बुधबार, १२ बैशाख, २०७५ Wednesday, 25 April, 2018

विश्व बाल रंगमञ्च दिवस : नेपाल यात्रामा अर्जेन्टिनी क्लाउन ‘मान्द्रगोरा सर्को’ (फोटोफिचर) 

शब्दविहिन अर्जेन्टिनी नाटक र बालबालिकाका लागि अभिनय कार्यशाला हुँदै

काठमाडौं, ६ चैत । ‘बालबालिकालाई नाटकघर लैजाऔं, उनीहरु पनि देख्न, सुन्न, महसुस गर्न, सोच्न र कल्पना गर्न सक्छन्’ भन्ने अभियानका साथ आज विश्व बाल रंगमञ्च दिवस विश्वभर मनाइदैछ । 

बाल रंगमञ्च सम्बन्धी अन्तर्राष्ट्रिय छाता संगठन ‘आसितेज इन्टरनेशनल’को नेतृत्वमा मनाइने विश्व बाल रंगमञ्च दिवस नेपालमा पनि मनाउन थालिएको हो ।

हरेक वर्ष मार्च २० मनाइने विश्व बाल रंगमञ्च दिवसको सन्दर्भमा नेपालमा आसितेज नेपालले १० दिन अघिदेखि नै विभिन्न नाट्य गतिविधिका साथ मनाइरहेको छ ।

विश्व बाल रंगमञ्च दिवसको सन्दर्भ पारेर गत मार्च १० देखि नै विश्व नाट्य यात्रामा रहेका अर्जेन्टिनी नाटक समुह ‘मान्द्रगोरा सर्को’का साथ पोखरा थिएटरबाट नाटक मञ्चन तथा नाट्य कार्यशाला सुरु गरिएको थियो । 

बालबालिकालाई लक्षित गरी सिर्जना गरिएको नाटक ‘क्लाउन’लाई नेपाल यात्रा गराउने क्रममा गत फागुन २६ र २७ गते ‘लेट्स इन्टरटेमेन्ट, मण्डला थिएटर, थिएटर सेन्टर फर चिल्ड्रेन, थिएटर मल र आसितेज नेपालले पोखरामा मञ्चन गरेर सुरु गरेको हो । 

त्यस्तै, फागुन २९ गते मण्डला नाटकघरमा कार्यशालाका साथ अर्जेन्टिनी क्लाउन शो ‘मान्द्रगोरा सर्को’ प्रदर्शन गरेर काठमाडौंबाट यात्रा सुरु गरेको थियो । त्यसैगरी फागुन ३० र चैत १ गते ललितपुर र भक्तपुरका विभिन्न स्कुलमा सो नाटक प्रदर्शन गरिएको थियो । 

विश्व यात्रामा रहेका अर्जेन्टिनी समूहलाई नेपाल यात्रा गराउने क्रममा मंगलबार (आज) मोरङको बेलबारी र  विराटनगरस्थित गुरुकुलमा प्रदर्शन गरेपश्चात नेपाल नाट्य यात्रा समापन हुनेछ । 

विश्व नाट्य यात्राको क्रममा नेपाल आइपुगेको शब्दविहिन अर्जेन्टिनी नाटक ‘मान्द्रगोरा सर्को’ ‘एक्रोबेटिक्स’ र सकर्सको कला मिसिएको ‘क्लाउन’ प्रस्तुतीमा कलाकारद्वय जन क्रुज र मारियना तथा प्राविधिक एन्डी रिमा सहभागी छन् ।

विगत १५ वर्षदेखि विभिन्न देशका २० भन्दा बढी नाट्य महोत्सवमा प्रदर्शन गरिएको यस नाटकलाई विश्वभर प्रदर्शन गर्न आठ वर्षदेखि विश्व नाट्य यात्रामा रहेको आसितेज नेपालका अध्यक्ष दिपर्सन जंग राणाले बताए ।

‘थिएटर सेन्टर फर चिल्ड्रेन’ र ‘थिएटर मल’ले बालबालिकालाई आगामी चैत १५ गतेबाट १५ दिने अभिनय कार्यशाला सुरु गर्ने कला निर्देशक केदार श्रेष्ठले जानकारी दिएका छन् ।

तस्वीर सौजन्य : थेटर मल काठमाडौं

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा