रि-मेडिकल परीक्षणदेखि पोस्ट-ट्रान्सप्लान्ट अवस्थासम्म पनि उस्तै रह्यो। नातिलाई जीवन दिन पाउने अवसरलाई उनले खुसी र गर्वका रूपमा लिएका थिए।

रगतको सम्बन्धले दुई पुस्तालाई जोडेको थियो। तर त्यो दिन हजुरबुबाले आफ्नो शरीरको एउटा महत्त्वपूर्ण अंग दिएर त्यो सम्बन्धलाई जीवनकै सबैभन्दा गहिरो अर्थ प्रदान गरे।

मिर्गौला प्रत्यारोपण सफल भएपछि डिस्चार्ज भएका नितेशका ७३ वर्षीय हजुरबुबा धनकुमार राईसँग नितेश राई बचाऔं अभियानका संयोजक सन्तोष राई। 

 

अस्पतालमा पालो कुर्दाभन्दा जीवनको आकुलता ठूलो भएपछि

मिर्गौला दाता भेटिए पनि प्रत्यारोपणका लागि अर्को चुनौती बाँकी थियो, समयमै उपचार उपलब्ध हुनु।

अभियानका संयोजक सन्तोष राईका अनुसार, सरकारी अस्पतालमा प्रत्यारोपणको पालो कुर्दा अझै करिब एक वर्षसम्म प्रतीक्षा गर्नुपर्ने अवस्था देखिएको थियो। तर लामो समयदेखि डायलासिस गराइरहेका किशोर नितेश र उनको परिवारका लागि थप एक वर्ष कुर्नु सहज थिएन।

त्यही क्रममा नितेशको आग्रह र आमाको पीडालाई नजिकबाट महसुस गरेका एक चिकित्सकले मानवीय संवेदनाका आधारमा निजी अस्पतालमा उपचार गराउने विकल्पबारे सल्लाह दिए।

अन्ततः गत साता काठमाडौँस्थित नर्भिक इन्टरनेसनल अस्पतालमा नितेशको मिर्गौला प्रत्यारोपण गरियो। ७३ वर्षीय हजुरबुबा धनकुमार राईले आफ्नो एउटा मिर्गौला नातिलाई दान गरे।

झन्डै २६ महिनाको प्रतीक्षा, उपचारका अनेकौँ चरण, आर्थिक अभाव, दाताको खोजी र मानसिक तनावपछि प्रत्यारोपण सफल भयो।

यस सफलताले परिवारमा नयाँ खुसी ल्याएको छ। अस्पतालको पछिल्लो अवस्थाबारे अभियानका संयोजक सन्तोष राईका अनुसार, प्रत्यारोपणपछि हजुरबुबा र नाति दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको छ। हजुरबुबा अस्पतालबाट डिस्चार्ज भइसकेका छन् भने नितेश पनि दुई-तीन दिनभित्र डिस्चार्ज हुने अपेक्षा गरिएको छ।

 

एउटा तस्बिरमा दुई पुस्ताको प्रेम

नितेश र धनकुमारका अस्पतालका तस्बिरहरू हेर्दा एउटा विशेष दृश्य देखिन्छ, दुवैको अनुहारमा मुस्कान छ।

एउटा तस्बिरमा १७ वर्षीय नितेश अस्पतालको बेडमा ढल्किएर हाँसिरहेका छन्। उनको शरीरमा उपचारका उपकरण जोडिएका छन्। तर उनको अनुहारमा लामो समयदेखि हराएको उत्साह फर्किएको देखिन्छ।

अर्को तस्बिरमा ७३ वर्षीय धनकुमार पनि अस्पतालको बेडमा मुस्कुराइरहेका छन्। उमेरले वृद्ध शरीर उपचारपछिको विश्राममा छ, तर अनुहारमा आफ्नो नातिका लागि केही गर्न सकेको सन्तुष्टि झल्किन्छ।

यी तस्बिरमा अस्पतालको शय्या छ, चिकित्सकीय उपकरण छन्, उपचारका चिन्ह छन्। तर ती सबैभन्दा माथि देखिन्छ, एउटा पुस्ताले अर्को पुस्तालाई दिएको जीवनको उपहार।

सामान्यतया हजुरबुबाले नातिलाई हात समाएर हिँड्न सिकाउँछन्, जीवनका अनुभव सुनाउँछन्, संस्कार र संस्कृति हस्तान्तरण गर्छन्। तर धनकुमारले नातिलाई जीवनको अर्को अवसर नै दिए। उनले आफ्नो शरीरको एउटा अंग दिएर नातिको भविष्यसँग आफ्नो जीवनको अंश जोडिदिए।

यो त्यागलाई केवल मिर्गौला दानका रूपमा मात्र बुझ्न सकिँदैन। यो परिवारभित्र पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको माया, जिम्मेवारी, अपनत्व र जीवनप्रतिको विश्वासको जीवन्त उदाहरण हो।

 

जीवनको उपहार, प्रेमको विरासत

नितेशको जीवनमा अब नयाँ अध्याय सुरु भएको छ। लामो समयसम्म डायलासिस मेसिनसँग जोडिएको उनको दैनिकी अब क्रमशः सामान्य जीवनतर्फ फर्कने आशामा छ। पढाइ, साथीभाइ, परिवार र भविष्यका सपनाहरूले फेरि उनको जीवनमा ठाउँ पाउनेछन्।

तर यो नयाँ जीवनसँगै उनले सधैँ सम्झिरहने एउटा नाम हुनेछ, हजुरबुबा धनकुमार राई।

कुनै दिन नितेशले आफ्नो जीवनको कठिन समय सम्झिँदा अस्पतालका बेड, डायलासिस मेसिन, आमाको आँसु, बाबुको संघर्ष र सहयोग गर्ने सयौँ मनहरू सम्झिनेछन्। अनि सायद सबैभन्दा बढी सम्झिनेछन्, आफ्नो जीवन बचाउन खुसीसाथ मिर्गौला दिएका ७३ वर्षीय हजुरबुबालाई।

हजुरबुबाले नातिलाई दिएको मिर्गौला एउटा अंग मात्र होइन, एउटा पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण भएको जीवनको भरोसा हो।

नितेशका लागि हजुरबुबाले दिएको यो उपहारको मूल्य कुनै रकममा मापन हुन सक्दैन। न त यसको महत्त्व कुनै औपचारिक सम्मान वा प्रशंसापत्रले मात्र व्यक्त गर्न सक्छ।

कहिलेकाहीँ प्रेम शब्दमा व्यक्त हुँदैन, निर्णयमा व्यक्त हुन्छ। कहिलेकाहीँ सम्बन्ध रगतले मात्र होइन, त्यागले प्रमाणित हुन्छ। धनकुमार राईले आफ्नो नातिका लागि गरेको निर्णय त्यस्तै प्रेमको एउटा असाधारण अभिव्यक्ति हो।

एउटा हजुरबुबाले नातिलाई आफ्नो मिर्गौला दिए। तर त्यससँगै उनले नातिलाई फेरि सपना देख्ने उमेर, भविष्य बनाउने अवसर र जीवनलाई नयाँ ढङ्गले बाँच्ने बेजोड आशासमेत दिए।

अस्पतालको त्यो तस्बिरमा देखिएका दुई मुस्कानले सायद यही भनिरहेका छन्, जीवन कहिलेकाहीँ विज्ञानको सीपले बचाउँछ, समाजको सहयोगले सम्भव बनाउँछ, तर त्यसलाई सुन्दर बनाउने शक्ति निस्वार्थ प्रेममा हुन्छ।

 

उपचारको सफलतासँगै उठेको स्वास्थ्य प्रणालीको प्रश्न

नितेशको सफल प्रत्यारोपणले एउटा परिवारमा खुसी फर्काएको छ। तर यस घटनाले नेपालको स्वास्थ्य सेवा प्रणालीबारे केही गम्भीर प्रश्नसमेत उठाएको छ।

मिर्गौला प्रत्यारोपण गर्नुपर्ने किशोरले उपयुक्त दाता खोज्न झन्डै २६ महिना संघर्ष गर्नुपर्ने, परिवारले आर्थिक स्रोत जुटाउन अभियान सञ्चालन गर्नुपर्ने र सरकारी अस्पतालमा लामो प्रतीक्षा गर्नुपर्ने अवस्थाले गम्भीर रोगको उपचारमा पहुँच, समय र आर्थिक सुरक्षाको महत्त्वलाई उजागर गर्छ।

सरकारी स्वास्थ्य संस्थामा उपचारको अवसर भए पनि आवश्यक सेवा समयमै उपलब्ध नहुँदा बिरामी र परिवारले निजी अस्पतालको महँगो उपचार रोज्नुपर्ने अवस्था आउनु स्वास्थ्य प्रणालीका लागि चुनौती हो। विशेषगरी विकट गाउँका सीमित आम्दानी भएका परिवारका लागि यस्तो उपचारको खर्च केवल आर्थिक समस्या होइन, जीवन र मृत्युबीचको कठिन निर्णयसमेत बन्न सक्छ।

नितेशको उपचारमा करिब ३५ लाख रुपैयाँ सामाजिक सहयोग जुट्नु सकारात्मक मानवीय उदाहरण हो। तर प्रत्येक मिर्गौला रोगीले आफ्नो जीवन बचाउन अभियान गठन गर्नुपर्ने, सामाजिक सञ्जालमा सहयोगको अपिल गर्नुपर्ने र आफन्त तथा शुभेच्छुकको भर पर्नुपर्ने अवस्था दीर्घकालीन समाधान हुन सक्दैन।

मिर्गौला प्रत्यारोपणका लागि आवश्यक परीक्षण, कानुनी प्रक्रिया, दाता पहिचान, प्रतीक्षा व्यवस्थापन, आर्थिक सहायता र प्रत्यारोपणपछिको नियमित उपचारलाई थप सहज, पारदर्शी र पहुँचयोग्य बनाउनुपर्ने आवश्यकता यस घटनाले स्मरण गराउँछ।

नितेशको कथा सफलताको कथा हो, तर यस्ता सफलता हरेक परिवारले सामाजिक सहयोग जुटाएर मात्र हासिल गर्नुपर्ने परिस्थिति नबनोस् भन्ने अपेक्षा पनि यसले जन्माएको छ।

 

सम्बन्धित समाचार