दलित बस्तीमा घरैपिच्छे धारा

नगरपालिकाको ‘एक घर एक धारा’ अभियानअन्तर्गत उक्त बस्तीमा घरैपिच्छे धारा जडान गरिएको हो ।
प्रतिनिधिमुलक फायल फोटो: वेव

 

लमजुङ । गण्डकी प्रदेशअन्तर्गत लमजुङ बेंसीशहर नगरपालिका–३ गाउँशहरमा रहेका दलित बस्तीमा घरैपिच्छे धारा जडान गरिएको छ । नगरपालिकाको ‘एक घर एक धारा’ अभियानअन्तर्गत उक्त बस्तीमा घरैपिच्छे धारा जडान गरिएको हो ।

अभियानअन्तर्गत गत मङ्सिरको पहिलो सातादेखि गाउँमा खानेपानीको संरचना निर्माण गरिएकामा यतिबेला घरैपिच्छे धारा निर्माणको काम अन्तिम चरणमा पुगेको हो । पैसठ्ठी हजार लिटर क्षमताको पानीको ट्याङ्की निर्माण  भइसकेको छ ।

त्यस्तै घरघरमा खानेपानी पाइप बिच्छ्याइनाका साथै मिटरबक्ससमेत जडान भइसकेको निर्माण उपभोक्ता समितिका अध्यक्ष पञ्चबहादुर हिमालीले बताए । मुहानमा इनटेक, रिजर्भ ट्याङ्की निर्माण, पाइप बिच्छ्याउने कार्य, धाराका संरचना निर्माण मिटर जडानदेखि धारामा पानी ल्याउने कामसम्मका सम्पूर्ण कार्य सकिएको उनले बताए । 

समितिका अनुसार ६५ घरधुरीमध्ये ५७ घरधुरी दलितको छ । त्यस्तै गैरदलितको आठ वटा घरमा समेत जडान गरिएको धारामा पानी झर्न थालेको छ । खानेपानी ट्याङ्कीबाट ५०० मिटरमाथि देवीस्थान (अलैँची बारी) को मुहानबाट खानेपानी ल्याइएको हो । प्रत्येक घरमा जडान गरिएको धारामा केही दिनअघिदेखि पानी आएको बेंसीशहर नगरपालिकाका प्रवक्तासमेत रहनुभएका स्थानीय उपभोक्ता अजय मजाकोटीले बताए ।

धाराबाट आउने सफा पानी खान पाउने हुँदा स्थानीयवासीको स्वास्थ्यमा असर नपर्नेे, समयको बचत हुने गाउँ सफा हुने, अन्य काम गर्न  स्थानीयवासीको  समय बचत हुने र  पहिलाको जस्तो पानीको धारा खोज्दै हिंड्नुपर्ने बाध्यता हटेको नगरप्रमुख गुमानसिंह अर्यालले बताए ।

नगरपालिकाले उक्त खानेपानीका लागि आव २०७५/७६ को बजेटबाट रू छ लाख तीन हजार उपलब्ध गराएकामा स्थानीयवासीको रू दुई लाख ५० हजार बराबरको श्रमदान र स्थानीय उपभोक्ताबाट रू छ लाख ५० हजार सङ्कलन गरे । रासस
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा