मंगलबार, २६ कार्तिक, २०७६ Tuesday, 12 November, 2019

चिनियाँ कविको ‘आमाको हात’

चिनियाँ हिमाली कवि जिदी माजियाद्वारा लिखित कवितासङ्ग्रह ‘मदर्स ह्याण्ड’को नेपाली अनुवादसहित  ‘आमाको हात’ प्रकाशनमा आएको छ ।
फायल फोटो : वेव

 

काठमाडौं । चिनियाँ हिमाली कवि जिदी माजियाद्वारा लिखित कवितासङ्ग्रह ‘मदर्स ह्याण्ड’को नेपाली अनुवादसहित  ‘आमाको हात’ प्रकाशनमा आएको छ ।

निराला पब्लिकेशन्स नयाँदिल्लीले प्रकाशन गरेको द्विभाषी सो कृति युयुत्सु आरडी शर्माले अङ्ग्रेजीबाट अनुवाद गरेको हो । तीन भागमा विभाजित सङ्ग्रहमा अङ्ग्रेजी र त्यसको नेपाली अनुवाद गरी २७ कविता समाविष्ट छन् ।

चीनको सिचुआनका ‘यी’ नामक जातिबाट आउनुभएका माजियाका कवितामा आफ्नो जन्मस्थलका नुओसी भाषीहरुका मिथक, लोककथा, महाकाव्य र त्यसमा रहेका  महानायकहरुको स्तुतिगान गरिएको छ ।

हिमाली कविहरुले लेख्ने आफ्नो जन्मस्थल, जनजातीय संसार, आमा, पहाड, खोला, झाँक्री, पूर्वज आत्मा, रक्सी, कविहरु जस्ता विषयवस्तु तिनमा पाइन्छ । माजियाका कवितामा नेपालसँग मिल्दोजुल्दो विषय भएकाले र विश्वको कविताको प्रवृत्ति चिनाउन आफूले नेपालीमा कविता अनुवाद गरी प्रकाशनमा ल्याएको अनुवादक शर्माले बताएका छन् ।

“ यस सङ्ग्रहका माध्यमबाट अनुवादका लागि उपयुक्त कार्यशाला पनि चलाउन सकिन्छ”, शर्माले भने । सङ्ग्रहमा प्राकृतिक सौन्दर्यको अनौठो चित्रणका साथै चीनको प्रतिविम्ब भेट्न सकिने उनको भनाइ छ ।

चीनले माजियाको काव्य ऊर्जाबाट आफूलाई प्रस्तुत गरेको विचार पनि शर्माले व्यक्त गरेका छन् । अमेरिकी कवि ज्याक हिर्शम्यानले माजियालाई कविता कलाको सम्प्रेषणमार्फत विश्व रुपान्तरण सक्ने अद्भुत सांस्कृतिक शक्ति भएको तथा नोबेल  पुरस्कारका उपयुक्त पात्र भएको टिप्पणी गरेको छ ।

आगामी दिनमा फ्रान्सेली, जर्मनेली, स्पेनी, पोर्तगाली, अमेरिकी, ल्याटिन अमेरिकी कविताहरुको पनि अनुवाद गरिने जानकारी शर्माले दिएका छन् । रासस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा