बुधबार, २८ कार्तिक, २०७५ Wednesday, 14 November, 2018

भरोसाको केन्द्र बन्दै आयुर्वेद औषधालय

“म नसाको समस्या भएपछि यहाँ आउन थालेकी हुँ । पाँच–सात दिन भयो उपचार गराउन थालेको । निक्कै आराम भएको छ ।”
झापाको वाह्रदशी गाउँपालिकास्थित चकचकीमा सञ्चालित चकचकी आयुर्वेद औषधालयमा स्वास्थ्य परीक्षण गराउँदै महिला । तस्वीर : सुरेन्द्र भण्डारी, सुरुङ्गा(झापा), रासस

सुरुङ्गा, १९ कात्तिक । “देब्रे स्तनदेखि काखीसम्म नै एक पाटो दुख्छ, सुने र जाने जति सबै अस्पताल पुगिसकें, रोग निको भएन” बाह्रदशी गाउँपालिका–५ की ४३ वर्षीया हरिमाया थापाले आफ्नो शरीरको दुखेको अङ्ग देखाउँदै भनिन्, “डाक्टरसाब मलाई जसरी पनि निको पारिदिनुहोस् ।” 

चिसोमा बिहान बेलुका खप्नै नसक्ने गरी सिङ्गै पातै दुख्ने उनको थप समस्या रहेछ । 

सोही गाउँपालिका–५ निवासी गुदु राजवंशीको पनि समस्या उस्तै छ । उनी पनि घुँडाको जोर्नी दुखेर हिँड्डुल गर्नै समस्या भएपछि चकचकी आयुर्वेद औषधालयमा पुगिन् । आयुर्वेद औषधालयका कविराज निरीक्षक अनिल ठाकुरले उनीहरु दुवैको स्वाथ्य जाँच गर्दै औषधालयमा रहेको स्वेदन यन्त्रद्वारा स्नेहन स्वेदन गराउन सल्लाह दिए ।

स्वास्थ्य जाँचपछि थापा र राजवंशीलाई औषधि दिँदै नियमित रुपमा स्नेहन स्वेदनका लागि औषधालय आउन अस्पतालकी वैद्य हिमादेवी श्रेष्ठले आग्रह गरिन् ।

चकचकी आयुर्वेद औषधालय आउने थापा र राजवंशी प्रतिनिधि पात्र मात्रै हुन् । ग्रामीण क्षेत्रमा पनि आयुर्वेद औषधालय खुलेपछि उनीहरु जस्ता धेरैले अहिले ग्रामीण क्षेत्रमै निःशुल्क आयुर्वेद उपचार सेवा लिइरहेका छन् ।

यस अघि यो सेवा लिन चकचकीबाट झण्डै ३० किलोमिटर टाढा रहेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र चन्द्रगढी पुग्नुपर्ने यहाँका स्थानीयवासीलाई बाध्यता थियो । 
आयुर्वेद औषधालयमा उपचारका लागि आएकी ३५ वर्षीया डुम्री हेमरम बिहीबार निकै खुशी देखिइन् । उनले भनिन्, “म नसाको समस्या भएपछि यहाँ आउन थालेकी हुँ । पाँच–सात दिन भयो उपचार गराउन थालेको । निक्कै आराम भएको छ ।”

 
“झापासहित काठमाडौंका विभिन्न अस्पतालमा उपचार गराउँदा पनि पेट पोल्ने र घुँडा दुख्ने समस्या निको नभएपछि यहाँ आएकी हुँ,” साबिक चकचकी गाविस निवासी ६१ वर्षीया उर्मिला भट्टराईले भनिन्, “यहाँ आएर सेक्न थालेपछि दुखाइ कम हुँदै गएको छ । बिर्तामोडमा रहेको सेराजिममा धेरै धाएँ । त्यहाँ पनि सेकेरै उपचार गरिन्थ्यो तर त्यो भन्दा यहाँको उपचार गर्ने तरीका धेरै राम्रो रहेछ ।” 

दुई वर्ष अघि स्थापना भएको चकचकी आयुर्वेद औषधालय अहिले त्यस क्षेत्रका धेरै सर्वसाधारणका लागि भरोसाको केन्द्रबिन्दू बनेको छ । यहाँ अहिले उपचारका लागि आउने बिरामीको सङ्ख्या बढेर गएको बाह्रदशी गाउँपालिकाका अध्यक्ष खड्गप्रसाद राजवंशीले बताए । उनले भने, “आयुर्वेद उपचार पद्धतिबाट उपचार गराउनेको सङ्ख्या बढेर गएको छ । वर्षमा आठ लाख रुपैयाँ वजेटको व्यवस्थासमेत गरेको छु ।” 


भद्रपुर नगरपालिकास्थित चन्द्रगढीमा रहेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रसहित जिल्लाका अन्य सात स्थानमा रहेका आयुर्वेद औषधालयमा पञ्चकर्म आयुर्वेद चिकित्सा पद्धतिबाट बिरामीको निःशुल्क उपचार सुरु गरिएपछि आयुर्वेद चिकित्सा पद्धतिबाट उपचार गराउने बिरामीको सङ्ख्या बढेर गएको हो । 

बाथ, नसा, हाडजोर्नीको दुखाइ, अनिद्रा, टाउको दुखाइ, कम्मर दुखाइ, मानसिक समस्या भएका बिरामीका लागि पञ्चकर्म आयुर्वेद चिकित्सा पद्धति उपयोगी साबित भएसँगै आयुर्वेद औषधालयमा उपचार गराउने बिरामीको सङ्ख्या दिन प्रतिदिन बढेर गएको चकचकी आयुर्वेद औषधालयका कविराज निरीक्षक ठाकुरले बताए ।

पञ्चकर्म चिकित्सा अनुसार स्नेहनअन्तर्गत रोगनाशक अश्वगन्धा, तिल, ब्राम्ही तेलको सहायताले बिरामीलाई मालिस गरेर शरीरलाई सुगठित पारी पीडाबाट मुक्ति दिलाउने र स्फूर्ति जगाउने कार्य यहाँ गरिँदै आइएको छ । उनले भने, “रोगको अवस्थाका आधारमा तेलको छनोट गरी यो पद्धतिबाट बिरामीलाई उपचार गर्न थालेपछि उपचार गराउनेको सङ्ख्या बढेर गएको हो ।” 

स्नेहनपछि रोगीलाई नाडी स्वेदनअन्र्तगत रबर पाइपको प्रयोग गरी औषधिको द्रव्ययुक्त वाष्पलाई शरीरका विभिन्न अङ्गमा पु¥याउने गरिन्छ । उहाँले भन्नुभयो – “औषध द्रव्य र जललाई आगोमा उमालेपछि निस्कने वाष्पलाई स्वेदन यन्त्र ९वाष्प बाकस० मा बिरामीको टाउको बाहिर राख्न लगाई मुनिबाट प्रवेश गराएर बिरामीको उपचार गरिन्छ ।” 

चालु आर्थिक वर्षसँगै औषधालयले स्नेहन स्वेदन उपचार पद्धतिबाट बिरामीको उपचार गर्न सुरु गरेपछि अहिले यस औषधालयमा मात्रै दैनिक न्यूनतम २० देखि ३० जनाले नियमित सेवा लिँदै आएको उनको भनाइ छ । यस अघि आयुर्वेद उपचार पद्धतिबाट उपचार गराउने बिरामीको सङ्ख्या ज्यादै न्यून थियो ।
 
स्वेदन यन्त्रको सहायताले उपचार गराउँदा जोर्नीको समस्यासँगै पक्षाघात, दम, खोकी, मुख बाङ्गिने, गर्धन कडा हुने, ढाडको दुखाइ, शारीरिक तथा मानसिक थकान हटेर जाने उनको भनाइ छ । आयुर्वेद औषधालयमा योसँगै शिरोवस्ती, ग्रीवावस्ती, कटीवस्ती, जानवस्ती, चक्षुवस्तीलगायत उपचार पद्धतिबाट समेत बिरामीको उपचार गरिँदै आइएको कविराज ठाकुरले बताए ।
 
यता, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र चन्द्रगढीमा स्नेहन स्वेदनसहित दूध पिलाउनुपर्ने आमाका लागि दुग्धबद्र्धक कार्यक्रम, योग, पञ्चकर्म, ज्येष्ठ नागरिकलाई जीर्ण रोगसम्बन्धी औषधि वितरण तथा श्वासप्रश्वास, ज्वरो, चर्मरोग, ग्यास्ट्रिक र पेटसम्बन्धी समस्या भएका बिरामीको निःशुल्क उपचार हुँदैआएको स्वास्थ्य केन्द्रका प्रमुख डा केनिन राईले बताए । उनका अनुसार आर्थिक वर्ष २०७४÷७५ मा ४१ हजार ४५ जनाले सेवा लिएका थिए । 

यहाँ उपचार गराउन आउने महिलाको सङ्ख्या बढी रहेको पाइएको छ । औषधालयका कविराज ठाकुरका अनुसार यहाँ उपचारार्थ आउनेहरुमा ८० प्रतिशत महिला र २० प्रतिशत पुरुष छन् । औषधालयमा दैनिक आउने बिरामीहरुमा १५ देखि २० जना महिला नै हुन्छन् । उनले भने, “महिलामा पेटसम्बन्धी र नसासम्बन्धी समस्या बढी देखिने भएकाले पनि उपचार गराउन आउनेमा महिला बढी रहेको हुनसक्छ ।” 


आयुर्वेद चिकित्सा पद्धतिबाट रोग निको हुन्छ र उपचार गर्ने विशेषज्ञ डाक्टर नै हुन्छन् भन्ने थाहा नभएकै कारण धेरै सर्वसाधारण यस पद्धतिप्रति भर पर्न नसकेको चिकित्सकको भनाइ छ ।

आयुर्वेद उपचारका नाममा नाङ्ग्लामा जडीबुटी राखेर बेच्ने, जादु र चटक देखाउँदै आयुर्वेद औषधि थमाइदिने चलनले गर्दा पनि धेरैले विश्वास नगरेको डा देवीकुमार गौतमले बताए । उनले भने, “आयुर्वेद चिकित्सा पद्धति मातृ विज्ञान हो । यही विज्ञानका आधारमा आधुनिक चिकित्सा पद्धतिको विकास भएको हो ।” उनका अनुसार आयुर्वेद उपचार पद्धतिमा असम्भव छँदै छैन तर, बिरामी अन्तिम अवस्थामा पुगेपछि र रोग निकै छिप्पिसकेपछि मात्रै आउँदा उपचार जटिल हुन्छ । डा गौतमले भने,“समयमै स्वास्थ्य जाँच गरेर उपचार गर्न पाउने हो भने जस्तोसुकै रोगको पनि निदान गर्न समस्या हुँदैन ।” 

“पछिल्लो समय खानपान र रहनसहनका कारण अधिकाँश मानिस कुनै न कुनै रोगबाट ग्रस्त छन्” उनले भने, “आफूमा कुनै रोग छ कि छैन भनेर समय समयमा स्वास्थ्य जाँच गराउन म सबैलाई आग्रह गर्छु ।” रासस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा