मंगलबार, ६ कार्तिक, २०७५ Tuesday, 23 October, 2018

राष्ट्रिय टोलीका खेलाडी ६ क्लबमा अनुबन्ध

‘ए’ डिभिजन लिग चार वर्षपछि हुन लागेको हो ।
फाइल फोटो /वेब

काठमाडौं, ८ असोज । यही असोज १३ गतेदेखि शुरु हुने शहीद स्मारक ‘ए’ डिभिजन लिगमा राष्ट्रिय टोलीका मुख्य खेलाडीले ६ क्लबबाट प्रतिस्पर्धा गर्ने भएका छन् । लिग शुरु हुन करीब एक सातामात्रै बाँकी छँदा लिगमा सहभागी १४ टोलीमध्ये ६ क्लबले राष्ट्रिय टोलीका खेलाडी अनुबन्ध गर्न सफल भएका छन् । 

अखिल नेपाल फुटबल सङ्घ (एन्फा)मा ए डिभिजनका लागि १४ क्लबले दर्ता गराएको खेलाडीको सूचीमा मनाङ मस्र्याङ्दी क्लबले राष्ट्रिय टोलीका सबैभन्दा धेरै पाँच खेलाडी अनुबन्ध गरेको छ । मनाङले मिडफिल्डर सुजल श्रेष्ठ, अञ्जन विष्ट, विशाल राई, हेमन गुरुङ र डिफेन्डर एवं राष्ट्रिय टोलीको कप्तान विराज महर्जनलाई क्लबमा अनुबन्ध गरेको छ । 

त्यसैगरी त्रिभुवन आर्मी क्लबबाट गोलकिपर विकेश कुथु, डिफेन्डर सुमन अर्याल तथा फरवार्ड भरत खवास र नवयुग श्रेष्ठले ए डिभिजन लिग खेल्ने छन् । थ्रीस्टार क्लबबाट गोलकिपर एलन न्यौपाने, डिफेन्डर अनन्त तामाङ, मिडफिल्डर नीराजन खड्का र सुनिल बलले खेल्नेछन् । च्यासल युथ क्लबबाट देवेन्द्र तामाङ र हेमन्त थापामगरले खेल्ने छन् भने एपिएफ क्लबबाट आदित्य चौधरीले खेल्ने छन् । डिफेन्डर दिनेश राजवंशी नेपाल पुलिस क्लबमा आबद्ध छन् । स्टार स्ट्राइकर विमल घर्तीमगरको भने अहिलेसम्म क्लबको टुङ्गो लाग्न सकेको छैन । विमललाई लिन थ्रीस्टार र च्यासल युथ क्लबले छलफल अघि बढाएका छन् । 

यही असोज १३ गतेदेखि शुरु हुने शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको उद्घाटन खेल न्युरोड टोली एनआरटी र विभागीय टोली त्रिभुवन आर्मी क्लबबीच हुनेछ । लिगमा १४ ‘ए’ डिभिजन क्लब थ्री स्टार, मनाङ मस्र्याङ्दी, नेपाल पुलिस, एपिएफ, आर्मी, जावलाखेल युथ क्लब, फ्रेन्ड्स क्लब, संकटा, मछिन्द्र क्लब, सरस्वती युथ क्लब, च्यासल युथ क्लब, न्युरोड टोली (एनआरटी) , ब्रिगेड ब्वाइज र हिमालयन शेर्पा क्लबले खेल्नेछन् । 

राउण्ड रोविन लिगको आधारमा हुने सो प्रतियोगितामा कुल ९१ खेल हुनेछन् । लिगको विजेताले रु ५० लाख, उपविजेताले रु ३५ लाख, तेस्रोले रु २५ लाख, चौथोले रु १५ लाख, पाँचौले रु सात लाख र छैटौं टोलीले रु पाँच लाख पुरस्कार पाउनेछन् । फेयर प्ले टोलीले रु एक लाख तथा प्रत्येक खेल जिते बापत एन्फाले क्लबलाई रु ५० हजार र म्यान अफ दि म्याच हुने खेलाडीलाई रु १० हजार पुरस्कार दिइनेछ । लिग विजेता टोलीले एएफसी एसियन कप फुटबलमा सहभागिता जनाउन पाउनेछ । ‘ए’ डिभिजन लिग चार वर्षपछि हुन लागेको हो । पछिल्लो पटक २०७१ सालमा ‘ए’ डिभिजन लिग भएको थियो ।रासस 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा