केयुको भाषा तथा आमसञ्चार विभागले “नेपालमा चलचित्र निर्माण” विषायक राष्ट्रिय संगोष्ठी गर्दै
दुईदिने उक्त संगोष्ठीको पहिलो दिनको कार्यक्रम भोलि (विहीबार, चैत्र २२)मा नेपाल टुरिज्म बोर्डमा उद्घाटनसंगै हुनेछ भने दोस्रो दिनको कार्यक्रम शुक्रबार विश्वविद्यालयको हात्तिवनस्थित कला सङ्काय प्राङ्गणमा आयोजना हुने
काठमाडौँ: काठमाडौँ विश्वविद्यालय (केयु)ले "नेपालमा चलचित्र निर्माण" विषायक राष्ट्रिय संगोष्ठीआयोजना गर्ने भएको छ ।
केयुको कला सङ्काय अन्तर्गत भाषा तथा आमसञ्चार विभागले उक्त संगोष्ठी आयोजना गर्न लागेको हो।दुईदिने उक्त संगोष्ठीको पहिलो दिनको कार्यक्रम भोलि (विहीबार, चैत्र २२)मा नेपाल टुरिज्म बोर्डमा उद्घाटनसंगै हुनेछ भने दोस्रो दिनको कार्यक्रम शुक्रबार विश्वविद्यालयको हात्तिवनस्थित कला सङ्काय प्राङ्गणमा आयोजना हुने संगोष्ठीका संयोजक ङिमा गेलु लामाले जानकारी दिए।
"संगोष्ठीमार्फत विद्यार्थी, अध्यापक र चलचित्रकर्मीलाई आफ्ना ज्ञान, विशेषज्ञता र विचार साझा गर्ने मञ्च प्रदान गर्ने तथा चलचित्र कर्म र प्राज्ञिक जगतबीच सेतु निर्माण गर्ने लक्ष्य विश्वविद्यालयले राखेको छ ।", संगोष्ठी संयोजक लामाद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ- "संगोष्ठीमा वर्तमान विश्वव्यापी कलात्मक परिदृश्यलाई आवश्यक चलचित्र निर्माणका विविध पक्षहरूमा बौद्धिक संवादको अवसर प्रदान गर्ने अपेक्षा भाषा तथा आमसञ्चार विभागले राखेको छ ।"
नेपाल चलचित्र विकास बोर्डका कार्यकारी अध्यक्ष भुवन केसीले उद्घाटन गर्ने संगोष्ठीमा वरिष्ठ चलचित्रकर्मी लक्ष्मीनाथ शर्मा प्रमुख वक्ताका रुपमा रहेका छन् ।
शैक्षिक उत्कृष्टताका लागि प्रतिबद्ध भाषा तथा आमसञ्चार विभागले यस संगोष्ठीमार्फत नेपाली चलचित्र उद्योगमा बढ्दो आलोचनात्मक र समालोचनात्मक बहसको आवश्यकतालाई सम्बोधन गर्ने अपेक्षा राखेको विज्ञप्तिमा भनिएको छ । संगोष्ठीमा शोधपत्र प्रस्तुति, प्यानल छलफल र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलचित्रहरूको प्रदर्शनी साथै अन्तरक्रियात्मक सहभागिता रहनेछन् ।
संगोष्ठीको पहिलो दिनमा नेपालमा वृत्तचित्रको अवस्था तथा नेपाली चलचित्रका रचनागर्भ विषयमा प्यानल छलफल तथा चलचित्र प्रदर्शनी हुनेछन् भने दोस्रो दिनमा चलचित्र सम्बन्धी शोधपत्र प्रस्तुति तथा लघु चलचित्र प्रदर्शनी हुनेछन् ।
संगोष्ठीमा दुई अन्तर्राष्ट्रिय लघु चलचित्रको नेपालमा पहिलोपटक प्रर्दशनी हुनेछ । ती चलचित्रहरु सन् २०२२ मा युरोपेली फिल्म अवार्डका लागि भेनिस लघु चलचित्रमा मनोनित साथै सर्वश्रेष्ठ लघु चलचित्रका लागि ओरिजोन्टी अवार्ड प्राप्त मंगोलियन/फ्रान्सेली चलचित्र “स्नो इन सेप्टेम्बर र सन् २०२० मा बर्लिन अन्तर्राष्ट्रिय चलचित्र महोत्सव अन्तर्गत क्रिस्टल बियर मनोनित साथै न्यूजील्याण्ड अन्तर्राष्ट्रिय फिल्म महोत्सव विजेता “मनि हनी” रहेका छन् । यसका साथै संगोष्ठीमा भाषा तथा आमसञ्चार विभागका वर्तमान र पूर्वविद्यार्थीका चलचित्र प्रदर्शन गरिनेछ ।
काठमाडौँ इन्टरनेशनल माउन्टेन फिल्म फेस्टिभल (किम्फ) र डाइरेक्टर्स गिल्ड अफ नेपालको सहकार्य रहने संगोष्ठीमा नेपाल पर्यटन बोर्डको प्रवद्र्धनात्मक साझेदारी रहेको छ ।


-
0%
लाइक
-
0%
मनपर्यो
-
0%
अचम्मित
-
0%
दुःखी
-
0%
आक्रोशित






