बैरागी काइँलालाई पहिचान सम्मान, गणेश राईलाई पहिचान युवा सम्मान

यस वर्षदेखि कोषले ४० वर्ष मुनिका युवाका लागि ‘पहिचान युवा सम्मान’ पनि सुरु गरेको छ। पहिचान आन्दोलन तथा साहित्यिक योगदानका आधारमा यो वर्षको पहिलो युवा सम्मान गणेशकुमार राई (गीलु रातोस)लाई दिने

 

काठमाडौँ : पहिचान पुरस्कार कोषले ‘पहिचान सम्मान’ यस वर्ष वरिष्ठ साहित्यकार, मुन्धुमविद् तथा नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व कुलपति 'बैरागी काइँला' (तिलविक्रम नेम्वाङ सुब्बा)लाई प्रदान गर्ने घोषणा गरेको छ।

कोषका संस्थापक नरेश काङमाङ राईका अनुसार काइँलालाई पाँच लाख दुई हजार दुई रुपैयाँ नगदसहित ताम्रपत्र प्रदान गरिने छ। यसअघि यो सम्मान लेखक तथा राजनीतिक विश्लेषक खगेन्द्र सङ्ग्रौलालाई प्रदान गरिएको थियो।

यस वर्षदेखि कोषले ४० वर्ष मुनिका युवाका लागि ‘पहिचान युवा सम्मान’ पनि सुरु गरेको छ। पहिचान आन्दोलन तथा साहित्यिक योगदानका आधारमा यो वर्षको पहिलो युवा सम्मान गणेशकुमार राई (गीलु रातोस)लाई दिने निर्णय गरिएको कोषले जनाएको छ।

युवा सम्मानअन्तर्गत राईलाई ५० हजार २०२ रुपैयाँ नगद र ताम्रपत्र प्रदान गरिने प्रेस विज्ञप्तिमा उल्लेख छ।
कोषले चार वर्ष लगातार पहिचान पुरस्कार प्रदान गर्दै आएको छ भने प्रत्येक पाँच वर्षमा पहिचान सम्मान दिने परम्परा छ।

अहिलेसम्म राजन मुकारुङ, अर्जुन खालिङ, यज्ञश, सरस्वती प्रतीक्षा, श्याम शाह, अनन्त वाग्ले, कविता राई, अमित थेवे, प्रगति राई, प्रकाश गुरागाईं र राजु स्याङ्तानका कृतिहरू ‘पहिचान पुरस्कार’ प्राप्त गरिसकेका छन्।

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा