सरकारले सुरु गर्‍यो स्वास्थ्य सेवासम्बन्धी गुनासो सम्बोधन गर्न 'हेल्लो स्वास्थ्य'

नि:शुल्क कल सेन्टरको टेलिफोन नम्बर १११५ मा फोन गरेर आफ्ना गुनासा राख्न सक्नेछन् । यसैगरी भाइबर र ह्वाट्स एपमा ९८५१३३०५९२ नम्बरमा आफ्ना गुनासा सन्देशमार्फत पठाउन सकिने व्यवस्था

 

 

काठमाडौँ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवासम्बन्धी गुनासो सम्बोधन गर्न 'हेल्लो स्वास्थ्य' सेवा सुरू गरेको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले आम नागरिकको स्वास्थ्य सेवासम्बन्धी गुनासो सम्बोधन गर्न एकाइ स्थापना गर्ने मन्त्रीस्तरीय निर्णयपछि 'हेल्लो स्वास्थ्य' स्थापना भएको हो ।

अब नागरिकले स्वास्थ्य मन्त्रालय तथा मातहतका निकाय र स्वास्थ्य सेवासँग सम्बन्धित गुनासाहरु टेलिफोन, ह्वाट्सएप, भाइबर, इमेल तथा हुलाकबाट समेत पठाउन सक्नेछन् ।

नि:शुल्क कल सेन्टरको टेलिफोन नम्बर १११५ मा फोन गरेर आफ्ना गुनासा राख्न सक्नेछन् । यसैगरी भाइबर र ह्वाट्स एपमा ९८५१३३०५९२ नम्बरमा आफ्ना गुनासा सन्देशमार्फत पठाउन सकिने व्यवस्था मन्त्रालयले मिलाएको छ ।

यसैगरी, इमेलमार्फत 'हेल्लो हेल्थ' एट एमओएचपी डट जिओभी डट एनपी मा गुनासा पठाउन सकिनेछ । प्रमुख कन्सल्ट्यान्ट ट्रपिकल मेडिसिन डा. अनुप बाँस्तोलाको संयोजकत्वमा गत मंसिर १४ गते एकाइ गठन भएको छ । सोही एकाइले हेल्लो स्वास्थ्य एकाइका लागि आवश्यक तयारी गरेर सेवा आरम्भ गरेको हो ।

मन्त्रालयले गठन गरेको समितिमा सूचना अधिकारी डा.भक्तबहादुर केसी, सूचना प्रविधि निर्देशक रमेशराज सुवेदी तथा शाखा अधिकृत गौरीप्रसाद आचार्य सदस्य छन् ।

यसअघि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकुमा रहेको हटलाइन नम्बरमा अरु माध्यमसमेत थप गरेर गुनासो तथा सेवासम्बन्धी जानकारी लिने व्यवस्था मिलाइएको मन्त्रालयको जनाएको छ ।

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा