शनिबार, ६ असोज, २०७५ Saturday, 22 September, 2018

सप्तरीमा स्वाइन फ्लु र हङकङ फ्लु फेला पर्यो

यसअघि ज्वरो र रुघाखोकीबाट ग्रसित कञ्चनरूप नगरपालिका–७ का १४ वर्षीय दिवस बस्नेत, वडा नं ३ का १४ वर्षीय किशोर राम र वडा नं ९ का १४ वर्षीय आमोदकुमार रामको मृत्यु भएको थियो । 
फाइल फोटो /वेब

राजविराज, २९ भदौ । सप्तरीको कञ्चनरुप र हनुमाननगर कङ्कालनी नगरपालिकामा स्वाइन फ्लु र हङकङ फ्लुका भाइरस फेला परेको छ । 

ती नगरपालिकामा रुघाखोकी र ज्वरोका बिरामी देखिन थालिएपछि कञ्चनरुपका १८ तथा हनुमाननगर नगरपालिकाका ६ गरी २४ जनामा गरिएको परीक्षणमा एक जनामा स्वाइन फ्लु र १० जनामा हङकङ फ्लु फेला परेको जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीका प्रमुख निरञ्जनप्रसाद यादवले बताए । 

कञ्चनरुप नगरपालिका–७ का हरिलाल साहमा स्वाइन फ्लुको सङ्क्रमण देखिएको बताउँदै उनले भारतको झारखण्डस्थित बाबाधाम गएर आएका कञ्चनरुप नगरपालिका–४ कविलाशाकी बलसाल सरदारको मृत्यु भएको र वडा नं ७ का साहमा स्वाइन फ्लुको सङ्क्रमण देखिएपछि उतैबाट रोगको सङ्क्रमण शुरु भएको हुन सक्ने आशङ्का गरिएको जानकारी दिए । 

कञ्चनरुप र हनुमाननगर कङ्कालनी नगरपालिकामा बिरामी बढ्न थालेपछि भदौ २४ गतेदेखि सप्तरीको कञ्चनपुर स्वास्थ्य केन्द्रमा सञ्चालन गरिएको हेल्थ क्याम्पमा जम्मा एक हजार १२२ जनाको स्वास्थ्य परीक्षण गराइएका छन् । जसमध्ये २४ जनाको रगत र र्‍याल परीक्षणका लागि काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको प्रमुख यादवले बताए । 

सोही परीक्षणपश्चात् कञ्चनरुप नगरपालिका–७ बलुवाका ६० वर्षीय हरिलाल साहलाई स्वाइन फ्लुको सङ्क्रमण भएको पाइएको र कञ्चनरुपका अन्य चार जना तथा हनुमाननगर कङ्कालनी नगरपालिकाका ६ जनामा हङकङ फ्लु फेला परेको यादवले जानकारी दिए । 

जिल्ला दैवी प्रकोप उद्धार समितिको बिहीबार सम्पन्न आपत्कालीन बैठकले प्रभावित क्षेत्रमा स्वास्थ्य टोली खटाउने र उपचारको व्यवस्था मिलाउने तथा भारतीय नाकामा सहायता कक्ष राख्ने विषयमा निर्णय भएको प्रजिअ सुरेन्द्र पौडेलले जानकारी दिए । 

साथै प्रभावित क्षेत्रमा सतर्क रहन सर्वसाधारणलाई आग्रह गर्दै स्वाइन फ्लु तथा हङकङ फ्लु फोहोर तथा भीडभाडका कारण चाँडो फैलने भएकाले भीडभाडमा सहभागी नहुन, कसैसँग हात नमिलाउन, सरसफाइमा ध्यान दिन र बिरामीलाई सुरक्षित स्थानमा राख्न प्रजिअ पौडेलले आग्रह गरे । 

यसअघि ज्वरो र रुघाखोकीबाट ग्रसित कञ्चनरूप नगरपालिका–७ का १४ वर्षीय दिवस बस्नेत, वडा नं ३ का १४ वर्षीय किशोर राम र वडा नं ९ का १४ वर्षीय आमोदकुमार रामको मृत्यु भएको थियो । 

यस्तै ज्वरो तथा रुघाखोकीकै कारण कञ्चनरुप नगरपालिका–४ कविलासाकी ६० वर्षीया वलसाल सरदारको पनि विराटनगरस्थित ग्रिनक्रस हस्पिटममा उपचारकै क्रममा मृत्यु भएको थियो । रासस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा