बिहीबारबाट भृकुटीमण्डपमा नेपाल चेम्बर एक्स्पो

‘निर्यात प्रवर्द्धन तथा वैदेशिक लगानी आकर्षण गर्ने उद्देश्यका साथ चौथो इन्टरनेशनल चेम्बर मेला आयोजना गर्न लागेका हौँ ।’

काठमाडौं, बिहीबार (भोलि)बाट काठमाडौंको भृकुटीमण्डपमा चौथो इन्टरनेशनल चेम्बर मेला ‘नेपाल चेम्बर एक्स्पो–२०१८’ सुरु हुने भएको छ ।

नेपाल चेम्बर अफ कर्मसले च्याम्बरको केन्द्रिय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा भोलिबाट ‘नेपाल चेम्बर एक्स्पो २०१८’ शुरु हुने जानकारी दिइयो ।

पत्रकार सम्मेलनमा चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले निर्यात, प्रवर्द्धन तथा वैदेशिक लगानी आकर्षण गर्ने उद्देश्यका साथ चौथो इन्टरनेशनल चेम्बर मेला आयोजना गर्न लागिएको बताए  ।  

आयोजकका अनुसार ५ दिनसम्म चल्ने सो मेलामा १ सय ९० वटा स्टल रहने छ । स्टलमा अटोमोबाईल, इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स, फ्लोरिङ एण्ड फर्निसिङ, होम अप्लाएन्सलगायतका सामानहरु राखिने आयोजकले जानकारी दिएको छ ।

अध्यक्ष श्रेष्ठले मेलामा ब्यापारिक अन्तरक्रिया, आयात–निर्यातको सुचना आदान–प्रदान तथा नेपाली उत्पादनको बजारीकरणलाई जोड दिइने बताए । उनले  भने, ‘उपभोक्तालाई गुणस्तरीय सामान प्रयोग गर्न प्रोत्साहित गर्ने उदेश्यका साथ मेलामा उपभोक्ता हितसम्बन्धी जनचेतना अभिबृद्धिलाई विशेष प्राथमिकता दिएका छौँ ।’

त्यस्तै, प्रदर्शनीमार्फत निकासी योग्य बस्तुको प्रवर्द्धन गर्न ब्यापारीक समुदायलाई प्रोत्साहन गर्ने उद्देश्य आयोजकले लिएको छ ।

उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालय एवं ब्यापार तथा निकासी प्रवर्दन केन्द्रको सहकार्यमा हुन लागेको सो मेलामा म्यान्मा, चीन, पाकिस्तान, बङ्गलादेश, कोरिया, भारत, जापानलगायतका देशहरुको सहभागिता रहनेछ ।  

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा