यूएईलाई हराउँदै नेपाल यु-१९ महिला विश्‍वकपमा छनोट

यूएईले दिएको ८४ रनको लक्ष्य नेपालले १४.४ ओभरमा २ विकेट गुमाएर पूरा गर्दै पहिलो पटक विश्व कपमा स्थान बनाएको हो । सन् २०२३ मा भएको विश्वकपमा नेपालले छनोट चरण पार गर्न सकेको थिएन ।
बुधबार भएको निर्णायक खेलमा यूएईलाई ८ विकेटले हराउँदै नेपाल पहिलोपटक यु-१९ महिला विश्वकपमा छनोट भएको हो । फोटो : क्यान

 

 

काठमाडौँ : नेपाल आगामी वर्ष हुने आईसीसी यु-१९ टी-२० क्रिकेट विश्वकपमा छनोट भएको छ । बुधबार भएको निर्णायक खेलमा यूएईलाई ८ विकेटले हराउँदै नेपाल पहिलोपटक यु-१९ महिला विश्वकपमा छनोट भएको हो ।

यूएईले दिएको ८४ रनको लक्ष्य नेपालले १४.४ ओभरमा २ विकेट गुमाएर पूरा गर्दै पहिलो पटक विश्व कपमा स्थान बनाएको हो । सन् २०२३ मा भएको विश्वकपमा नेपालले छनोट चरण पार गर्न सकेको थिएन ।

नेपालको जितमा ओपनर साना प्रविनले ४२ बलमा सर्वाधिक नट आउट ३५ तथा कप्तान पुजा महतोले १८ बलमा ४ चौकाको सहयोगमा १८ रन जोडिन् । ओपनर साबित्री धामीले ९ बलमा १२ तथा सोनी पाख्रीनले १९ बलमा नट आउट १३ रन जोडिन् ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ८३ रनको योगफल तयार गरेको थियो । नेपालले विश्वकपमा छनोट हुन यो लक्ष्य १६.२ ओभरमा पूरा गरे पुग्ने समिकरण रहेको थियो ।

यूएईका लागि कप्तान समाइरा धारनीधार्काले ४८ बलमा सर्वाधिक ३१ , रिनिथा रञ्जिथाले १८ बलमा २० तथा इन्दुजा नन्दकुमारी र लाभन्या केन्याले समान १० रन जोडिन् । एक समय ५९ रनमा २ विकेट गुमाएर बलियो स्थितीमा रहेको युएईले २४ रन जोड्दा ७ विकेट गुमायो ।

नेपालका लागि कृष्मा गुरुङले ४, रिया शर्मा र सिमाना केसीले समान २ तथा रचना चौधरीले १ विकेट लिए । कप्तान पुजा महतोले ४ ओभरमा मात्र ११ रन खर्चेर उत्कृष्ट बलिङ गरिन् ।

नेपालले ६ खेलबाट १० अंक जोड्यो। युएईले पनि समान खेलबाट समान अंक जोडे पनि नेपाल नेट रनरेटमा अगाडि रहँदै विश्वकपमा स्थान बनाउन सफल भएको हो।

यु-१९ टि-२० विश्वकप आगामी वर्षको १८ जनवरी देखि २ फेब्रुवरी सम्म मलेसियामा आयोजना हुँदैछ । नेपाल विश्वकपमा समूह 'डी' मा अस्ट्रेलिया, बंगलादेश र स्कटल्याण्डसँगै रहेको छ । विश्वकपमा नेपालको पहिलो खेल १८ जनवरीमा बंगलादेशविरुद्ध रहेको छ ।

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा