मंगलबार, २६ कार्तिक, २०७६ Tuesday, 12 November, 2019

चिन्तै चिन्तामा किसान !

वर्षा नभए पनि चिन्ता, धेरै भए डुबानको चिन्ता, कहिले मल, बीउ समयमा नपाउँदाको चिन्ता, कहिले बीउ राम्रो पर्ला वा नपर्ला भन्ने चिन्ता त कहिले उचित मूल्य पाइन्छ वा पाइँदैन भन्ने चिन्ता ।
प्रतिनिधिम्लक फायल फोटो : वेब

 

काठमाडौं । वर्षा नभए पनि चिन्ता, धेरै भए डुबानको चिन्ता, कहिले मल, बीउ समयमा नपाउँदाको चिन्ता, कहिले बीउ राम्रो पर्ला वा नपर्ला भन्ने चिन्ता त कहिले उचित मूल्य पाइन्छ वा पाइँदैन भन्ने चिन्ता । नेपाली किसानको जीवन चिन्तै चिन्तामा बित्ने गरेको छ ।

यतिखेर भने चितवन, रौतहट, नवलपरासी, नुवाकोट, लमजुङ, गोरखा, तनहुँ, दाङ, बाँके र कैलालीलगायतका किसानको खेतमा रोपाइँ गरिएको धानको बोटमा बाला लाग्न ढिला भएपछि थप चिन्ता बढेको छ । झन्डै १४ हजार हेक्टर जमीनमा रोपाइँ गरिएको गरिमा जातको धानका बोटमा बाला लाग्न ढिला भएको छ । कृषि विज्ञ डा रामवरण यादवका अनुसार किसानका खेतमा लगाइएको उक्त धान पाक्न अझै करीब एक महीना लाग्ने भएपछि धानको राष्ट्रिय उत्पादनमा कमी आउने देखिन्छ ।

भारतको हैदरावादस्थित रिनोभा सिड साइन्स इन्डिया प्रालिबाट आयात गरी बिक्रीवितरण गरिएको उक्त जातको धानको बीउ किसानले प्रतिकेजी रु ४५० मा खरीद गरी रोपाइँ गरेका थिए । वर्णशङ्कर जातको सो धान सनराइज एग्रिकल्चर रिसर्च सेन्टर प्रालि, लमही दाङ र प्रशान्त एग्रोभेट चितवनले खरीद गरी नेपालमा बिक्री वितरण गरेका हुन् । उन्नत जातका नाममा अनधिकृत कुजातको बीउ बिक्री वितरण गर्ने कम्पनीका ‘प्रोप्राइटर’लाई भने कानूनी कारवाही गर्ने दरिलो ऐन बन्न सकेको छैन । 

बीउबिजन ऐन, २०४५ ले अनधिकृत बीउ आयात गरी बिक्रीवितरण गर्ने कम्पनीलाई रु २५ हजार जरिवाना र आयात अनुमति पत्र खारेज गर्न सक्नेसम्मको  प्रावधान तोकेको छ । हाल उक्त ऐन संशोधनका क्रममा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा थन्किएको छ ।  

बीउबिजन गुणस्तर नियन्त्रण केन्द्रका अनुसार यस वर्ष कम्पनीले गरिमा जातको ४० टन धानको बीउ आयात गर्ने अनुमति दिएको र कम्पनीले ३४ टन खरीद गरेको भए पनि २३ टन मात्र बिक्री वितरण गरेको जनाएको छ । बीउबिजन गुणस्तर नियन्त्रण केन्द्रका निर्देशक मदन थापाले एक हेक्टर जमीनमा १५ किलो धानको बीउ प्रयोग हुने गर्छ । यसरी हेर्दा एक हजार ५०० हेक्टरभन्दा बढी क्षेत्रफलमा गरिमा धानको जातको बीउ रोपिएको निर्देशक थापाले जानकारी दिए ।

किसानलाई धानबाली पाक्ने आशामा झण्डै एक महिना पर्खनु पर्दाको पीडा एकातिर छँदैछ भने अर्का्तिर हिउँदे बाली लगाउने समय गुज्रेला भन्ने चिन्ता छ । हिँउदमा गहुँ, तोरी, आलु, मसुरो, गोलभेँडा र अन्य हिँउदे तरकारी खेती गरिन्छ ।

धान बाली अनुसन्धान कार्यक्रम हर्दिनाथ, धनुषाका प्रमुख तथा सत्यतथ्य बुझ्न गठित समितिका संयोजक डा रामवरण यादवका अनुसार गरिमा धानको बीउ रोपेको १२० देखि १२५ दिनसम्ममा बाली भिर्त्याउन सकिन्छ । तर, सो समयसम्ममा पनि भर्खर÷भर्खर बाला लाग्न थालेपछि किसान मर्कामा परेका छन् ।

बीउबिजन गुणस्तर नियन्त्रण केन्द्रका निर्देशक थापा सबै किसानलाई क्षतिपूर्ति दिने हो भने झण्डै रु १३ करोड आवश्यक पर्ने बताउँछन् । कृषि तथा पशुपन्छी विकास राज्यमन्त्री रामुकमारी चौधरीले अन्तिम सत्यतथ्यका आधारमा पीडित किसानलाई क्षतिपूर्ति उपलब्ध हुनुपर्ने जिकिर गर्छन् ।

गरिमा धान भारतीय उत्पादन हो । यो धान विसं २०७२ मा सूचीकृत भई नेपालमा धान खेती हुँदै आएको थियो । तर, यस वर्ष भने भारतबाटै आयातित उक्त बीउमा गरिमाको गुण नरहेको कृषि प्राविधिकको भनाइ छ ।

बाली पाक्नुपर्ने निश्चित अवधिसम्म नपाकेपछि यस वर्ष धानबालीको राष्ट्रिय उत्पादनमा भने नकारात्मक प्रभाव पर्ने देखिएको छ । सरकारले आगामी ०७८÷७९ सालसम्ममा नेपाललाई धानमा आत्मनिर्भर बनाउने योजना अघि सारेको थियो । यस वर्ष भने गत वर्षको तुलनामा झण्डै दुईदेखि तीन प्रतिशतसम्म धानको उत्पादनमा गिरावट आउने धान विशेषज्ञ भोलामानसिंह बस्नेतले बताए ।

नेपालीका लागि कूल धानको आवश्यकता ६० लाख मेट्रिक टन हो । गत वर्ष झण्डै ५३ लाख मेट्रिक टन धानको उत्पादन भएको थियो भने यस वर्ष ५१ लाख मेट्रिक टनमा सीमित हुने विज्ञ बताउँछन् । मुख्यगरी ढिला वर्षा हुनु, तराईमा डुबान तथा कटान हुनु तथा समयमा मलखाद उपलब्ध हुन नसक्नु र सिँचाइको पर्याप्त सुविधा हुन नसक्नुले धानको उत्पादनमा गिरावट आउने देखिन्छ । रासस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा