सोमबार, २ पौष, २०७५ Monday, 17 December, 2018

सोहश्राद्ध सुरु, यस्तो छ धार्मिक महत्व

यस समयमा पितृले आश गरी बसेका हुन्छन् भन्ने शास्त्रीय मान्यता छ । 
फाइल फोटो /वेब

काठमाडौं, ९ असोज । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्रश्राद्ध अर्थात् पितृ पक्ष आजदेखि सुरु भएको छ । 

पितृ पक्षको पहिलो दिन आज प्रतिपदा तिथि श्राद्ध गरियो । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्र तिथिमा दिवंगत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले सोह्रश्राद्ध भनिएको हो । चाडपर्व यज्ञयज्ञादि तथा ठूला कार्य गर्नुअघि पितृलाई श्रद्धाभक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दू शास्त्रीय परम्परानुसार सोह्रश्राद्ध गर्ने गरिएको हो । यस समयमा पितृले आश गरी बसेका हुन्छन् भन्ने शास्त्रीय मान्यता छ । 

यसरी सोह्रश्राद्ध गर्नाले पितृप्रतिको आफ्नो दायित्वबोध पूरा हुनाका साथै पितृऋणबाट पनि मुक्त भइन्छ भन्ने धार्मिक विश्वास छ । वैदिक सनातन हिन्दू धर्मावलम्बीले ठूला माङ्गलिक कार्य गर्नु अगाडि नान्दीमुखी श्राद्ध, पितृको मृत तिथिमा गर्ने एकोद्दिष्ट श्राद्ध, सोह्रश्राद्धमा गर्ने पार्वण श्राद्ध, सोह्रश्राद्धमा मृत्यु भएकाको सम्झनामा गरिने एक पार्वण श्राद्ध, तीर्थमा गरिने तीर्थ श्राद्ध र बद्रीको ब्रह्मकपाल तीर्थमा गरिने ब्रह्म कपाली श्राद्धजस्ता श्राद्ध प्रचलित छन् । 

यस पक्षमा श्राद्ध नगर्दा अक्षम्य दोष लाग्छ भन्ने शास्त्रीय वचनका आधारमा श्राद्ध गर्ने गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतम बताउछन् । सोह्रश्राद्ध अपराह्नमा गर्नुपर्छ भन्ने शास्त्रीय वचन रहेको पनि उनले बताए । 

यस अवसरमा काठमाडौं उपत्यकाको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर उत्तरगया, नुवाकोट र रसुवाको संगमस्थल बेत्रावती, देवघाट, त्रिवेणीलगायत तीर्थस्थलमा पनि पितृप्रति श्रद्धासाथ श्राद्ध गर्नेको भीड लाग्छ । आफ्नो घरभन्दा बाहिर बसेकाले तीर्थमा गई श्राद्ध गर्नुपर्छ भन्ने शास्त्रीय मान्यता छ । पितृ पक्षको समाप्तिसँगै दुर्गा पक्ष अर्थात् बडादशैँ सुरु हुन्छ । 

सोह्रश्राद्ध गर्नाको वैदिक दृष्टिकोण 

हरेक गृहस्थले प्रत्येक औँसी औँसीमा पितृका तीन पुस्ता र मातृपक्षका तीन पुस्तालाई पिण्ड पानी दिई श्राद्ध गर्ने प्राचीन पररम्परा छ । त्यसैलाई दश श्राद्ध पनि भनिन्छ । यसरी श्राद्ध गर्न देश, काल र परिस्थितिको कारण असमर्थ भएमा वर्षा ऋतुका तीन औँसीमा भने पनि यो दशश्राद्ध गनैपर्ने विधान रहेको धर्मशास्त्रका जानकार गोविन्द लामिछाने शास्त्रीले बताए । यदि त्यो पनि नसक्नेले कुनै एउटा वर्षा ऋतुका औँसीमा दशश्राद्ध गर्नुपर्ने भन्ने विधान छ । व्यस्तताका कारण यसमा पनि सबै मानिसले एकै समयमा श्राद्ध गर्दा सामाजिक अस्तव्यस्तता छाउने भएकाले पुराणमा वर्षका एक पक्ष, आश्विन कृष्ण पक्षमा मेलापर्वजस्तो रुपमा आफ्ना पिता वा कुनै एकको मृत्यु तिथिको सहारा लिई महालय श्राद्ध गर्ने पौराणिक विधान छ । 

विवाह, व्रतबन्ध आदि उत्सव गर्नुृ अगाडि आव्युदिर्यक श्राद्ध गरे जस्तै दशैँतिहार जस्ता ठूला चाडपर्व मनाउनुपर्ने भएकाले यो श्राद्ध गरिएको हो भन्ने भ्रम जनमानसमा पाइन्छ तर दशैँ र सोह्रश्राद्धमा कुनै सम्बन्ध नरहेको लामिछानेले बताए । 

दशैँ र सोह्रश्राद्धको समय संयोगले सँगै पर्न गएको मात्र हो । दशैँ पुराण विधानमा गरिएको पर्व हो भने सोह्रश्राद्ध ग्रहसूत्र विधानमा गरिएको पर्व हो । सोह्रश्राद्ध अवधिभर जन्मोत्सव वा शिशु सस्ंकार कर्मबाहेक विवाह, व्रतबन्धजस्ता माङ्गलिक कार्य र दैवी पूजाआजा गर्नुहुँदैन भन्ने धामिक मान्यता छ । 

मृत्यु तिथिमा गरिने श्राद्धमा एउटा पिण्ड दिइन्छ । त्यसैले यसलाई एकोदृष्ट सयक्षय तिथि श्राद्ध पनि भनिन्छ । सोह्रश्राद्धको समय काल मध्याह्न हो भने महालय वा सोह्रश्राद्धको समय काल अपराह्न हो । एकोदृष्ट श्राद्धमा एक व्यक्ति एक पितृको मात्र श्राद्ध गरिन्छ तर महालय श्राद्धमा घर र आफ्ना मावलीतर्फका समस्त पितृको तर्पण हुन्छ । 

सोह्रश्राद्ध गर्नाले परलोक भएका पितृहरुलाई पितृलोकमा अक्षय तृप्ति हुन्छ र श्राद्धकर्तालाई समेत आशीर्वाद प्राप्त हुन्छ भन्ने धार्मिक मान्यता छ । परिवारमा सुख, शान्ति र मेलमिलापको भावना समेत प्राप्त हुने विश्वाश छ ।

पूर्णप्रसाद मिश्र र जमुना धमला । रासस


 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा