बुधबार, २६ मङ्सिर, २०७५ Wednesday, 12 December, 2018

जलरङ्गमा चित्र उतार्न ३८ देशका कलाकार काठमाडौंमा

“माया अन्त हुँदैन, मुटुभित्र हुन्छ, विश्वव्यापी हुन्छ ।”
फाइल फोटो / वेब

काठमाडौं, १८ मंसिर । विश्वका ३८ देशका कलाकार जलरङ्गमा चित्र उतार्न काठमाडौंमा भेला भएका छन् । मन्दिरै मन्दिरको शहर भनेर चिनिएको काठमाडौं र सिद्धार्थ गौतमबुद्धको जन्मथलो लुम्बिनीमा बसेर चित्र कोर्ने चाहनाका साथ चित्रकार यहाँ आइपुगेका हुन् । 

अमेरिकाकी चित्रकार मिनी भ्यालेरोले एउटा सुन्दर बगैँचामा युगल जोडीको तस्वीर उतारिन् । माया रङ्गीचङ्गी र विश्वव्यापी उस्तै हुने भएकाले यसैलाई चित्रमा उतारेको बताउँदै भ्यालोरोले भनिन्, “माया अन्त हुँदैन, मुटुभित्र हुन्छ, विश्वव्यापी हुन्छ ।” सोमबारदेखि सुरु भएको अन्तर्राष्ट्रिय जलरङ्ग महोत्सव तथा बृहत् चित्रकला प्रदर्शनीमा दर्शकसामु नै उनले उक्त चित्र बनाएकी थिइन् । कलाकारले चित्र कोर्दै गर्दा आगन्तुकले चाख लगाएर हेरेका थिए । 

स्पेन घुम्न गएका बेला भारतका चित्रकार अमित कपुरको मस्तिष्कमा एउटा दृश्य कैद भयो । महोत्सवमा त्यही दृश्यलाई जलरङ्गले रङ्ग्याउँदै उनले क्यानभासमा राखे । “कलाको जात, रङ्ग केही हुँदैन,” कपुरले भने, “कलाले विश्वलाई एकीकृत गर्न मद्दत गर्छ त्यसका लागि महोत्सव महत्वपूर्ण अवसर हो ।” 

दोस्रो पटक नेपाल आएका बङ्गलादेशका मोहम्मद कौसर हुसेनले आफू जन्मेको गाउँ चित्रमा उतारे । नेपाल आएर संस्कृति साटासाट गर्ने अवसर मिलेकामा खुशी भएका हुसेनलाई कार्यक्रमबाट नेपालको कला पर्यटनमा टेवा पुग्ने विश्वास छ । उनीहरुसँगै मङ्गोलियाका मुङ्कु गुगुले पनि नजिकै बसेको चिलसहितको एक स्थानीयवासीको चित्र दुरुस्त बनाए । यसरी चित्र कोर्न अष्ट्रेलिया, अल्वानीया, बेलायत, चीन, जर्मनीलगायत देशका कलाकारसमेत आएका छन् । उनीहरुलाई नेपाली कलाकारले साथ दिएका छन् । 

जलरङ्ग पारदर्शी हुन्छ । तेल, रङ्ग र एक्रेलिकभन्दा निक्कै भिन्दै । पानीरङ्गबाट दुरुस्त दृश्य उतार्नुलाई कलाकारको क्षमता मानिन्छ । चित्रकार विनोदकुमार गुप्ता भन्छन्, “जलरङ्ग चलाउन र रङ्गको मात्रा मिलाउन समय लाग्छ, दिमागभित्रै पेन्टिङ सेट भयो भने मात्रै सकिन्छ ।” त्यसैले यस्ता महोत्सवले सिक्ने र सिकाउने अवसर दिने उनको भनाइ छ । जहिले पनि यो प्रकृतिको नजीक हुने भएकाले नयाँ कलाकारलाई राखेर प्रकृतिको माझमा चित्र कोर्ने काम हुन्छ । त्यही भएर गुप्ताले २०७२ मा गएको भूकम्पअघि स्वयम्भूबाट देखिएको धरहरासहितको काठमाडौं उपत्यकाको दृश्य चित्रमा देखाए । 

अहिले जति पनि कलाकार छन् उनीहरुले पहिलो जलरङ्गबाटै सिक्ने भएकाले पनि यसको छुट्टै महत्व छ भन्छन् अग्रज कलाकार केके कर्माचार्य । जानिसकेपछि जलरङ्ग छाडेर अन्य रङ्गमा रमाउने गरेकाले महत्वपूर्ण भएर पनि यसको महत्व घटेको उनको भनाइ छ । नेपाली चित्रकार डि बरालले विश्व संरक्षण सूचीमा रहेको चितवन राष्ट्रिय निकुञ्जको दृश्य चित्रमा उतारेका छन् । कलाकार केशवराज खनालले चन्द्रागिरिबाट देखिएको काठमाडौं र डिराम पाल्पालीले बानियाटार कोरे । सुरेश स्याङतानले धार्मिकस्थल पशुपति क्षेत्रको दृश्य कैद गरे । 

यस्तै विभिन्न देशका २७० भन्दा बढी चित्रको प्रदर्शनी अहिले नेपाल कला परिषद्मा चलिरहेको छ । उनीहरुले कोरेका चित्र विभिन्न स्कूलका विद्यार्थीले चाखपूर्वक अवलोकन गर्ने गरेका छन् । कतै संस्कृति, कतै धार्मिक क्षेत्र, कतै मायाप्रेम त कतै प्रकृति कलाकारका चित्रमा उनिएका छन् । विश्वका फरक–फरक संस्कृति र फरक–फरक विषयका दृश्य आफैँमा सुन्दरमात्रै नभएर सम्बन्धको सेतु बन्न पुगेको छ । कला समिक्षक रमेक खनाल कलाकार हरेक देशको राजदूत भएको बताउछन् । “फरक–फरक देशका विषय एकै ठाउँमा बसेर हेर्न र बुझ्न पाउनु अनुपम संयोग हो,” उनले भने । सम्बन्धको विकास र पर्यटन प्रवद्र्धनमा यस्ता कार्यक्रम फलदायी हुने उनको विश्वास छ । नेपाल भ्रमण वर्ष सन् २०२० आउनै लागेका बेला आएका विदेशी कलाकारमार्फत नेपालको संस्कृति, कलाकृति र पर्यटकीय क्षेत्र चित्रमार्फत विश्वभरि पुग्ने भएकाले भ्रमण वर्षका लागि कार्यक्रम सहयोगी हुने विश्वास गरिएको छ । रासस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा