स्थानीय भाषा-संस्कृति प्रवर्द्धन गर्न प्रज्ञा प्रतिष्ठान र थुलुङ दुधकोशी गाउँपालिकाबीच समझदारी

स्थानीय भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन उद्देश्य लिएर नेपाल प्रज्ञा प्रतिष्ठान र थुलुङ दुधकोशी गाउँपालिकाबीच औपचारिक समझदारी
स्थानीय तह र प्रज्ञा प्रतिष्ठानबीच आयोजित विमर्शबाट भाषा र कलाको जगेर्नाका लागि संयुक्त रूपमा ठोस कार्यक्रम सञ्चालन गर्ने सहमति भएको हो।

 

 

सोलुखुम्बु: स्थानीय भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन उद्देश्य लिएर नेपाल प्रज्ञा प्रतिष्ठान र थुलुङ दुधकोशी गाउँपालिकाबीच औपचारिक समझदारी भएको छ। स्थानीय तह र प्रज्ञा प्रतिष्ठानबीच आयोजित विमर्शबाट भाषा र कलाको जगेर्नाका लागि संयुक्त रूपमा ठोस कार्यक्रम सञ्चालन गर्ने सहमति भएको हो।

विमर्शमा प्रतिष्ठानका कुलपति भूपाल राई र पालिका अध्यक्ष असिम राईबीच स्थानीय भाषा, साहित्य र कलाको व्यवस्थित संरक्षण एवं प्रवर्द्धनका लागि योजनाबद्ध पहल अघि बढाउने सहमति कायम गरिएको छ। 

कुलपति राईले देशभर ५२ स्थानीय तहमा मात्र प्रज्ञा प्रतिष्ठानको संरचना स्थापना हुन सकेको उल्लेख गर्दै अन्य तहले भाषा–संस्कृतिलाई प्राथमिकतामा नल्याउनु दुखद भएको बताए।

“हाम्रो लक्ष्य सबै स्थानीय तहमा गतिविधि विस्तार गर्नु हो, तर धेरै तहले भाषा, कला र संस्कृतिमा लगानी गर्न हिचकिचाइरहेका छन्,” उनले भने।

कार्यक्रममा थुलुङ दुधकोशी गाउँपालिकाका अध्यक्ष राईले भौतिक विकाससँगै सामाजिक तथा सांस्कृतिक विकासमा पनि बराबरी ध्यान दिइएको बताए। उनले जिल्लामै पहिलो पटक स्थानीय प्रज्ञा प्रतिष्ठान गठन गरी नियमित साहित्यिक र सांस्कृतिक गतिविधि सञ्चालन भइरहेको जानकारी दिए।

बृहत् ओगानेम क्षेत्र विकास समितिको सहजीकरणमा सम्पन्न कार्यक्रममा भोजपुरको रामप्रसाद राई गाउँपालिकाका अध्यक्ष थामबहादुर राई, उपाध्यक्ष विरेन्द्र राई लगायतका अतिथिहरूले कला–संस्कृतिको उत्थानका लागि स्थानीय तहको सक्रिय भूमिकामा जोड दिए। कार्यक्रमबारे पालिका प्रज्ञा प्रतिष्ठानका संयोजक सुवास संगम राईले जानकारी दिएका हुन्।

विमर्शमा स्थानीय कवि, साहित्यकार, कलाकर्मी र बुद्धिजीवीहरूको  सहभागिता रहेको पालिका प्रवक्ता भोजराज कार्कीले बताए।

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा