बुधबार, २८ कार्तिक, २०७५ Wednesday, 14 November, 2018

सार्वजनिक पुस्तकालयमा रमाउने विद्यार्थीको जमात

‘यहाँ आएपछि सबैजना पढिरहेका हुन्छन्, वातावरण पनि शान्त हुन्छ, अनि मलार्ई पनि मन परेको पुस्तक छानेर पढुँ–पढुँ लाग्छ ।’
भृकुटीमण्डपस्थित सार्वजनिक पुस्तकालय । फोटो : सुम्निमा काफ्ले/सञ्चारकर्मी

काठमाडौं, १९ कात्तिक । काठमाडौं भृकुटीमण्डपस्थित सार्वजनिक पुस्तकालयमा होहल्ला छैन् । शान्त वातावरणमा भवनको ढोकै बाहिर कलेज पोशाकमै आएका विद्यार्थीहरु पत्रिका पढिरहेका छन् ।

सुरक्षागार्ड बहिनीले पुस्तकालयमा प्रवेश गर्ने विधार्थीलाई हाजिरी गर्न अनुरोध गर्दै भनिन्, ‘यहाँ हाजिरी गरेरमात्रै भित्र छिर्नुहोला । झोला मिलाएर यो र्याकमा राख्नुहोला ।’ विद्यार्थीहरु उनले भनेवमोजिम पुस्तकालयमा प्रवेश गरे ।

Public-Library-kathmandu-sumnima-kafle

गोगंबु बस्ने चितवनका २२ वर्षीय दिवस उप्रेती त्रिचन्द्र क्याम्पसमा विज्ञान संकायका स्नातक अध्ययनरत् विधार्थी हुन । क्याम्पसको विहानको कक्षा सकिएपछि भृकुटीमण्डपको सार्वजनिक पुस्तकालयमा नियमित अध्यनका लागी आउने उनी आउँछन् ।

उनले साहित्य र अन्य विधाका पुस्तकहरु पढ्न रुचि भएकोले दिनहुँ दुई घण्टा पुस्तकालयमा बिताएर घर फर्कने गरेको बताए । उनी भन्छन्, ‘बिद्यार्थी मान्छे पढ्न चाहेका सबै पुस्तकहरु किन्न सक्दिन, यहाँ सबैखाले मनपरेका र बजारमा भरखरै आएका पुस्तकहरु पाइन्छन् । त्यसैले यहाँ आएर नियमित पढ्ने गर्छु ।’

शान्त पुस्तकालयको टेबुलभरी पुस्तकहरु छरिएका छन् । सबैजनाले आफ्नो मोबाइल टेबलमै राखेका छन् । वातावरण एकदमै शान्त छ । कसैको मोबाइलमा घण्टी बजेका छैनन् । कुर्सीमा बसेका सबै विद्यार्थीको हातमा पुस्तक र पुस्तकमा सबैको एकाग्र ध्यान छ ।

विद्यार्थीहरु अरुलाई हल्ला नहोस् भनेर साथीभाईसँग कतै आँखा र हातको इशारामा कुरा गरिरहेका पनि भेटिन्थे त कतै कापीमा लेखेर कुरा गरिरहेका भेटिन्थे । त्यसो त कतिपय बिद्यार्थी आफ्नो मन परेको पुस्तक खोज्न बिरालोको चालमा यत्रतत्र घुमिरहेको पनि भेटिन्थे ।

Public-Library-kathmandu-sumnima-kafleथापाथली बस्ने गोरखाका २२ वषीय सरोज शर्मा रत्नराज्यलक्ष्मी क्याम्पसका पत्रकारीता र साहित्यका विधार्थी हुन् । प्रायजसो शनिबारको दिन यसै पुस्तकालयमा पढ्न आउने गर्छन् । घरमा पढ्न अल्छी लाग्ने, पढ्ने वातावरण नहुने र एकाग्र हुन नसक्ने कारणले गर्दा उनी शान्त वातावरणले पुस्कालय आउन मन लागको बताउँछन् । उनी भन्छन् ‘यहाँ आएपछि सबैजना पढिरहेका हुन्छन्, वातावरण पनि शान्त हुन्छ, अनि मलार्ई पनि मन परेको पुस्तक छानेर पढुँ–पढुँ लाग्छ ।’

त्यस्तै, बनस्थलीकी रविना घिमिरे कानुन र राजनितिकशास्त्रकी विद्यार्थी हुन् । उनी नियमित सार्वजनिक पुस्तकालय आउन थालेको दुई महिना भएको बताउँछिन् । विशेष गरी कानुन र राजनीतिकशास्त्रसम्वन्धि पुस्तक पढ्न चाहाने घिमिरे कहिलेकाँही अन्य साहित्यका पुस्तकहरु पढेर मुडफ्रेस गर्ने गरेको बताउँछिन् ।

पछिल्लो समय प्रविधिको बढ्दो प्रयोगका कारण पुस्तकालयमा गएर अध्ययन गर्ने पाठकको संख्या घटिरहेको समयमा शहरका युवा–युवतीमा सार्वजनिक पुस्तकालयप्रतिको मोह दिन प्रतिदिन बढिरहेको छ । वि.सं.२०६० सालमा स्थापना भएको यस पुस्तकालमा दिनमा १५० जना भन्दा माथि नियमित अध्ययन गर्न आउने गरेको पुस्तकालयका कर्मचारी रितेश नेवारले वताए ।

उनका अनुसार यस पुस्तकालयमा अहिले ८० हजार थान भन्दा बढी पुस्तक साथै पत्रपत्रिकाहरू समेत उपलब्ध छन् । कतिपय पुस्तकहरु स्थान अभाबका कारण त्यतिकै थुपारेर राख्न बध्य भएको बताए ।

Public-Library-kathmandu-sumnima-kafle

पुस्तकालयमा विद्याार्थीको रुचीअनुसारका राष्ट्रिय तथा अन्तराष्ट्रिय पुस्तकहरु ल्याइन्छ । विद्यार्थीहरु पुस्तकालयको सदस्य पनि बन्न सक्छन् । सदस्यहरुले आफूले चाहेको पुस्तक फेला नपरे वा नभए पुस्तक माग फारम भरेर मगाउन सकिने व्यवस्था रहेको छ ।

नेवारले भने, ‘अहिले पुस्तकालयमा २ हजार एक सयको हाराहारीमा पाठक सदस्य संख्या छन् । सदस्यताको लागि एक हजार धरौटी राखेर नविकरणको लागि वार्षिक तीन सय रुपैया शुल्क तिर्नुपर्छ । सदस्य विद्यार्थीले १५ दिनका लागि दुईवटासम्म पुस्तक घरमै लगेर अध्ययन गर्न पाउँछन् ।’
 
पुस्तकालय अधिकृत गोविन्द दहाल भन्छन्, ‘पुस्तकालयमा बालकदेखि वृद्धा सबै उमेर समुहका विभिन्न पेशा ब्यवसायसँग सम्वद्ध नागरीकहरुले स्वतन्त्र अध्ययनद्धारा वौद्धिक मनोरन्जन प्राप्त गर्ने एक साझा चौतारी हो ।’

उनले युवा पुस्ता लागुपदार्थ दुर्व्यसनी तथा विभिन्न अपराधिक गतिविधिमा लाग्ने क्रम बढिरहेको बेला युवामा देखिएको पुस्तकालय प्रतिको मोहले समाजमा सकारात्मक भूमिका खेल्न मद्धत गर्ने बताए । फुर्सदको समय ब्यर्थ फाल्नुभन्दा विभिन्न विषयसँग सम्बन्धित ज्ञान लिएर ब्यक्तित्व विकास साथै चेतनाको स्तर वृद्धि हुने उनको भनाई छ । 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा