सोमबार, २ पौष, २०७५ Monday, 17 December, 2018

किरात थुलुङ राई भाषाको पहिलो बालगीत संग्रह 'थुलुङ' सार्वजनिक 

समितिअन्तर्गत संगीत विभाग प्रमुख गायक पदम थुलुङ राईले थुलुङ भाषाको संरक्षण र विकास गर्ने उद्देश्यले संग्रह निर्माण गरिएको बताए ।
फाइल फोटो / वेब

काठमाडौं, २० असोज । किरात थुलुङ राई भाषाको पहिलो बालगीत संग्रह 'थुलुङ' र मुखपत्र ‘थुलुङ’ आज काठमान्डौमा सार्वजनिक गरिएको छ ।

६ वटा भिडियोसहितको उक्त बालगीतसंग्रह खोटाङ, सोलुखुम्बु र ओखलढुंगाबाट १७ जना बालबालिकाहरुलाई काठमाडौंमा ल्याएर उनीहरुकै स्वरमा तयार पारिएको हो  ।

समितिले यसअघि नै कक्षा १ को पाठ्यक्रम तयार पारिसकेको छ भने हाल थुलुङ बाहुल्य क्षेत्रका विभिन्न सामुदायिक विद्यालयहरुमा ती पुस्तक पठनपाठन भइरहेको छ ।

कार्यक्रममा थुलुङ बालगीत तथा मुखपत्रका लागि सहयोग गर्ने विभिन्न व्यक्तिहरुलाई सम्मानसमेत गरिएको थियो ।

भिडियोसहितको उक्त बालगीत संग्रह र विभिन्न क्षेत्रमा ख्याति कमाएका थुलुङ समुदायका २४ जना व्यक्तित्वहरुको जिवनी समेटिएको ‘थुलुङ’ नामक मुखपत्र एक समारोहबीच सार्वजनिक गरिएको थियो ।

उक्त समारोहलाई सम्बोधनको क्रममा कार्यक्रमका प्रमुख अतिथि समाजसेवी तथा सफल उद्यमी तेजबहादुर राईले थुलुङ भाषाको पाठ्यक्रमलाई नै भिडियोका रुपमा बालगीत निकालेर ऐतिहासिक काम गरेको भन्दै अभियन्ताहरुप्रति आभार व्यक्त गरे ।

उनले आफ्नो भाषा र संस्कृतिप्रति गर्व गर्नुपर्नेमा जोड दिए  । कुनै पनि जाति र समुदायको भाषा संस्कृतिको जगेर्ना गर्ने काम राज्यको दायित्व भएपनि नेपालमा त्यसो हुन नसकेको गुनासो गरे । ‘भाषा, संस्कृति भनेको त देशको सम्पति हो,’ उनले भने, ‘त्यसैले भाषा संस्कृति जगर्ने गर्ने काम राज्यको दायित्व हो ।’

किरात राई यायोक्खाका केन्द्रीय उपमहासचिव जनक राईले बालगीतमार्फत थुलुङ भाषाको उजागर गर्नु समुदायका निम्ति गौरवको विषय भएको बताए । अहिलेको समय साँस्कृतिक पुनर्जागरणको समय भएको भन्दै उनले राज्यबाट विभेद र दमनमा पारिएका भाषा संस्कृतिहरुको संरक्षण र प्रवद्र्धनमा सिंगो समुदाय एक ढिक्का भएर अघि बढ्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा बरिष्ठ श्रष्ठा गणेश रसिक, किराती समुदायका अगुवा टंकबहादुर राई, शैक्षिक अभियन्ता डा. शुकराज राई, थुलुङ राई संस्कृति प्रतिष्ठानका अध्यक्ष निर्कुधन राई, किरात राई विद्यार्थी संघका केन्द्रीय अध्यक्ष विर्सिका राईलगायतले भिडियोसहितको बालगीत संग्रहले थुलुङ भाषालाई उजागर गर्नुका साथै संरक्षणका लागि जागरण ल्याउने धारणा राखेका थिए ।

समितिअन्तर्गत संगीत विभाग प्रमुख गायक पदम थुलुङ राईले थुलुङ भाषाको संरक्षण र विकास गर्ने उद्देश्यले संग्रह निर्माण गरिएको बताए ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा