मंगलबार, २६ कार्तिक, २०७६ Tuesday, 12 November, 2019

बूढानीलकण्ठ वेद विद्याश्रमको सहयोगका लागि महायज्ञ शुरु

हरिबोधिनी एकादशीको अवसर पारेर बूढानीलकण्ठस्थित वेद विद्याश्रमको लागि आर्थिक सहयोग जुटाउने उद्देश्यले श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ शुरु भएको छ । 
फायल फोटो : वेव

 

काठमाडौं । हरिबोधिनी एकादशीको अवसर पारेर बूढानीलकण्ठस्थित वेद विद्याश्रमको लागि आर्थिक सहयोग जुटाउने उद्देश्यले श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ शुरु भएको छ । 

महायज्ञको उद्घाटन गर्नुहुँदै पूर्वप्रधानमन्त्री एवं नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले नागरिकलाई सभ्यताको पाठ सिकाउन गुरुकुलीय शिक्षा पद्धतिको भूमिका महत्वपूर्ण रहेको बताएका छन्  ।

समाजमा सुसंस्कार फैल्याउनसमेत प्राचीनकालदेखि गुरुकुलले योगदान गर्दै आएको उन्को भनाइ छ । पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक जयबहादुर चन्द मूल कर्ता रहेको महायज्ञ कात्तिक २६ गतेसम्म सञ्चालन हुनेछ ।

कार्यक्रममा बूढानीलकण्ठ नारायणस्थान मठका स्वामी निगमानन्द, महायज्ञ मूल आयोजक समितिका अध्यक्ष कल्पना मल्ल ठकुरी, उपाध्यक्ष ध्रुव केसी, गुरुकुलका प्राचार्य प्रकाश रुपाखेती लगायतले गुरुकुल सञ्चालनका लागि महायज्ञ गरिएकाले मन, वचन र कर्मले सहयोग गर्न आह्वान गरेका छन् । 

महायज्ञमा पण्डित कपिलदेव सुवेदीले श्रीमद्भागवत पाठ पारायण एवं कथा वाचन गर्ने छन् । कार्तिक शुक्ल एकादशीदेखि पूर्णिमासम्म बूढानीलकण्ठमा भक्तजनको विशेष भीड लाग्छ । यस अवसरमा नारायणस्थानमा मेला समेत आयोजना गरिएको मठले जनाएको छ ।

मेला कार्तिक शुक्ल एकादशीदेखि पूर्णिमासम्म अर्थात् कात्तिक २२ गतेदेखि २६ गतेसम्म चल्ने जनाइएको छ । भारतीय राजदूतावासको रु दुई करोड ४६ लाख सहयोगमा निर्माण भएको मठाधीश भवन आजै हस्तान्तरण हुने भएको छ ।

नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरीले हस्तान्तरण गर्नुहुने जनाइएको छ । तीन तले उक्त भवनमा ठूूला १० कोठा छन् । भवन गुरुकुलका लागि समेत उपयोगमा ल्याइने जनाइएको छ ।

बूढानीलकण्ठ विश्वमै ठूलो ढुङ्गामा कुँदिएको प्राचीन मूर्ति हो । जलभित्र शयन गर्नुभएका हरि र हर अर्थात् विष्णु र शिव दुवैको मूर्ति रहेकाले यसलाई अद्वितीय मानिन्छ । रासस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा