बुधबार, ४ मङ्सिर, २०७६ Wednesday, 20 November, 2019

भारतविरुद्ध विद्यार्थी संगठनको प्रदर्शन, लगाए नारा ‘गो ब्याक इण्डिया’

‘कालापानी, लिपुलेक र लिम्पियाधुरा हाम्रो हो गो ब्याक इण्डिया’

 

काठमाडौं । नेपालको भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरालाई भारतले हालै जारी गरेको नयाँ नक्सामा आफ्नो भूभाग दावी गरेपछि विद्यार्थी संगठनहरुले काठमाडौंमा बिरोध प्रदर्शन गरेका छन् ।

सत्तारुढ तथा विपक्षी दल सम्बद्ध विद्यार्थीहरुले बुधबार काठमाडौंमा अलग–अलग स्थानमा ‘गो ब्याक इण्डिया’ नारासहित प्रदर्शन गरेका हुन् ।

विद्यार्थी प्रदर्शनमा ‘कालापानी, लिपुलेक र लिम्पियाधुरा हाम्रो हो गो ब्याक इण्डिया’लगायतका नारा लगाएको छ ।

नेपालको भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरालाई भारतले हालै जारी गरेको नयाँ नक्सामा आफ्नो भूभाग दावी गरेपछि विभिन्न राजनीतिम दल तथा नेताहरुले त्यसको विरोध जनाइरहेका छन् ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नयाँ दिल्लीले भर्खरै मात्र नेपालका भूभाग कालापानी र लिपुलेक भारतको नयाँ नक्सामा पारेको भन्ने समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ । कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलले आज एक विज्ञप्ति जारी गरी नेपालको माटो भारतले आफ्नो नक्सामा मिसाएको भन्ने विषय सार्वजनिक हुँदासमेत सरकार किन मौन भनी प्रश्न गरेको छ ।

त्यसैगरी, साझा पार्टीले गम्भीर आपत्ति प्रकट गरेको छ । आजै एक विज्ञप्ती जारी गर्दै साझा पार्टीले भनेको छ, ‘‘भारत सरकारको यो कदम अन्तराष्ट्रिय कानुनको विपरित नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डतामाथीको ठाडो हस्तक्षेप हो ।’

त्यस्तै,  नेपाल मजदूर किसान पार्टीले विरोध र्‍याली प्रदर्शन गरेको छ । नेमकिपाले आज भक्तपुरको कमलबिनायकबाट सुरु गरेको विरोध र्‍याली भक्तपुर नगर क्षेत्रको विभिन्नस्थान परिक्रमा गरी सूर्यविनायक चोकमा पुगेर विरोधसभामा परिणत भएको थियो ।

नेपालको कालापानी क्षेत्रलाई भारतको सीमाभित्र देखाइएको नयाँ नक्सा भारत सरकारले सार्वजनिक गरेपछि नेपालमा उत्पन्न असन्तुष्टिलाई भारतीय सर्वेक्षण विभागका वरिष्ठ अधिकारीले दुई देशका धारणा भिन्नभिन्न रहे पनि त्यसलाई आफूहरूले विवादास्पद भूमि नमान्ने बताएका बीबीसीले उल्लेख गरेको छ । 

बीबीसीका अनुसार नक्सा नयाँ नभएको तर्क गर्दै भारतका महासर्वेक्षक लेफ्टिनन्ट जनरल गिरीश कुमारले भने, ‘यसमा भारतले पहिलो पटक गरेको त्यस्तो कुनै कुरा छैन ।’

भारत सरकारले जम्मु कश्मीरमा हस्तक्षेप गरेपछि जारी गरेको उक्त नक्सालाई पाकिस्तान सरकारले अस्विकार गरिसकेको छ ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा