कुलुङलाई तीन सत्ताको अनिवार्यता र ज्ञान सत्तामा प्रयास !?
कुनै पनि देशभित्रका जातजाति, भाषभाषी, धार्मिक समूह आदिले पनि आफ्नो देशभित्रका अरु जातजाति, भाषभाषी, धार्मिक समूह आदिभन्दा शक्तिशाली हुने, सु–शिक्षित हुने, आर्थिक रुपले सम्पन्न हुने प्रयास गर्छन् नै । जुन कार्य गर्नु पनि पर्छ ।
नेपालको इतिहास हेर्दा धेरै लामो समयसम्म एकल जातीय, एक भाषिक, एकल धार्मिक एकल नश्लीय ढंगले अर्थ सत्ता (अर्थतन्त्र), ज्ञान सत्ता र राज्य सत्ता चलाईयो । खासगरिकन नेपालको भगौलिक एकीकरणपछि यो क्रम तीव्र रुपमा चल्यो, चलाईयो । कतिसम्म भयो, गरियो भने, मुलुकी ऐन विसं २०१० ल्याएर नेपालका विभिन्न जातजाति, भाषाभाषी, धार्मिक समूह आदिलाई कानुी रुपमा अनेका खालको तहमा राखेर जात, जाति विभाजन गरियो । त्यस्तो जातजाति विभाजनभित्र पनि उँच, नीच, छोईछिटो हाल्न पर्ने, छोईछिटो हाल्न नपर्ने, मासिन्या मतवाली, नमासिन्या मतवाली तागाधारी (बाहुन र क्षेत्रीलगायत) व्यवस्था गरेर, घोषणा गरेर त्यही (जात) अनुसारको दण्ड–सजाय गर्ने, तोक्ने कानुनमै व्यवस्था गरियो ।
हुनत: इतिहास हेर्दा, पढ्दा विश्वका कुनै पनि देश अघि बढ्नलाई सो देशले आफ्नो देशको जनसंख्या, भूगोल, हातहतियार, खनिज पदार्थ, रसदपानी लगायतमा क्षेत्रमा बलियो हुने प्रयास गर्थ्यो । यस्तो काम कुनै पनि देशमा हुनैपर्ने एक सर्त पनि हो । अनि मात्रै उसलाई विश्वका अन्य कुनै पनि देशले हत्तपत्त जिस्क्याउँदै, निहुँ खोज्दैन, लडाईँ वा झगडा गर्ने आँट पनि गर्दैन । त्यसैले गर्दा नै हुनुपर्छ, विश्वका जुनसुकै देश (खासगरिकन ठूला र शक्तिशाली देशहरु) ले अहिले पनि आफ्नो देशको जनसंख्या, भूगोल, हातहतियार, खनिज पदार्थ, रसदपानी लगायतमा बलियो हुने प्रयास गर्छ, बलियो हुने प्रयासमा लाग्छ । भलै जमाना ‘सुपर सोनिक’देखि ’हाईपर सोनिक’मा पुगिसकेको भन्ने भनाइ छ । त्यसो त के भनिन्छ भने, अहिले विश्वका कतिपय देशले क्षण भरमै विश्व ध्वस्त पार्ने–गर्ने आधुनिक हातहतियार एवम् शस्त्र–अस्त्र लिएर तम्तयारका साथ बसेको छ अरे !?

त्यस्तै गरेर कुनै पनि देशभित्रका जातजाति, भाषभाषी, धार्मिक समूह आदिले पनि आफ्नो देशभित्रका अरु जातजाति, भाषभाषी, धार्मिक समूह आदिभन्दा शक्तिशाली हुने, सु–शिक्षित हुने, आर्थिक रुपले सम्पन्न हुने प्रयास गर्छन् नै । जुन कार्य गर्नु पनि पर्छ । अन्यथा अरुभन्दा आफू कसरी सर्व–श्रेष्ठ ??? यसो गर्नु भनेको हामी मानवहरुको मानवीय गुण पनि हो । जसले गर्दाखेरि समग्र देशको आर्थिक, शैक्षिक, भाषिक, समाजिक, धार्मिक, सांस्कृतिक लगायत समग्र समाज विकासमा पनि नदेखिने गरी टेवा पुगिरहेको हुन्छ ।
आजको यो लेखमा विश्वकै एक महाजाति किरात जातिभित्रका पनि कुलुङ जातिका बारेमा केही लेख्दैछु । हुनत नेपालका धेरै जातजाति, भाषभाषी, धार्मिक समूह आदिले आफ्नो आर्थिक, शैक्षिक, भाषिक, समाजिक, धार्मिक, सांस्कृतिक लगायत अन्य क्षेत्रमा धेरै विकास गर्न सकेका छैनन्, उन्नति र प्रगति गर्न सकेका छैनन् । त्यति मात्रै होइन, कतिपय जातजातिको त आफ्नो मातृभाषा, मौलिक वेषभुषा, धर्म, संस्कार, संस्कृति, मौलिक चाडबाड, चालचलन, परम्परागत कानुन, मौलिक गीत, सङ्गीत, मौलिक बाजागाजा आदि लोप भई सकेको छ । गुमिई सकेका अवस्था छ । भनाइको मतलब उनीहरुको मातृभाषा, मौलिक वेषभुषा, धर्म, संस्कार, संस्कृति, चाडबाड, चालचलन, परम्परागत कानुन, गीत, सङ्गीत, मौलिक बाजागाजा, मौलिक नाचगान आदि लोप नै भई सकेको छ ।

हो, कुलुङ जातिको पनि नेपालका अन्य जातिको जस्तै मातृभाषा, वेषभुषा, मौलिक धर्म, मौलिक संस्कार, संस्कृति, मौलिक चाडबाड, चालचलन, परम्परागत कानुन, मौलिक गीत, सङ्गीत, मौलिक बाजागाजा, मौलिक नाचगान आदि लोप हुनै आँटेको अवस्था छ । हुनत नेपालका अन्य जातजातिका नयाँ मान्छेहरुले सुन्दा वा भनौं कुलुङ जातिका बारेमा अहिलेसम्म केही थाहा नपाएका, नसुनेका, नजानेका, नबुझेकाहरु अथवा ‘कुलुङ’ भन्ने बित्तिकै ए…, ‘कुलुङ’ त ‘राई !’ को एक थर हो नि भन्ने गरेका छन्, उनीहरुले त्यसरी नै बुझ्ने गरेका छन् । त्यसैले ‘कुलुङ’ अलग्गै र स्वतन्त्र जाति हो भनी हामीले सम्झाउँदा, बुझाउँदा अथवा सम्झाउने, बुझाउने प्रयास गर्दा पनि उनीहरुले लिँडेढीपी गर्दै ‘कुलुङ’ त ‘राई !’ को एक थर नै हो नि भन्ने गरेका छन् । त्यसमा उनीहरुको दोष पनि छैन । किनभने, हिजोका दिनमा जानेर वा नजानेर अथवा राई लेख्दा–भन्दा असली अर्थात् तालुकदार–जिम्मावाल ‘राई !’ जस्तै ठूलो मान्छे होइन्छ ! भन्ने मनोविज्ञानले पनि कतिपय हामी (‘कुलुङ’) ले नै ‘कुलुङ’ नभनेर–नलेखेर ‘राई !’ हो भन्दै–लेख्दै हिँडेको यथार्थ नै हो । त्यसैले उनीहरुले ‘कुलुङ’ भन्नाले ‘राई !’को एक थर मात्रै हो भनेर थाहा पाएका, सुनेका, जानेका, बुझेकामा हामीले अन्यथा मान्नु, सोच्नु हुँदैन । अझ उनीहरुले लिँढेढिपी कसेरै ‘कुलुङ’ भनेको राईको एक थर भनेर भन्दा हामीले रिसाउने कुरो आएउँदैन, रिसाउनु पनि हुँदैन । बरु योयो कारणले गर्दा ‘कुलुङ’ जाति नै हो, ‘राई !’ को एक थर होइन भनी सम्झाउने, बुझाउने गर्नु पर्छ । यो हाम्रो कर्तव्य हो ।
यो लेखको शीर्षक राखिएअनुसार भन्ने हो भने, अब हामीहरुले त्यसमा पनि विशेषतः ‘कुलुङ’ जातिको जातीय संस्था, ‘कुलुङ’ जातिका अगुवाहरु, ‘कुलुङ’ जातिका महिला एवम् सज्जनवृन्दहरु, ‘कुलुङ’ जातिका विद्धानहरु ‘कुलुङ’ जातिका युवा तथा विद्यार्थीहरु, ‘कुलुङ’ जातिका उद्योगी र व्यवसायीहरु एवम् प्रकारले विभिन्न क्षेत्रमा लाग्नु भएका कर्मशील ‘कुलुङ’ वन्धु–वान्धव ज्यूहरुले जति सक्दो चाँडो ‘आर्थिक सत्ता, ज्ञान सत्ता र राज्य सत्तामा अनिवार्य पहुँच हुनुपर्ने रहेछ, अन्यथा हामीले जति नै ‘बकबक गरे पनि, चिच्याए पनि, केके नै गर्छु भनेर कुर्ले पनि केही गर्न सकिँदैन रहेछ !’ भन्ने बुझ्नुपर्ने हुन्छ । सो कुरोलाई महसुस गर्दै आ–आफ्नो क्षेत्रबाट दत्तचित्त भएर अघि बढ्नुपर्ने देखिन्छ । त्यसैले अब हामी (कुलुङ) हरुले ‘म मात्रै होइन, हामी भन्ने भावना’सहित ‘आर्थिक सत्ता, ज्ञान सत्ता र राज्य सत्तामा कसरी हुन्छ ? पहुँच पुर्याउने प्रमुख लक्ष्य र उदेश्यका साथ अघि बढ्नुपर्ने देखिन्छ ।
.jpg)
हुनत त्यसैको एक अंशको रुपमा ‘आदिवासी भाषाको अन्तर्राष्ट्रिय दशक–२०२२ २०३२’ को अवसरमा गएको वैसाख १२ र १३ गते ‘रोदू कूलू छेईचीम याखौखम् एवम् नेपाली भाषामा ‘किरात कुलुङ स्वपहिचानः छलफल’ एवम् प्रकारले अंग्रेजी भाषामा ‘किरात कुलुङ आईडेन्टिटी डिस्कोर्स’ आयोजना गरिएको थियो । सो कार्यक्रम अर्न्ताष्ट्रियस्तरको (सिक्किमबाट समेत सहभागिता भएको) सहभागितासहित आयोजना गरिएको थियो । उक्त अवसरमा सिक्किमबाट रिना ङोपोचो कुलुङ, नेपालबाट प्रेमचन्द्र सोम्फोरु कुलुङ, कमानसिंह होदीबू कुलुङ, सीबी होङेलू कुलुङ, उद्धवकाजी गदूहो कुलुङ, अजय अलंकार रोतेम्बू कुलुङ आदिले कुलुङ जातिका विभिन्न विषयमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । निश्चय नै यस पटक गरिएको ‘किरात कुलुङ आईडेन्टिटी डिस्कोर्स’ ले कुलुङ जातिका अगुवाहरुले लगभग २४ वर्षदेखि गर्दै आएको जातीे जातीय स्वपहिचानको आन्दोलनमा एक पाकेको इटा थपिएको मान्नुपर्ने हुन्छ । कुलुङले पनि तीन सत्ताको अनिवार्यताः महसुस गरेर यसको प्राक्टिसमा लागेको छ । हुन पनि अर्थ (आर्थिक–अर्थतन्त्र) सत्ता , ज्ञान सत्ता र राज्य सत्तामा नपुगेसम्म हामी कुलुङले केही पनि गर्न सकिने अवस्था छैन । त्यसैले यो कुरो कुलुङ जातिका सबै महानुभाव ज्यूहरुले मनन् गरेर दत्तचित्त भएर लागी पर्नुपर्ने देखिन्छ ।
यस पटकको अर्न्तार्राष्ट्रिस्तरको कार्यक्रमले केवल नेपाल र नेपालीहरुमा माझ मात्रै नभएर विश्व जगतले नै हामी (कुलुङ जाति) को हौं भन्ने जान्न थप सहयोग पुगेको छ भनी हामीले दावीका साथ भन्न सकिन्छ । त्यसैले यस्तो महत्वूपूर्ण कार्यक्रमको आयोजना गर्न अग्रसर भएकोमा नेपाल किरात कुलुङ भाषा संस्कृति उत्थान संघ (किरात कूलू गूस खोम) जिल्ला कार्य समिति लगायत सबै कमिटि तथा भातृ संस्थाहरुलाई ‘हायाम–हायाम ओलोनूव’ दिन्छु, भन्छु कार्यक्रममा सहभागी व्यक्तिका हिसावले । त्यो पनि पल्लो किरात, (लिम्बुवान) को पनि तेह्रथुम, फेदापवासी कुलुङ जातिभित्रको राउटे (तेह्रथुमा थोरै संख्यामा भएको) का हिसावले ?! साथै हरेक हिसावले जस्तै तन, मन, धन दिएर यस पटकको अन्तर्राष्ट्रियस्तरको कार्यक्रमलाई सफल बनाउन घट्नु हुने कार्यक्रमका सञ्चालक तथा ‘किरात कूलू गूसखोम’का महासचिव दीपेन्द्र थोरेप्पा ज्यूलाई विशेष धन्यवाद छ ।
नेपालको पछिल्लो (१२ औं) राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा १४२ वटा जातजाति रहेका छन् । तिनमा १२५ वटा जातजाति विसं २०६८ को ११ औं राष्ट्रिय जनगणनामा पनि उल्लेख थिए । त्यसरी तथ्यांक हेर्दा नेपालको १२ औं राष्ट्रिय जनगणना २०७८ मा विसं २०६८ को ११ औं राष्ट्रिय जनगणनामा भन्दा १७ जातजातिको संख्या बढेको देखिन्छ । हुन पनि नेपालको १२ औं राष्ट्रिय जनगणना २०७८ र ११ औं राष्ट्रिय जनगणना २०६८ को (दुवै जनगाणनामा) उल्लेख भएको, तथ्यांकमा आएको एक जाति हो, ‘कुलुङ ।’ स्मरण रहोस्, विसं २०६८ को ११ औं राष्ट्रिय जनगणनाअनुसार कुलुङ जातिको जनसंख्या २८ हजार ६ सय १३ जना रहेको थियो भने, कुलुङ मातृभाषीको संख्या चाहिँ ३३ हजार १ सय ७० रहेको थियो । त्यस्तै गरेर विसं २०७८ को १२ औं राष्ट्रिय जनगणनामा चाहिँ कुलुङ जातिको जनसंख्या केही बढेर ३३ हजार ३८८ जना र मातृभाषी संख्या ३७ हजार ९१२ जना रहेको छ । त्यस्तै गरेर पूर्खाको भाषा ‘कुलुङ’ लेखाउनेको संख्या चाहिँ ४० हजार ४७९ रहेको छ । तथापि पनि राज्य (नेपाल सरकार) र अरु जातजातिले कुलुङ जातिलाई जाति नमानेको स्थिति छ । अर्थात् नेपाल सरकारले हालसम्म पनि ‘कुलुङ’ जातिलाई आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन–२०५८ (आजउराप्र) अनुसार अलग्गै जातिमा सूचीकृति गरिसकेको छैन । त्यसैले गर्दा पनि नेपालका अन्य जातजाति र भाषाभाषीले ‘कुलुङ’ भन्ने अलग्गै जाति हो भनेर नचिनेको, नबुझेको, थाहा नपाएको हुन सक्छ ।
यहाँसम्म कि नेपाल घागडान कहलिएका प्रा., डा., प्राडा, विज्ञ, प्राज्ञ, विद, कार, अभियन्ता, मानव अधिकारवादी आदिहरुले नै पनि ‘कुलुङ’ भन्ने अलग्गै जाति हो, कथित् ‘राई !’ जातिको एक थर होइन भनेर चिनेका छैनन् वा भनौं थाहा पाएका छैनन्, जानेका छैनन्, बुझेका छैनन् । अब विद्धान अथवा विद्धत कहलिएका वर्गहरुकै ज्ञान, चेतना र चैतन्यको स्थिति यस्तो भएपछि विचरा नेपालका सर्वसाधारण जनहरुको त के कुरो गराई भो र ???
-
0%
लाइक
-
0%
मनपर्यो
-
0%
अचम्मित
-
0%
दुःखी
-
0%
आक्रोशित






