सोमबार, २ पौष, २०७५ Monday, 17 December, 2018

सरकार, सम्भव छ समृद्ध नेपाल, सुखी नेपाली हाम्रै पालामा सुध्रिएर त हेर !

जनताले जहिले पनि आफ्नो र देशको भलाइको लागि विकल्प खोज्ने गर्दछन्

कुनै पनि देशको संवृद्धि र सुखी जनता त्यो देशको सफल सक्षम, दुरदर्शी विकास संवृद्धि र सम्पन्नताको मार्ग चित्र दिन सक्ने नेताको सवल नेतृत्वमा रहेको सुदृढ संगठित र शसक्त राजनैतिक दल र त्यसका अनुशासित नैतिकवान, सकारात्मक, सहयोगी र संयम कार्यकर्ताहरु जो गरिखाने जनताहरुको पक्षमा सँधै वकालत गरोस् त्यस्तो वातावरण श्रृजना भएमा संवृद्ध नेपाल र खुसी नेपालीको परिकल्पना र संवृद्ध नेपाल र खुसी नेपाली नारालाई कार्यन्वयन गर्न सकिन्छ ।

जनताले जहिले पनि आफ्नो र देशको भलाइको लागि विकल्प खोज्ने गर्दछन् र राजनीतिमा जहिले पनि यो नभए त्यो, त्यो नभए यो भन्ने विकल्पको खोजि भइरहन्छ । जनता भनेको जनार्दन हुन् । कसैले जनताको विपक्षमा जान सक्दैन राजनीतिमा शासन प्रणाली कहिले स्थाई हुदैन । यो कुरा संसारका थुप्रै शक्तिशाली शासकहरु जनविद्रोहबाट ढलेका उदाहरणहरु इतिहासमा थुप्रै पाउन सक्छौँ । नेपालमै पनि विभिन्न कालखण्डमा सत्ताहरु प्रिवर्तन नभएका होइनन् ।

राणा शासनको विकल्प प्रजातन्त्र, प्रजातन्त्रको विकल्प पंञ्चायती व्यवस्था, पंचायती व्यवस्थाको विकल्प वहुदलीय व्यवस्था संसदीय गणतान्त्रिक वयवस्था आदि , जब जब जनताहरु निराश, असन्तुष्ट अधैर्य अपहेलित हुन्छन् तब तब जनताहरु विकल्पको खोजी गर्न पुग्छन् र वातावरणको मलजल हुन थाल्दछ । पञ्चायती व्यवस्थाको बर्वर दमन अन्याय अत्याचार, विभेद असामाजिकिकरण, एकलौटी शासन, असमावेशी, अमानवीय, अराजनीतिक गतिविधि र अन्यायपूर्ण व्यवहार लुटपाट, वलात्कार, हत्या हिंसाको चरम दमन शोषण अन्याय अत्याचारले माओवादी जनयुद्ध निम्त्यायो ।

हजारौँ नेपाली जनताको रगत बग्यो । कुनै लेखाजोखा छैन सपना बाँडियो । माओवादी शान्ति प्रकृयामा आयो । सबैभन्दा ठूलो पार्टी स्थापित भयो । नेपाली जनताले ठूलो भरोसा राखेका थिए तर नेपाली जनताको सपना तुषारापात भयो । जनताले माओवादीलाई दोस्रो पार्टी बनाएर चखाइदिए । पुरानै राजनीतिक शक्ति नेपाली कांग्रेसलाई पहिलो पार्टी बनाइदिए तर नेपाली कांग्रेस आफ्नै आन्तरिक किचलोभित्र गुजुल्टिरह्यो, देश र जनताको लागि केही गर्न सकेन । नेपाली जनताले विकल्पको खोजि गरिरहेको र पहिलो दलबाट तेस्रो दलमा झरेको माओवादी नेता प्रचण्डलाई आफ्नै दलका नेता कार्यकर्ताले पत्याउन छोडिसकेपछि झन कमजोर बन्दै गएको र स्थानीय निर्वाचनमा नराम्रो सित हार वेहोर्नु परेको पीडालाई खप्न नसकि रहेको अवस्थामा कुकुर विरालोका जस्तो सम्बन्ध रहेको नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच वाम गठन गरी प्रतिनिधि सभाका निर्वाचन लड्ने र निर्वाचन लगतै पार्टी एकिकरण गर्ने भन्ने निर्णयमा दुई तिहाइ भन्दा वढि विजय हाँसिल गर्न सफल भए ।

नेपाली जनताले वामगठबन्धनप्रति ठूलो आशा भरोसा राखेका थिए र छन् पनि तर दुई तिहाई वहुमत प्राप्त नेपाल कम्यूनिस्ट पार्टी (नेकपा) र यसको सरकारले गर्ने गरेको अलोकप्रिय क्रियाकलापले संघीय गणतन्त्र नेपालको आयू धरापमा परेको छ भन्दा कुनै अत्युक्ति नहोला । वर्तमान वहुमत प्राप्त सरकार र दलको अकर्मन्यताको कारणले आर्यघाटमा पुगिसकेको राजतन्त्रले शिर ठाडो पार्न खोजिरहेको र वातावरण सृजना गर्दैछ ।

नेपाली जनताहरुपनि गणतन्त्र भन्दा राजतन्त्र नै ठीक होकि  भन्ने भ्रममा पनि पर्नथालिसकेका छन् । निराशा , असन्तुष्ट र असंयम मानसिकताले निमिस मै जे पनि निर्णय गर्न पुग्दछन् । वर्तमान समयमा सम्माननीय प्रधानमन्त्री के.पी. शर्मा ओली र पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोँचे जस्तो परिस्थिति आफ्नो अनुकुलमा छैन भन्ने कुरो वेलैमा नबुझेमा संघीय गणतन्त्र नेपालको आयू धेरै समय सम्म लम्बिन सक्ला जस्तो लाग्दैन ।

हिजो राजतन्त्रका विपक्षमा उभिएका जनताहरु आज पक्षमा वकालत गर्न थालिसकेका छन् भन्ने कुरा हेक्का रहोस । बेलैमा बुद्धि पुर्याएमा संवृद्ध नेपाल र सुखी नेपाली हुन असम्भव छैन तर बेलैमा सचेत नहुने हो भने नारा नारामै सीमित हुनेछ ।

 

यसरी अलोकप्रिय बन्दै दुई तिहाइको सरकार


१.  चुनावताका वृद्ध भत्ता ५ हजार पुर्याउने भनि गरेको बाचालाई दुई तिहाई बहुमत प्राप्त सरकारले बजेटमा नपार्नु र पुरक बजेट मार्फत वृद्ध भत्ता बढाउने आश्वासनलाई पनि तुषारापात गर्नलाई अधिकांस वृद्ध वृद्धाहरु रुष्ट भएका छन् । जसले गर्दा वर्तमान सरकार प्रति भरोसा गर्ने आधार भत्कियो । वृद्धहरु निरपेक्ष कुरा बुझ्दैनन् । स्वास्थ बीमा भन्ने कुरा बृद्धहरु बुझ्दैनन् । मासिक भत्ताामा वृद्धि गरिदिएका भए धेरै खुसी हुन्थे ।
२. शैक्षिक सत्रको शुरुवातमा भर्ना अभियान अन्तर्गत विद्यालय बाहिर रहेका विदार्थीहरुलाई अभिभावकत्व ग्रहन गरी बिद्यालय पुर्याइने कार्य सह्रानीय थियो तर भर्ना गराइसकेपछि वेवास्था गरी वालवालकिाहरुको अवस्था पहिलेकै रुपमा पर्किनुले पनि सरकारको उपस्थितिको महसुस गराउन सकेन ।
३.  यातायातमा सिन्डिकेट (एकाधिकार) तोडियो भनेर सरकारले हुइया फैलायो तर सिन्डिकेट जारी नै रह्यो जसले गर्दा जनताहरु रुष्ट छन् ।
४. ३३ किलो सुन काण्डमा भुरा माछा मात्र हैन ठूलै माछा पनि जालमा फसिसेको छ भनेर गफ लगाइयो तर ठूला माछा पक्रन त के सानो माछा सहित सुननै गायब भयो । गर्न नसक्ने कामलाई सक्छु भनेर भन्दै नभन्नू राम्रो ।
५. न्यायलय पुलिस प्रशासन सुरक्षा निकायहरु र कर्मचारीहरु आफ्नो अनुकुलको राख्ने प्रयत्न हुनु । जुनसुकै दलको सरकारले आफ्नो अनुकुलमै राख्न खोज्छ । तैपनि हिजो आफैले अयोग्य ठहराएकोलाई नै पुःन संवेदनशील अंगमा नियुक्ति दिने जस्ता कार्यले जनताहरु रुष्ट छन् ।
६. काम कारवाही र नियम कानून फितलो ढंगले लागु गर्नुले पनि जनता रुष्ट छन् । घुसखोरी काला बजारी, तस्करी कमिसन खोरहत्याराहरु प्रति सरकार नरम देखिनु, कडा कारवाही नगर्नु दोसीहरुलाई सजाय नदिनु उन्मुक्ति दिनु आदि कारणले जनताहरु निरास छन् ।
७. तिन चार महिना हुन लाग्दा सम्म कन्चनपुरको १३ वर्षिया निर्मला पन्तलाई वलत्कार गरी हत्या गर्ने व्यक्तिलाई कारवाहीको दायरामा ल्याउन नसक्दा बलत्कारीलाई फाँसीको सजाय दिने कानून नबनाइनु आदि कारणले बलत्कारीहरु झन प्रोत्साहित भएका छन् । प्रतिपक्षहरुले समेत बलात्कार, हत्या हिंसा, लुटपाट कालाबजारी, घुसखोरी आदि वृद्धि भइरहोस् भन्ने चाहना राखी रहन्छन् । यदि कडा कावाही गर्न फाँसी दिने सजायको बन्दोबस्त गर्ने हो भने हत्या, हिंसा, बलत्कार स्वतः घट्छ । अपराधीहरु हतोत्साहित हुन्छन् । उचित दण्ड सजायको अभावमा अपराधीहरु दिनानुदिन प्रोत्साहित भई हत्या हिंसा अपहरण र बलात्कार जस्ता जघन्य अपराधहरु वृद्धि भइरहेको छ । कमजोर प्रशासन र कानूनको फाइदा अपराधीहरुले उठाइरहेका छन् ।
८. दसैको मुखमा यातायात व्यवसायीहरुको आन्दोलन अगाडि सरकार झुकेर यातायातको भाडामा वृद्धि गर्नु साथै अति आवश्यक खाद्यान्नहरुको मूल्य वृृद्धि गर्नुको कारणले पनि जनताहरु रुष्ट बनेका छन् । विशेष परिस्थितिमा जनताहरु सहन्छन् तर अनावश्यक मूल्य वृद्धिको जनता घोर विरोध गर्छन् । ०७२ सालको भूकम्प र नाका बन्दी समयमा अधिकांस नेपाली जनताहरु दसै मान्न घर गएनन् । यसपाली पनि जनताहरु दसै मान्न घर नजान सक्छन तर मूल्य वृद्धिबाट आक्रान्त जनता असन्तुष्टी कुन प्रक्रियावाट पोख्छन् समयले बताउने नै छ ।
९. राष्ट्र गतिशिल हुने भनेको कर्मचारी प्रशासन सुरक्षा निकाय, पुलिस प्रशासन, सेना, न्यायलय शिक्षक कर्मचारी आदि हुन् । यिनीहरुको सहयोग बिना मुलुकमा शान्ति सुव्यवस्था अमनचयन कायम हुन सक्दैन यस्ता संवेदनशील अंगमा सुविधा तलब वृद्धि तथा सेवा सुविधा वृद्धि गर्नुको सट्टा खाइपाइ आएको तलब भत्ता विगत तिन चार महिना देखि पाइरहेका छैनन् । उनीहरुको घर परिवार चल्नु पर्दैन ? के उनीहरु भोको पेटले सेवा गर्न सक्छन् ?
१०. पार्टी सत्ता र शासकीय सत्तामा खस आर्य ब्राहमण बाहेक अन्य आदिवासी जनजाति महिला मधेसी, मुस्लिम आदिलाई बन्देज लागाई एकल जातिय वर्चस्व कायम गर्नाले पनि विभिन्न समुदायका जनताहरु यो सरकारप्रति रुष्ट छन् । जननिर्वाचित पदाधिकारी वा मन्त्रीहरु खस आर्य ब्राहमण समुदाय बाहेक अन्य समुदायबाट छन् भने पनि विभिन्न षडयन्त्र गरी पद छोड्न लगाउने वातावरण सृजना गरी सो पदमा ब्राहमण क्षेत्रीलाई नै स्थापित गराउने गरेको उदाहरण त कानून मन्त्री सेरबहादुर तामाङ काण्ड पर्याप्त हुन् ।
११. शैक्षिक वेरोजगार समस्यालाई सरकारले न्यूनिकरण गर्ने प्रयत्न गरेको छैन । वेरोजगार समस्या समाधान गर्न सरकारले देसभित्रै कलकारखाना, उद्योग व्यापार साथै आय मुलक व्यवसायको वन्दोवस्त गर्न सकोको छैन । फलस्वरुप वर्षेनी युवाहरु विदेसिनु पर्ने वाध्यता उत्पन्न भएको छ । जो कोही पनि विदेसमा आफ्नो रगत पसीना वगाउन चाहदैनन् । आफ्नै देसमा रगत पसीना बगाएर आफ्नै देसको सेवा गर्न चाहन्छन् । युवा श्रम शक्तिलाई बिदेसिनु वा रोक्ने ठोस कार्य योजना ल्याई व्यवहारमा उतार्ने दायित्व सरकारको हो ।
१२. जनताको आयश्रोत अत्यन्त न्यून छ तर सरकारले तीनै तहमा थेक्नै नसक्ने गरी अवैज्ञानिक ढंगले मनपरी विभिन्न वस्तुमा कर जवर्जस्ती लादेको छ । जनताहरु यसबाट पटक्कै खुसी छैनन् ।
१३. विदेस भ्रमणको नाममा जनताको करबाट संकलन भएको राजस्वको ठूलो हिस्सा खर्चेर नेताहरु पटकपटक ठूलो जत्थामा विदेस भ्रमण गर्ने गरेको कुरालाई पनि जनताहरु मन पराउँदैनन् ।
१४. सपना नदेखि विकास हुँदैन त्यो सत्य कुरा हो तर पुरा गर्न नसक्ने सपना जनतालाई बाँढेर जनताहरु खुसी हुदैनन् । सम्माननीय प्रधानमन्त्रीले चुनावताका वाम गठवन्धनको तर्फबाट बाँढेको  सपना हरेक वृद्धाहरुको हातहातमा ५ हजार वृद्धाभत्ता पुर्याइदिने, हरेको घरघरमा ग्याँस पाइप जोडिदिने, पूर्वपश्चिम रेल जोड्ने अन्तराष्ट्रिय स्तरमा नेपाली ध्वजाबाहक पानी जहाज संचालन गर्ने जस्ता मीठा नारा दिएर वामगठवन्धनले दुई तिहाई वहुमत प्राप्त गरेको सरकारले वाचा पूरा गर्न नसक्नु पनि निराश जनताहरु सरकार विरुद्ध लाग्न कम्मर कसिरहेका छन् ।
१५. भारतीय नाकाबन्धीको बेला भारतको विरोध गरे जस्तो अभिनय गरी राष्ट्रवादी नेताको रुपमा चर्चा कमाउन सफल के.पी. शर्मा ओलीले अब अन्य राष्ट्रहरु यूरोपियन यूनियन अमेरिका लगायतका राष्ट्रहरुले आर्थिक नाकाबन्दी गर्न सक्ने सम्भावनालाई नजर अन्दाज गर्न मिल्दैन । चीन जस्तो आर्थिक रुपले मजवुत राष्ट्रलाई समेत अप्ठ्यारो पार्न खोजिएको परिप्रेक्षमा नेपाललाई आर्थिक सहयोग गर्लान भन्ने कुनै ग्यारेन्टी छैन । नेपालले वैदेसिक ऋण अथवा आर्थिक सहयोग वेगर नेपालको विकास कार्यलाई अगाडि वढाउन नसक्ने परिस्थिति छ । नेपाल आफ्नै लगानीमा विकास योजनाहरु सम्पन्न गर्न अझै सक्षम भइसकेको छैन । यसले गर्दा सरकार गफाडीको जत्था मात्र हुने प्राय निश्चित छ ।
१६. अनुशासित संयमित र सम्मानजनक ढंगले विधि संम्वत पार्टी र सरकार संचालन गरे मात्र कार्यकर्ता तथा जनताहरुले साथ सहयोग दिन्छन् । निराशाजनक ढंगले तानशाही प्रवृति देखाउँदै बलमिचाइ गर्दै आफू र आफ्ना आशेपासेलाई मात्र फाइदा गर्ने गराउने कृयाकलापतिर केन्द्रित हुने हो भने हिजो ज्यान दिन तयार भएका कार्यकर्ता र शुभचिन्तकहरु ज्यान लिन पनि तयार नहोला भन्न सकिदैन ।
१७. समय परिस्थिति अनुकुल संन्तुलित ढंगले कसैलाई असर नपर्ने गरी विकासका कामहरु गर्नु पर्दछ । दसैको मुखमा नागढुङ्गा नौविसे सडक खण्ड दस बाह्र घण्टा सम्मको जाम गराई विरामी वोक्ने एम्वुलेन्सलाई समेत चल्न नदिई विरामीको मृत्यु हुने सम्मको सृजित परिस्थितिले दुई तिहाई वहुमत प्राप्त सरकारको लागि सकारात्मक सन्देश नजाला । जनआक्रोस बढ्ने भन्दा अरु केही हुँदैन ।


अबको बाटो

सरकार मुकदर्शक भएर बस्ने होइन, आफ्नो कमिकमजोरीलाई महसुस गरी विश्लेशणात्मक कदम चाल्नु अति आवश्यक छ । आम सर्वसाधारण जनताले राहत महसुस गर्ने खालको कार्यक्रमहरु सरकारले ल्याउन सकेमा देस संवृद्ध र खुसी नेपाली हुन सम्भव छ । केही कार्यक्रमहरु बुँदागत रुपमा प्रस्तुत गरिएको छ ।


१. सरकारले कडा नियम कानून निर्माण गरी वलत्कारी, हत्यारा, कालोबजारी, घुसखोरीलाई फाँसी दिनेसम्मको कानून बनाई कडाइका साथ लागु गरिनु पर्दछ ।
२. चुनावताका गरिएको बाचाहरु प्राथमिकताको आधारमा क्रमश पुरा गर्दै लैजानु पर्दछ ।
३. सबै खाले सिन्डिकेट वा एकाधिकारलाई सदाको लागि अन्त्य गर्नु पर्दछ ।
४. महंगी बजारभाउ नियन्त्रण र त्यसको वैकल्पिक उपायको भरपर्दो व्यवस्था गर्नु पर्दछ ।
५. स्वदेसमै कलकारखाना, उद्योग, व्यापार र रोजगारको उचित व्यवस्था गरि लाखौ संख्यामा विदेसिने युवाहरुलाई स्वदेसमै बस्न सक्ने वातावरण सृजना गर्नु पर्दछ ।
६. चाडपर्व अगाडि हुने गरेको महंगी नियन्त्रण गर्नु पर्दछ र कालो बजारीहरुलाई कडा सजायको व्यवस्था गर्नु पर्दछ ।
७. स्वदेशी उत्पादनलाई निर्यात गर्न प्रोत्साहन र विदेशी उत्पादनलाई आयात गर्न हतोस्ताहित तुल्याउने कार्यक्रम बनाउनु पर्दछ ।
८. संविधान प्रदत समाजवाद उन्मुख शिक्षा तथा अर्थ प्रणाली विकास गर्नु पर्दछ ।
९. जनताहरुलाई निराश पार्ने सबै खाले तत्व, व्यवहार, आचरण प्रणाली, व्यवस्थाको अन्त्य गरि जनभावनाको कदर गर्नु पर्दछ ।
१०. पार्टी भित्रको किचलोलाई विधिसम्वत पार्टी भित्रै सुल्झाएर आम कार्यकर्ता शुभचिन्तकहरुको मन जित्ने खालको कार्यक्रम तय गर्नु पर्दछ ।
११. न्यायलय र सुरक्षा संयन्त्रलाई विवादास्पद नबनाई सन्तुलति ढंगले देश तथा जनताको हितको लागि सम्मानजनक ढंगले अग्रसर बनाउनु पर्दछ ।
१२. दिगो र अटल वैदेसिक तथा कुटनैतिक नीति निर्माण गरी असल छिमेकी मित्र राष्ट्रहरुको बीच समन्वय गरी नेपालको विकासको लागि उच्चतम फाइदा लिन सक्नु पर्छ ।
१३. सबै नेपालीहरुलाई अपनत्व महसुस हुनेगरी उनीहरुको भाषा संस्कृति रीतिरिवाज विकास गर्न पाउने वातावरण सृजना गर्न र उनीहरुलाई प्रोत्साहन सुविधा दिनुपर्छ ।
१४. विभिन्न क्षेत्रबाट आन्दोलन गरेर सरकारलाई कमजोर बनाउन खोज्नेहरुलाई चुनौती दिन सक्ने क्षमता सरकारले विकास गर्ने संयन्त्र तयार गर्नु पर्दछ ।
१५. अन्तमा वर्तमान दुई तिहाई वहुमत प्राप्त सरकारले चुनौतीलाई चिर्न नसकेमा आलोकप्रिय घटना नघट्ला भन्न सकिन्न । दशै तिहार र छठ अगाडि सम्ममा जनताहरु संयम हुन्छन् । दसै तिहार छठपर्व पछि यस्तै अवस्था रहिरहे पौष महिना वरिवरि नेपालको राजनीतिक वातावरण र घटनाले नौलो रुप लिन सक्ने धेरै सम्भावन रहनेछ ।  

(यो लेखकको निजि विचारमा आधारित लेख हो ।  लेखक राई विगत ४० वर्षदेखि शिक्षण सिकाई कार्यमा  संलग्न व्यक्ति हुन् ।)

 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा