थानकोट नाका : लागुऔषध ओसारपसारको मुख्य केन्द्रविन्दु

महानगरीय प्रहरी वृत्त थानकोटले दिएको जानकारीअनुसार आर्थिक वर्ष २०७५/०७६ मा लागुऔषध मुद्दामा १४४ विरुद्ध मुद्दा दायर भएको छ ।
फाइल फोटो / वेब


काठमाडौं । उपत्यका भित्रिने प्रमुख नाकाको रूपमा रहेको थानकोट नाकाबाट धेरै लागुऔषध ओसारपसार हुने गरेको छ । महानगरीय प्रहरी वृत्त थानकोटले दिएको जानकारीअनुसार आर्थिक वर्ष २०७५/०७६ मा लागुऔषध मुद्दामा १४४ विरुद्ध मुद्दा दायर भएको छ ।

वृत्तका प्रमुख, प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापा उपत्यका भित्रिने प्रमुख नाका धेरै व्यक्ति आवतजावत गर्ने भएकाले पनि धेरै लागुऔषध ओसारपसार पनि थानकोट नाकाबाटै हुने गरेको बताउछन् । “थानकोट प्रहरी अवैधरूपमा ओसारपसार गरिएको लागुऔषध धेरै हदसम्म बरामद गर्न सफल भएको छ”, उनी भन्छन् । यस्तै, भक्तपुरको जगाती, काठमाडौंको दक्षिणकालीबाट पनि लागुऔषध भित्रिने गरेको प्रहरीले जनाएको छ । 

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका अनुसार काठमाडौं प्रहरीले आव २०७५/०७६ मा मात्र लागुऔषधसम्बन्धी ५२५ विरुद्ध मुद्दा दायर गरेको छ । आव २०७५/०७६ मा भक्तपुरले ३६ र ललितपुरले ५९ व्यक्तिविरुद्ध मुद्दा चलाएको छ ।  कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवाली लागुऔषध ओसारपसारमा तराई–मधेश मूलका व्यक्ति धेरै संलग्न हुने गरेको बताउछन् । “छिमेकी मुलुक भारतको खुला सिमानाका कारण पनि तराईको बाटो हुँदै धेरै लागुऔषध उपत्यका भित्रिने गरेको छ”, उनी भन्छन् । लागुऔषधभित्र पर्ने गाँजा र अफिमबाहेक सबै लागुऔषध विदेशबाट आयात हुने गरेको प्रहरीले बताएको छ ।  रासस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा