बुधबार, २६ मङ्सिर, २०७५ Wednesday, 12 December, 2018

रातो मछिन्द्रनाथको रथ मङ्सिर २६ मा पाटनमा

रातो मछिन्द्रनाथको रथलाई यही मङ्सिर २६ गते पाटन ल्याइने भएको छ ।
फाइल फोटो / वेब

ललितपुर, १८ मङ्सिर । रातो मछिन्द्रनाथको रथलाई यही मङ्सिर २६ गते पाटन ल्याइने भएको छ । गत बिहीबार मछिन्द्रनाथका ज्योतिष खलकले हेरेको साइतअनुसार बुङ्मतिमा रहेका देवता पाटन ल्याउने साइत जुरेको हो । 

ज्योतिषले निकालेका साइतका आधारमा मिती तय भएको गुठी संस्थान ललितपुर शाखाले जनाएको छ । स्नान पर्व(नुहाउने पर्व), यचिक त्याग(पवित्र पार्ने काम), चा पूजा(माटो पूजा) र पीठ पूजा(पछाडिको पूजा) को साइत ज्योतिषले निकालेका हुन् । देवता पाटन ल्याएपछि माघ ३ गते स्नान पर्व, माघ ११ गते यचिक त्यगु, माघ २९ गते चा पूजाको साइत निस्केको छ । 

फागुनको १८ गते पीठ पूजाको साइत निस्केको छ । शाखाका प्रमुख शैलेन्द्र पौडेलले भने, “सबै सर्वसञ्चालनका लागि हामीले आवश्यक तयारी शुरु गरिसकेको छौं ।” ज्योतिष कीर्ति्किरण जोशी र पूर्ण मङ्गल जोशीले मङ्गलवजारस्थित सोह्रखुट्टे पाटीमा बसेर साइत हेरेका हुन् । साइत हेर्ने परम्परामा भने धेरै परिवर्तन आइसकेको ज्योतिष दैवज्ञ कीर्तिमदन जोशीले बताए । 

सोह्रखुट्टेपाटीमा हिरण्यवर्ण महाविहारका ३२ जना पूजारी पुग्थे । विस्तारै १६ हुँदै अहिले एकजना पनि पूजारी त्यहाँ आउँदैनन् । पहिले साइत हेर्न चार ज्योतिष हेर्नुपर्‍थ्यो । वाचक, लेखक, स्रोता र दर्शक गरेर गुठी संस्थानमा चार ज्योतिषको दरबन्दी छ । नयाँ नियुक्ति नगर्दा वषौँंदेखि दुई ज्योतिषले मछिन्द्रनाथको साइत हेर्दै आएका छन् । 

ज्योतिष जोशीले भने, “महत्व नबुझ्दा जात्राका कतिपय कुरा खुम्चिदै छ ।”साइत हेर्नका लागि बिहीबार शुभ मानिन्छ । महीनाको हिसाबले पनि मछिन्द्रनाथको कुनै पनि काम पुस महीनामा गर्न शुभ मानिदैन । त्यसैले, अधिकांश वर्षमा मङ्सिर महीनामा नै साइत हेरिसक्ने गरिएको छ । 

उपत्याकाको सबैभन्दा लामो जात्राका रुपमा रहेको रातो मछिन्द्रनाथको जात्राको अवधि झण्डै छ महीना हुन्छ । बुङ्मतिमा केही पर्व भए पनि पाटनमा ल्याएपछि नै रातो मछिन्द्रनाथको जात्रा शुरु भएको मानिन्छ । मछिन्द्रनाथको विभिन्न पूजाविधिका लागि ३१ पानेजु हुन्छन् । उनीहरुले विधिपूर्वक पूजा गरेर देवता पाटनमा ल्याउँछन् । पानेजुहरु पालैपालो देवता बोक्छन् । पौडेलले भने, “एक वर्ष एकजना पानेजुको पालो परेपछि अर्काे वर्षमा अर्कैको पालो हुन्छ ।” 

बुङ्गमतिको मुख्य बाटोबाट नै देवतालाई खटमा बोकेर पाटन ल्याइन्छ । हरेक बाह्रवर्षमा हुने जात्रामा भने पुरानो बाटो (जुन बाटो अहिले चलनचल्तीमा छैन) बाटै ल्याउने गरिएको छ । पानेजु सङ्घको नियमअनुसार नै उनीहरुले मन्दिरमा पालो बस्ने, देवता बोक्नेलगायतका काम पालो गर्छन् । मछिन्द्रनाथलाई पाटन ल्याउनका लागि विभिन्न खालको तयारी गरिनछ । देवताको आवरण फेर्ने, शृङ्गार गर्नेलगायतका काम हुन्छ । त्यही दिन बिहान कर्ता, जजमान, पानेजु मिलेर मछिन्द्रनाथको विधिपूर्कक पूजा गर्छन् । 

मछिन्द्रनाथको जात्राका लागि दुई पटक साइत हेरिन्छ । पहिलो पटक बङ्ंमतिमा रहेका देवता पाटनमा ल्याउनका लागि र दोस्रो पटक रातो थट्टिटोलमा रहेका देवतालाई जावलाखेल लैजान साइत हेरिन्छ । पहिले चार ज्योतिष हुँदासम्म चार कुनामा बसेर साइत हेर्ने गरेका थिए । पुल्चोकबाट रथयात्राको शुरु गर्दा पनि साइत हेरिन्छ । त्यतिबेला सोह्रखुट्टे पाटीमा नभएर ज्योतिषले घरमा नै बसेर साइत हेर्छन् । प्रमुख पौडेलले भने, “हामीले यहाँबाट पत्र दिएपछि ज्योतिषले घरमा बसेर नै साइत हेरेर हामीलाई जानकारी दिन्छन् ।” 

वर्षेनी आउने जात्राले पाटनवासीमा हर्ष मात्रै ल्याउँदैन एकताको भावनासमेत ल्याउने गरेको छ । जात्राका अवधिमा विभिन्न जातले गर्ने फरक/फरक काम तोकिएको छ । एउटा जातको सहयोग नभइ जात्राको तयारी पूरा नहुने भएकाले पनि रातो मछिन्द्रनाथको जात्रा सिङ्गो पाटनवासीलाई जोड्ने जात्रा समेत बन्दै गएको छ । रासस 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा