किरात राई कर्मचारी मञ्चद्वारा ‘हरिलाल राई स्मृति सम्मान–२०८२’ घोषणा
उच्च अदालत विराटनगर, इलाम इजलासमा न्याय सेवातर्फ नायब सुब्बा पदमा कार्यरत रेणुका राई तथा भोजपुर नगरपालिका- १ स्थायी ठेगाना भई हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालमा लेखा अधिकृतका रूपमा कार्यरत रविन कुमार राई
काठमाडौँ : किरात राई कर्मचारी मञ्चले सार्वजनिक सेवामा उल्लेखनीय योगदान पुर्याएका दुई जना राष्ट्रसेवक कर्मचारीलाई ‘हरिलाल राई स्मृति सम्मान–२०८२’ प्रदान गर्ने घोषणा गरेको छ।
सम्मान प्राप्त गर्नेमा इलाम नगरपालिका–७ स्थायी ठेगाना भई हाल उच्च अदालत विराटनगर, इलाम इजलासमा न्याय सेवातर्फ नायब सुब्बा पदमा कार्यरत रेणुका राई तथा भोजपुर नगरपालिका- १ स्थायी ठेगाना भई हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालमा लेखा अधिकृतका रूपमा कार्यरत रविन कुमार राई रहेका छन्।
किरात राई कर्मचारी मञ्चका अनुसार लामो समयदेखि सार्वजनिक सेवामा सक्रिय रहँदै राष्ट्रसेवा तथा किरात राई समुदायको उत्थानमा पुर्याएको योगदानका आधारमा उनीहरूलाई सम्मानका लागि छनोट गरिएको हो। मञ्चले सार्वजनिक सेवामा समर्पित कर्मचारीहरूको योगदानलाई संस्थागत रूपमा कदर गर्ने उद्देश्यले वार्षिक रूपमा यो सम्मान प्रदान गर्दै आएको छ।
सम्मान आगामी २०८२ चैत महिनाको अन्तिम शनिबार, मञ्चको १६औँ स्थापना दिवसको अवसरमा विशेष कार्यक्रमका बीच प्रदान गरिनेछ। सम्मान स्वरूप प्रत्येक सम्मानितलाई सम्मान पत्रसहित जनही नगद पचास हजार दुई सय पचास रुपैयाँ प्रदान गरिने मञ्चले जनाएको छ।
स्व. हरिलाल राईको स्मृतिमा स्थापना
यो सम्मान नेपाल सरकारका नायब सुब्बा स्व. हरिलाल राईको स्मृतिमा स्थापना गरिएको हो। स्व. राई खोटाङ जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ का स्थायी बासिन्दा थिए। उनका छोरा उदय बहादुर राई तथा आमा चुनामाया राईसहित परिवारले किरात राई कर्मचारी मञ्चको मातहतमा सम्मान कोष स्थापना गरेका हुन्।
विज्ञप्तिअनुसार सम्मान कोष २०७६ वैशाख ३ गते प्रारम्भमा तीन लाख रुपैयाँबाट स्थापना गरिएको थियो। पछि २०८० चैत २४ गते थप एक लाख रुपैयाँ थप गरी हाल कुल चार लाख रुपैयाँको अक्षय कोष सञ्चालनमा रहेको छ।
सम्मानका लागि मञ्चको जिल्लास्तरीय कार्यसमितिहरूबाट सिफारिस प्राप्त भएपछि हरिलाल राई स्मृति सम्मान कोषको नियमावली, २०७७ अनुसार गठित व्यवस्थापन समितिले निश्चित मापदण्डका आधारमा छनोट गरिएको जनाईएको छ।
किरात राई कर्मचारी मञ्चका महासचिव अविलाल राईद्वारा जारी विज्ञप्तिमा सार्वजनिक सेवा, नैतिकता र समुदाय हितमा कार्यरत कर्मचारीहरूलाई यस सम्मानले थप प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरिएको छ।
-
0%
लाइक
-
0%
मनपर्यो
-
0%
अचम्मित
-
0%
दुःखी
-
0%
आक्रोशित


.jpeg)



