बुधबार, ४ भदौ, २०७६ Wednesday, 21 August, 2019

‘विदेशमा हण्डरपछि स्वदेशमै उद्यम’

“कतार गएर कमाउँला, बचाउँला र रमाउँला भनेको सोचेजस्तो केही भएन”, विगत सम्झदै उनले भने, “नेपाल फर्कूं त कसरी फर्कूं, नफर्कूं त कमाउने सम्भावना नै थिएन ।”
प्रतिनिधिमुलक फायल फोटो : वेब

 

काठमाडौं । सशस्त्र द्वन्दको अन्तसँगै मुलुक सङक्रमणकालबाट गुज्रदै धेरै नेपाली युवाको लागि वैदेशिक रोजगारी आकर्षण मात्र नभई बाध्यता पनि थियो । त्यही बाध्यताले विदेश पुर्‍यायो गोरखाका पुरुषोत्तम घिमिरेलाई ।

आफ्नो आम्दानी शून्य, म्यानपावरको महङ्गो शुल्क र चर्को व्याजमा रु एक लाख १० हजार ऋण खोजेर घिमिरे २०६८ सालमा कतार उडे । “कतार गएर कमाउँला, बचाउँला र रमाउँला भनेको सोचेजस्तो केही भएन”, विगत सम्झदै उनले भने, “नेपाल फर्कूं त कसरी फर्कूं, नफर्कूं त कमाउने सम्भावना नै थिएन ।”

अत्यन्त थोरै तलब । खान बस्न महङ्गो । मासिक केवल १०÷१२ हजार बचत हुन्थ्यो । आफ्नो खर्च चलाउने कि परिवारको गुजारा धान्ने वा लिएको ऋण चुक्ता गर्ने भन्ने चुनौति थियो । जसोतसो ऋण तिरेर नेपाल फर्कने सोच पलायो घिमिरेमा । 

सानोसानो अंश बचतबाट झण्डै दुई वर्षको अवधिमा ऋण चुक्तापछि घिमिरे नेपाल फिरे । “कुनै परिवर्तन थिएन, युवालाई निराश बनाउने र फेरि पनि विदेशिन बाध्य तुल्याउने गतिविधि मुलुकमा जारी नै थिए”, स्मृतिका पाना पल्टाउँदै उनले भने, “छिटोछिटो सरकार परिवर्तन, बन्द, आन्दोलन, चक्काजाम यस्तै यस्तै।”

स्वदेशमै केही गर्छु भनेर फर्केपनि त्यहीबीचमा भूकम्प अनि नाकाबन्दीको सास्ती थपियो । भूकम्पले घरमा नराम्ररी क्षति पुर्‍यायो । अन्ततः फेरि उनले गन्तव्य परिवर्तन गर्दै २०७२ सालमा साउदी गए । अघिकै श्रृङ्खला दोहोर्‍याउँदै चर्को व्याजमा ऋण लिएर साउदी उडेपनि नियति फेरि दोहोरियो ।  तुलनात्मक रुपमा केही बढी तलब र सेवा सुविधा भए पनि खर्च धान्न मुस्किल मुस्किल नै थियो ।

नियतिले ठगेपछि कसको के लाग्छ र ? केही महीना काम गरेपछि उनी कार्यरत कम्पनी आर्थिक रुपमा टाट पल्टियो । महिनामा एक साता काम गर्‍यो अरु दिन खाली । झण्डै एक वर्ष काम गरेपछि अन्ततः उनी फेरि स्वदेश फिरे ।

थोरैथोरै बचतबाट सानो पूँजी निर्माण भएको थियो । मुलुक राजनीतिक स्थायित्वमा प्रवेश गर्ने चरणमा थियो । सरकारले युवालाई स्वदेशमै गरिखाने वातावरण सिर्जना गर्न केही पहलकदमी लिँदै थियो । वैदेशिक रोजगारीका क्रममा पाएको ठक्कर र खाएको हण्डर तथा सरकारको युवा लक्षित कार्यक्रमले अब केही गरे यही रम्न र जम्न सकिन्छ भन्ने लाग्यो ।

संभावनाकै बीच उनले डेरी व्यवसाय शुरु गरे। विदेशमा घोटिएको जीवन उनले यहाँ भने व्यवसाय प्रवर्द्धनमा लगाए । विदेशमा भन्दा दुःख कम, कमाइ आकर्षक । मेहनत गरेअनुसारको फल यही रहेछ भन्ने बल्ल उनलाई लाग्यो । “सुख त कहीँ पनि छैन, दुःख गरेअनुसारको प्रतिफल पाइएको छ”, उनले भने ।

वैदेशिक रोजगारबाट फर्केका युवालाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने सरकारी योजनाबाट कर्जा लिएर व्यवसाय विस्तारमा लगाउने उनको सोच छ । “विदेशमा हुँदा १०/१५ हजार बचाउन मुस्किल हुन्थ्यो, अहिले मासिक ३०/३५ हजार कमाइ भएको छ” उनले भने, “अब थप लगानी गरेर व्यवसाय विस्तार गर्ने योजना बनाएको छु ।”

सहुलियतपूर्ण कर्जाका लागि निवेदन दिएपछि वैदेशिक रोजगार बोर्डले सहुलियपूर्ण कर्जा लिन योग्यको सूचीमा राखेको छ उनलाई । उक्त सूचीमा घिमिरेजस्तै झण्डै १८ हजार युवा सूचीकृत भएका छन् ।

घिमिरेजस्तै कास्कीका हेमराज बराल पनि दशक लामो कष्टपूर्ण वैदेशिक रोजगारीको यात्रा त्यागेर स्वदेशमै उद्यम गर्न शुरु गर्नुभएको छ । अहिले उनले वैदेशिक रोजागरीको भन्दा राम्रो आम्दानी यही गरेकाम छन् ।

“विदेशमा जति दुःख नेपालमै गर्‍यो भने यही पनि राम्रो आम्दानी गर्न सकिन्छ भन्ने अहिले आएर बुझेको छु”, उनले भने, “पहिलै यति बुझेको भए किन पो जान्थे र विदेश ।” वैदेशिक रोजगारीमा गएको युवालाई स्वदेशमै उद्यम गर्न सरकारले लगानीका लागि सहुलियत प्रदान गर्नुपर्ने उनको भनाइ थियो ।

रिटर्नी माइग्रेन्ट नेपालका अध्यक्ष उत्तम अधिकारी वैदेशिक रोजगारीबाट फर्केका युवालाई नेपालमै स्वरोजगार बनाउन तथा उनीहरुलाई उत्पादनसँग जोड्न राज्यले एकीकृत प्याकेज ल्याउनुपर्ने बताउँछन् ।

सरकारले आव २०७५/७६ को बजेट वक्तव्यमा विदेशबाट फर्केका युवाको सीप प्रमाणीकरण गरी त्यस्ता युवालाई सम्बन्धित व्यवसाय सञ्चालन गर्न परियोजनामा आधारित रु १० लाखसम्मको ऋण उपलब्ध गराउने घोषणा गरेपनि कार्यान्वयन फितलो रहेको छ ।

“वैदेशिक रोजगारीबाट फर्केका युवाले थोरै पूँजी, धेरै सीप तथा अनुभव ल्याएका छन्, उनीहरुको सीपलाई राष्ट्रिय पूँजीका रुपमा लिइनुपर्छ”, उनले भने, “साच्चै मुलुकले समृद्धि हासिल गर्ने हो भने ती युवालाई स्वदेशमै पुनः स्थापना गर्नुपर्छ, विदेशमा रहेकालाई नेपालमै कमाउन सकिन्छ भन्ने विश्वास दिलाउनुपर्छ ।” रासस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा