पारिबुङ अर्थात् किराती तोरणको समाजशास्त्र र मानवशास्त्र

किरात देवा (पुजारी) नोक्छो (धामी) तथा मुन्दुमविद्हरूका अनुसार कुनै पनि शुभकार्यमा धनुकाँड, तीनचुला, चिन्डो, सिलाम सक्मा, ढोल, झ्याम्टासहितको पारिबुङ टाँगिएमा नाछ्युर (डाह/इर्ष्या) नलाग्ने, जोरीपारीको मनोबल घट्ने
पारिबुङ भन्नाले विभिन्न कार्यक्रमस्थल सजावट गर्न टाँगिने कपडा/कागजको झण्डा वा तोरन/तोरण भनेर बुझिन्छ ।

 

 

पारिबुङ भन्नाले विभिन्न कार्यक्रमस्थल सजावट गर्न टाँगिने कपडा/कागजको झण्डा वा तोरन/तोरण भनेर बुझिन्छ । किरात थुलुङ राई भाषामा ‘पारी’ भनेको खुला आकाश (पारी = खुला आकाश), ‘बुङ’ भनेको फूल (बुङ = फूल) अर्थात सिधा भाषामा पारिबुङ भन्नाले खुला आकाशमा झुण्डाईएकको फूल भन्ने अर्थ लाग्दछ तर किरात समुदायभित्र पारिबुङको अर्थ यतिमामात्र सिमित छैन । पारिबुङको अर्थ र यसको महत्व निम्न अनुसार रहेको पाइन्छ ।  

पारिबुङमा तीनवटा रंगको प्रयोग भएका हुन्छ । पहेँलो र हरियो रंगको पृष्ठभूमिमा ६ वटा किरात राई साँस्कृतिक बिम्बहरू सेतो रंगमा छापिएका हुन्छन् । ती तीन वटा रंगहरुको अर्थ यस प्रकार रहेको छ;

 

१. सेतोको अर्थ सह-अस्तित्व र शान्ति
२. हरियोको अर्थ उभौली र पितृ पुजक
३. पहेलोको अर्थ उधौली र प्रकृति पुजक  
 

 

पारिबुङमा राख्नु पर्ने ६ वटा किरात साँस्कृतिक बिम्बहरु तल लेखिए बमोजिम रहनेछन्;
१ पहेँलो पृष्ठभूमिमा सेतो धनुकाँडको बिम्ब
२.हरियो पृष्ठभूमिमा सेतो तीनचुलाको बिम्ब
३.पहेँलो पृष्ठभूमिमा सेतो चिन्डोको बिम्ब
४.हरियो पृष्ठभूमिमा सेतो सिलाम साक्माको बिम्ब
५.पहेँलो पृष्ठभूमिमा सेतो ढोलको बिम्ब
६.हरियो पृष्ठभूमिमा सेतो झ्याम्टाको बिम्ब   

 

तल चित्रमा देखाईए बमोजिम पारिबुङको क्रम रहने छ । 

नोट: पारिबुङलाई अवश्यकता अनुसारको साईजमा बनाउन सकिएता पनि यसको आकार आयताकार हुनेछ ।   

पारिबुङलाई सांस्कृतिक र सामाजिक कार्यक्रमहरूमा निम्न २ महत्वपूर्ण अर्थले टाँगिने गरिन्छ;
१. सफल र सुरक्षित कार्यक्रमको लागि
२. कार्यक्रम स्थल सजावटको लागि  
 

 

पारिबुङलाई के गर्नु हुन्नः
१. खुट्टाले टेक्नु वा नाघ्नु हुँदैन  
२. माटो वा फोहरमा फ्याँक्नुहुँदैन
३. होसियारी पूर्वक पारिबुङलाई टाँग्ने र उठाउने कार्य गर्नु पर्दछ   

 

किरात ड्युम्ला (मुन्दुम / मिथक)  अनुसार उननेम तयानेम (उहिले-उहिले) मियाप्मा (पृथ्वी) र खोम्दा (शुक्र तारा) को समागमबाट पृथ्वीमा हावा, पानी, वनस्पति तथा सम्पूर्ण प्राणीको उत्पति भयो । मियाप्मा र खोम्दाका विवेकशील सन्तानको रूपमा मिनिहव/मिनिहाङ (मानिस) को जन्म भयो । मिनिहव जन्मदा हातमा लिङह्वाल (धनुकाँड), शिरमा सेवारी (श्रीपेज), सिदिमो (काँधमा दुवैतर्फ भिर्ने मुन्दुमी सानो झोला) सहित धर्तीमा पाईला टेके । मिथक अनुसार मिनिहव दैवीशक्ति प्राप्त भएकाले उनी सम्पूर्ण प्राणीहरू मध्ये सबैभन्दा शक्तिशाली, चेतनशील, विवेकशील भए / थिए।  

मिथक अनुसार खोम्दा र मियाप्माको पहिलो सन्तान हावापानी, दोस्रो वनस्पति तेस्रो बाघ चौथो भालु पाँचौं बाँदर छैटौं मिनिहाङ हुन । मिनिहाङको जन्मे सकेपछि बाँकी सम्पूर्ण जिवहरुको जन्मको जन्म भयो । यसरी जन्मे पछि सबै आ-आफ्नो बाटो लागे तर भालु र मिनिहाङ मियाप्मासंग संगै बस्ने थाले । मियाप्मा भनेको पृथ्वी भए पनि आमाको भूमिका पुरा गर्न उनी मानवीय स्वरुपमा नै प्रकट भएका थिए रे ! यसरी संगै बस्दा मिनिहाङ सधैं खाना खोज्न जंगल जान्थे तर भालु चाहिँ अल्छि भएकोले घरैमा आमा मियाप्मासंग बसेर मिनिहवको बाटो कुरेर बस्दथे । एक दिन मिनिहव जंगलबाट अलि ढिलो फर्केछ । मिनिहवले खानेकुरा ल्याउन ढिलो गरेको कारण भालुलाई बेसरी भोक लागेछ अनि उसले घरमा खानेकुरा यताउती खोज्यो तर केही भेटाएन त्यस पछि भोकाएको भालुले आमालाई नै खाने निणर्य गरेछ । तत्पश्चात जुम्रा मारिदिने बहानामा भालुले उनको आमालाई काखमा सुत्न भने अनि जब भालुले आमाको कपाल सुमसुम्याउन थाले, मियाप्मा लुटुक्क/लुसुक्क निदाएछिन् यहि मौकामा भालुले आफ्नै आमालाई खाएर भोक मेटाएछ ।   

केहि समय पछि मिनिहव सबैका (मियाप्मा, भालु र मिनिहव) लागि खाना लिएर बासस्थानमा आईपुग्दा उनले भालुको मुखमा रगत र दाँतमा आमाको कपाल टाँसिएको देखे । मिनिहवले आमालाई यताउता हेरे तर कतै देखेनन् अनि आमा खै ? भनेर भालुलाई सोध्दा थाहा छैन भन्ने उत्तर आयो । अन्तमा भालुले आमालाई खाएछ भन्ने यकिन भएपछि घरमा राखेको ड्युम्लुङ (सिलौटा) ले भालुको टाउको चेप्टो हुने गरि मिनिहाङले पिटेर जंगलतर्फ खेदेछ ।   

जब मिनिहाङ एक्लो भए तब सृष्ट्रि भएका सबैको कल्याणको लागि उनले मियाप्मा र खोम्दालाई पितृ शक्ति र प्रकुतिका सम्पूर्ण प्राकृतिक तत्वहरूलाई प्राकृतिक शक्तिको रुपमा पुज्न थाले । यसरी किरात समुदायको आदिम पुर्खा मिनिहाङले शुरु गरेका पितृ र प्रकृति पुजालाई किरात समुदायका आदिम मानव ख्वाक्चिलिप (रैछाकुले) जाउ ख्लिउ (तयामा खियामा) ले अझ विशेष किसिमले मान्न थाले । उनीहरुले पवित्र स्थान तीन चुलाको प्रतिस्थपना गरे अनि चिन्डो, अर्नाको सिङ, कटुसको स्याउला, तीतेपाती आदिलाई पवित्र सामग्री मानेर पितृ र प्रकृतिको पुजालाई धुमधामसंग मान्न थाले ।   

किरात मिथक अनुसार मानव जंगली युगबाट कृषि युगमा  ख्वाक्चिलिप, वायलुङमा, जाउ ख्लिउले प्रवेश गराएका थिए ।  विकास क्रमसँगै मानवले जब धातु पत्ता लगाए तब मानिसहरुले म्युरुयुम्बी तरबार) ढोल, झ्याम्टा पनि बनाए । त्यसपछि किरात समुदायमा ढोल, झ्याम्टा, म्युरुम्बीलाई पनि पवित्र सामग्रीको रुपमा पुज्न थाले । यसरी मिनिहवले शुरु गरेका पुजा वा प्रार्थनाको निरन्तरता नै आजको किरात ड्युम्ला (मुन्दुम) हो ।  

मिथक अनुसार किरात बिम्बको अर्थ निम्न लिखित रहेका छन्;
लिङह्वाल (धनुकाँड) : शक्तिको प्रतिक ।
चिन्डो : पितृ र प्रकृतिलाई पानी अर्पण गर्ने मुन्दुमी सामग्री ।
तीनचुलो : पितृको बास स्थान / पवित्र स्थान / खाना पकाउने स्थान ।
ढोल, अर्नाको सिङ, झ्याम्टा : पित्री र प्रकृतिको सम्मानमा बजाइने बाजा तथा आदिम सञ्चार सामग्री । सिलाम सक्मा : मृत्युको बाटो छेक्न प्रयोग गरिने साँस्कृतिक बिम्ब
म्युरुम्बी /तरबार : नकारात्मक तत्व वा नकारात्मक उर्जालाई टाढा राख्न प्रयोग गरिने हतियार । 

किरात देवा (पुजारी) नोक्छो (धामी) तथा मुन्दुमविद्हरूका अनुसार कुनै पनि शुभकार्यमा धनुकाँड, तीनचुला, चिन्डो, सिलाम सक्मा, ढोल, झ्याम्टासहितको पारिबुङ टाँगिएमा नाछ्युर (डाह/इर्ष्या) नलाग्ने, जोरीपारीको मनोबल घट्ने हुन्छ । तसर्थ केही वर्षदेखि किरात समुदायले पारिबुङको प्रयोग तोसी (साकेला), विवाह, वनभोज तथा विभिन्न सार्वजनिक कार्यक्रमहरुमा प्रयोग गर्दै आएका छन् ।

अन्तमा, कार्यक्रम स्थलमा पारिबुङ टाँगौं  ! पितृ र प्रकृतिको आशिर्वाद लिऔं ! ! कार्यक्रम स्थलको शोभा बढाऔं ! ! ! किराती पहिचानलाई निरन्तरता दिऔं ...  

यस पारिबुङको डिजाइनिङ किरात राई प्राज्ञ सुरज राईले गरेका हुन् भने पारिबुङको महत्वलाई प्रचार प्रसार गर्ने अभियान थुलुङ राई संस्कृति प्रतिष्ठानले गरिरहेको छ ।

 

स्रोत व्यक्तिः
किरात राई प्राज्ञ सुरज राई, प्रिन्ट सेवा नेपाल, चाबहिल, काठमाडौँ
किरात राई लेखक संघका पुर्व अध्यक्ष, खुक्सङ राई
पत्रकार एवं United Nations Youth & Students Association Of Nepal (UNYSAN) का अध्यक्ष मदन राई  
कम्प्युटर शिक्षक तथा समाजसेवी बिनेश राई
कम्प्युटर अधिकृत, बिकास राई
सितिमि पत्रिकाका संस्थापक पत्रकार तिलक चाम्लिङ राई थुलुङ राई
भाषाविद चन्द्रकला राई  समाजसेवी,
अग्रज व्याक्तित्व, तिल बहादुर राई, लोखिम
देवा सवकुमार राई, सोलुखुम्बु जिल्ला, थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर ९ लोखिम
देवा दिलबहादुर राई, सोलुखुम्बु जिल्ला, थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर ९ लोखिम  
नोक्छो मदन राई, सोलुखुम्बु जिल्ला, थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर ९ लोखिम

 

लेखक निर्कुधन थुलुङ राई थुलुङ राई संस्कृति प्रतिष्ठानका अध्यक्ष हुन्। उनी किरात थुलुङ राईको संस्कृति, मिथक, साहित्य, मुन्दुम (डयुम्ला) र पहिचानका अध्येता र खोजकर्ता समेत हुन्। 
सम्बन्धित समाचार