प्रवासमा निःशुल्क सङ्गीत कक्षा, उत्पादन नेपालमै

गीतसङ्गीत त भइहाल्यो, यो नेपाली भाषा सिकाउने उद्देश्य पनि हो । हामीले कक्षामा अङ्ग्रेजी बोल्न दिदैनौँ । यसले नेपाली भाषामा नयाँ पुस्तालाई अभ्यस्त बनाउँछ भन्ने हाम्रो अपेक्षा पनि छ ।
गायक तथा सङ्गीतकार केशव पौडेलको विषय भने योभन्दा फरक छ । उहाँले अमेरिकामै कैयौँ नेपाली विद्यार्थीलाई निःशुल्क सङ्गीत पढाइरहेका छन् ।  फोटो : रासस

 

 

काठमाडौँ, १ वैशाख : नेपाली साङ्गीतिक कार्यक्रममार्फत कला र संस्कृतिको विस्तार र प्रवर्द्धनका लागि पछिल्लो समय विश्वभर नै कार्यक्रम हुने गरेको छ । ती कार्यक्रमको प्रभावकारिताका बारेमा चर्चा पनि त्यसैगरी हुने गरेको सुनिन्छ । तर गायक तथा सङ्गीतकार केशव पौडेलको विषय भने योभन्दा फरक छ । उहाँले अमेरिकामै कैयौँ नेपाली विद्यार्थीलाई निःशुल्क सङ्गीत पढाइरहेका छन् । 

“गीतसङ्गीत त भइहाल्यो, यो नेपाली भाषा सिकाउने उद्देश्य पनि हो । हामीले कक्षामा अङ्ग्रेजी बोल्न दिदैनौँ । यसले नेपाली भाषामा नयाँ पुस्तालाई अभ्यस्त बनाउँछ भन्ने हाम्रो अपेक्षा पनि छ । विगतमा नेपाली भाषाकै लागि त्यहाँ आइपुग्नेले अहिले गीत, सङ्गीतमै आफ्नो भविष्य देख्न थालिसकेका छन् । यो हाम्रा लागि ठूलो खुसीको कुरा पनि हो”, गायक पौडेलले भने । 

अमेरिकाको ओहायो सहरमा उनले गीतसङ्गीतको कक्षा सञ्चालन गरिरहेका छन् भने उनका अरु साथीहरुले नृत्य र यससँगै भाषाको पनि कक्षा सञ्चालन गरिरहेका छन् ।

उनका अनुसार सात सहरमा रहेका यस्ता कक्षाले नेपालीलाई आकर्षित पनि गरिरहेको छ । सात वर्षका बालबालिकादेखि ६० वर्ष उमेरसम्मका नेपालीहरु कक्षामा सहभागी छन् । उनीहरुले समय व्यवस्थापन गरेका छन् र निकै चाखसित नेपाली गीतसङ्गीतमा रमाएका छन् । 

गीतसङ्गीत मन नपराउने मानिस कमै होलान् । अधिकांशलाई त गीत गाउने, बाजा बजाउने सोख नै हुन्छ, जुन स्वाभाविक पनि हो । अमेरिकास्थित संस्था इन्ट्रा फाउन्डेसनको व्यवस्थापनमा ओहायोमा रहेका नेपालीको यो सङ्गीत कक्षा हेर्दा सहभागीहरु नेपालमा अधुरा रहेका सपना अमेरिकामा पूरा गर्ने अवसरका लागि तल्लीन देखिन्छन् । यहाँ समय नभएर या आर्थिक आदि कारणले आफ्नो गीतसङ्गीतको भोक मेटाउन नसकेकाहरुले अहिले यसमा लागिपरेका छन्, भन्छन् पौडेल । 

“प्रवासमा आएर आफ्नो सपना पूरा गर्ने काममा अगाडि बढ्न पाउँदा सहभागीहरु खुसी मात्र हुनुहुन्न, उहाँहरु यस क्षेत्रको भविष्य पनि देख्ने गर्नुभएको छ । यी कक्षाका विद्यार्थीले गीतसङ्गीतमा आफूहरु लाग्ने तयारी नै थाल्नुभएको छ । म पनि प्रवासमा आएर आफ्नै पेसाको काममा लाग्न पाउँदा उहाँहरुभन्दा कम खुसी छैन, निकै नै उत्साहित छु”, गायक पौडेलले भने । 

नेपालमा आफ्ना दुईसहित फुटकररुपमा तयार गरिएका २५ गीतिसङ्ग्रहमा स्वर र सङ्गीत दिइसकेका गायक पौडेल अमेरिका पुगेर प्राविधिक शिक्षातर्फ आकर्षित भए। विसं २०७६ मा अमेरिका पुगेपछि विश्वव्यापीरुपमा देखिएको कोरोना भाइरस महामारीले केही समय विश्राम लिनु परे पनि पनि गायक पौडेल पछि इन्ट्रा फाउन्डेसनसँग जोडिए र त्यसयता सङ्गीत सिकाउने शिक्षकका रुपमा कार्यरत छन् । 

“म सङ्गीतबाट टाढिन नसकेका सन्दर्भमा त्यही काम पाएँ । प्रवासमा आएर सङ्गीत नै सिकाउन पाउँदाको खुसीलाई साधारण शब्दमा मात्र व्यक्त गर्न म सक्दिन । अहिले यो सामान्य सुनिए पनि केही वर्षपछि यसको नतिजा देखिनेछ कि यसबाट अमेरिकामा पनि धेरै नेपाली कलाकार उत्पादन हुनेछन् र आफ्ना प्रतिभा प्रस्फुटन गरेर देखाउने छन्”, उनले भने । 

रेडियो नेपालमा विसं २०६० मा बालगीत, २०६१ मा उपत्यकाव्यापी बालगीत प्रतियोगिता, २०६६ र ६७ मा जागरण गीत, २०७० मा आधुनिक गीतमा उत्कृष्ट भएका गायक पौडेले देश छाडेर पनि सङ्गीत छाड्न सकेका छैनन्। उनले पछिल्लो तीन वर्षमा तीसको हाराहारीमा गीत तयार गर्नुभएको छ । नेपाल आउँदा प्रायः गीत लिएर नै यहाँ आउँछन् । 

विविधि कारणले प्रवास जानु परे पनि गीतसङ्गीतप्रतिको आफ्नो सक्रियतालाई उनले घट्न दिएका छैनन् । यतिखेर पनि उनले १० वटा गीत लिएर आउनुभएको थियो उत्पादन गर्न । तर, गीतिसङ्ग्रह नभई एक-एक गीत सार्वजनिक गर्ने योजना उनले बनाए । 

गायक पौडेल आफू गीतसङ्गीतमा निरन्तर सक्रिय रहने योजनाअनुरुप नै अघि बढेका छन् । नेपालमा रहँदा नै गीतसङ्गीतमा सक्रिय गायक पौडेलले अमेरिकामा रहेका नेपालीलाई दैनिक तीन कक्षामार्फत नेपाली गीतसङ्गीतप्रति आकर्षित गरिरहेका छन् । 

नेपाली गीतसङ्गीतप्रतिको यो मोह र लगावबाट उनले यस क्षेत्रलाई योगदान त दिएकै छन्। यसका अतिरिक्त उनले पछिल्लो समय नेपाली सङ्गीत उद्योगलाई पनि टेवा दिन थालेका रुपमा पनि बुझ्न सकिन्छ । किनभने उनी हरेक वर्ष गीत रेकर्डिङ तथा उत्पादनका लागि नेपालमा आउने गरेका छन् । उनले यस वर्ष यहाँ आएर ३० वटा गीत उत्पादन गरे । यो उनको नियमित कार्यक्रम जस्तै बनेको छ । 

नेपालीहरुले अमेरिकामा गीत या म्युजिक भिडियो उत्पादन गर्न महँगो पर्ने गर्दछ । साथै कतिपय कलाकार यसैका लागि नेपालमै आउने अवसर प्राप्त नगर्न पनि सक्छन् । कलाकारहरुले मान्ने गरेको यो झन्झटलाई गायक पौडेलले दुर गरिदिएका छन् । 

यसबाट सुरुमा सानो ‘भोल्युम’ मा भए पनि नेपाली गीतसङ्गीत उद्योगले व्यवसाय प्राप्त गर्न सकेको छ भन्न सकिन्छ । गायक पौडेलले अमेरिकामा रहेका नेपालीको गीतसङ्गीत उत्पादनको चाहलाई नेपालमा ल्याएर साकार पारिदिने र यहाँको ‘म्युजिक इन्डस्ट्री’ लाई थोरै भए पनि ‘बिजनेस’ दिने योजना निरन्तर नै रहने योजना बनाएका छन् । रासस 

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा