मंगलबार, २६ कार्तिक, २०७६ Tuesday, 12 November, 2019

बिक्नै छाडे बाँसको डोका’

बाँसको चोयाका डोकाको प्रयोगमा कमी हुन थालेसँगै धेरैको जीविकोपार्जनमा समेत असर पर्दै आएको छ ।
प्रतिनिधिमुलक फायल फोटो: वेव

 

सिन्धुली । बाँसका डोकाको प्रयोग पछिल्लो समयमा कम हुँदै गएको छ । बाँसका डोका मुख्यतः खेतीपातीका काममा प्रयोग हुने गर्दछ ।

बाँसको चोयाका डोकाको प्रयोगमा कमी हुन थालेसँगै धेरैको जीविकोपार्जनमा समेत असर पर्दै आएको छ । यस्ता डोका विशेषगरी घाँस, दाउरा, पत्कर तथा पशुको मल बोक्न प्रयोग गरिन्छ । विगतको समय यस्तो थियो कि परम्परागतरुपमा बाँसबाट डोका बुनाइबाट राम्रो आम्दामी गर्नेहरु पनि थिए ।

अहिले आम्दानी नै घटेपछि यस्को कारोवार नै छाड्नुपर्ने अवस्था आएको बताइएको छ ।कमलामाई नगरपालिका– ९ का गोपीप्रसाद न्यौपानेले बाँसका डोका बिक्री गर्न थालेको वर्षौं भएको छ ।

विगतका तुलनामा बाँसजन्य घरेलु तथा कृषिका लागि प्रयोग हुने सामग्रीको कारोवारमा निकै कमी भएको उनको भनाइ छ । उनले भने, “केही वर्षअघिसम्म डोका, नाङ्लो, चाल्ना, सोली, डालोलगायतका सामग्री यहाँ राख्ने ठाउँ हुँदैन थियो, राम्रै बिक्ने गर्दथ्यो जसबाट मैले घर चलाउँदै आएको थिए ।

अहिले त डोका बिक्नै छाडे अन्य सामग्री पनि बिक्दैनन् घर खर्च चलाउन मुस्किल छ । केही वर्ष पहिलासम्म यहाँ बाँसबाट बनाइएका सोली, नाङ्ला, चाल्ना, डाला, डोकाको कारोवार राम्रो हुने गरेको अनुभव उसँग छ ।

त्यति मात्र हैन बाँसजन्य उत्पादन सामग्रीबाट घर खर्च राम्रैसँग धान्नुभएका गोपीप्रसादलाई अहिले डोका नबिक्दा चिन्ता थपिएको छ । हातले देखाउँदै उनले भने, “हेर्नुस यो गोदाम पूरै भरिएको छ, अरु राख्ने ठाउँ छैन तर के गर्नु गोजी खाली छ, गोदाम रित्तिएर गोजी कहिले भरिएला ग्राहक कुरेर बसिरहेको छु ।”

उनले भने, “हिजोआज त बोरामा मल हालेर ट्रयाक्टरमा लैजान्छन्, डोका किन्नै छाडे, धानको पनि भुस उडाउन पर्दैन नाङ्ला पनि बिक्नै छाडे, आधुनिक समयमा पुर्खौली संस्कृति लोप हुँदै जान थाले । गोदामको भाडा तिर्नै नसकिने भएकोले अर्को के व्यवसाय गर्ने भनी सोच्दैछु ।”

अहिले डोको बुन्नेले रु २८० मा डोका छाडिदिएर जान्छन् । बजारमा डोकाको मूल्य ३०० पर्छ । उनले आफूले पनि रु २९० देखि ३०० सम्ममा बिक्री गर्ने गरेको सुनाएका छन् । दुई वर्षदेखि डोका तथा अन्य सामग्रीको बिक्री वितरणमा कमी हुँदै आएको गोपीप्रसादको भनाइ छ । मासिक १० देखि १५ हजारसम्म आम्दानी हुने गरेकामा अहिले आम्दानी हुनै छाडेको छ ।

विगतमा डोको बुन्नेले एक हप्तामा रु तीन हजारसम्म लैजान्थे । कमलामाई नगरपालिका– ११ बाट सबैभन्दा बढी डोका बुनेर बिक्री गर्न भिमान बजारमा आउने गर्दछन् । खेतीपातीको मौसममा सबैभन्दा बढी डोका आउथे । 

यस्तै भिमान निवासी रामप्यारी विश्वकर्माले डोकाको कारोवारमा कमी आएको बताइन् । उन्ले भनीन् , “आफूहरु बुहारी हुँदा बिहान भाले नबास्दै डोकामा पानी बोक्नु पर्दथ्यो तर अहिलेका बुहारीलाई पानी बोक्नु पर्दैन, घरघरमा पानीका धार छन्, न घाँस न दाउरा गर्नुपर्छ त्यसैले पनि डोकाको प्रयोग घट्दै गएको छ ।”

हिजो डोकामा सामान बोक्नुपर्ने बाध्यता थियो अहिले गाडी तथा ट्रयाक्टरले घरदेखि खेतखेतदेखि घर र जङ्गलबाट पनि दाउरा ट्रयाक्टरमा नै ल्याउन थाले पहिलापहिला बाँस बिक्री नहुने गर्दा बाँसबाट घरायसी तथा कृषि प्रयोजनका लागि बाँसजन्य सामग्री बनाउने गरेकामा अहिले बाँस गाउँगाउँबाटै बिक्री हुन थालेको छ ।

झाङबाटै प्रतिघना ७० देखि ९० रुपैयाँसम्म तिरेर व्यवसायीले लैजाने गरेका छन् । यसले गर्दा पनि बाँसजन्य सामग्री विस्तारै लोप हुँदै गएको कमलामाई नगरपालिका– ९ का दिनेश न्यौपानेले बताएका छन्  । आफू बाल्यकाल हुँदा बाँसबाट बुनेका घुम र छत्री वर्षामा पानीबाट भिजिन्छ भनेर ओड्ने गरेकामा अहिले घुम र छत्री छिटफुटरुपमा मात्र देखिने गरेको उहाँको भनाइ छ ।

बाँसजन्य सामग्री ग्रामीण क्षेत्रमा अझै पनि प्रयोगमा नै हुँदै आएको भए पनि जिल्लाका सदरमुकाम, कमला खोच तथा समतल फाँट भएका स्थानमा भने यस्ता सामग्रीको प्रयोगमा कमी हुँदै आएको व्यवसायी बताउँछन् ।

घरदेखि खेतबारीसम्म सडक सञ्जाल र आधुनिक घरको निर्माण भएसँगै विस्तारै मान्द्रा पनि प्रयोगमा कमी हुँदै आएको छ । नवीनबाबु अधिकारी  / रासस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा