शनिबार, ६ असोज, २०७५ Saturday, 22 September, 2018

जटिल बन्दै आङ खस्ने समस्या 

‘कामको बोझ, मानसिक तनाव, सरसफाइमा कमी, उमेर नपुग्दै बिहे गर्नु र असुरक्षितरुपमा सुत्केरी गराउनाले महिलामा पाठेघर समस्या जटिल हुँदै गएको छ ।’–चिकित्सक

नेपालगञ्ज, २३ भदौ । बर्दिया सानोश्री की ३६ वर्षाया रामकली चौधरीको पाठेघर झिकिएपछि उनलाई पहिले जस्तो काम गर्न सहज छैन । “तल्लो पेट दुख्ने, सेतो पानी आउने र शरीर शिथिल हुने अवस्था भए पनि कसैलाई भनिन् । पछि थाहा भयो मेरो पाठेघर बिग्रिसकेको रहेछ ।” 

विशेषतः ग्रामीण भेगका महिला आफ्नो भित्री स्वास्थ्य अवस्था खतराको सङ्केतभन्दा माथि पुगेपछि बल्ल अरुलाई भन्ने गर्छन् । 

परिवारमा पुरुषको तुलनामा निर्णय तहमा पकड नहुँदा ग्रामीण क्षेत्रका महिला स्वास्थ्य समस्याबाट बढी प्रभावित हुने गरेका छन् । महिलालाई अन्य स्वास्थ्य समस्याभन्दा प्रजनन स्वास्थ्य समस्याले अझ बढी गाँजेको पाइन्छ । 

प्रदेश ५, प्रदेश ७ र कर्णाली प्रदेशको हुम्ला, जुम्ला, बाँके, बर्दिया कैलाली, कञ्चनपुर, अछाम, बाजुरा, रोल्पा, रुकुम दाङलगायत जिल्लाका सुदूर क्षेत्रमा बसोवास गर्ने महिलाले प्रजनन स्वास्थ्यमा भोग्दै आएका समस्यामध्ये आङ खस्ने समस्या सबैभन्दा बढी पाइने गरेको छ । 

“कामको बोझ, मानसिक तनाव, सरसफाइमा कमी, उमेर नपुग्दै बिहे गर्नु र असुरक्षितरुपमा सुत्केरी गराउने कारणले पनि महिलामा पाठेघर समस्या जटिल हुँदै गएको छ”, नेपालगञ्जस्थित भेरी अञ्चल अस्पतालका स्त्रीरोग विशेषज्ञ डा कल्पना थापा बताउँछिन् । डा थापा भन्छिन्, “गाउँघरतिर छिटोछिटो बच्चा जन्माउनु, सुर्तीजन्य अम्मल प्रयोग गर्नु, पोषणयुक्त खानामा ध्यान नदिनु र महिलाप्रति परिवारको व्यवहार मैत्रीपूर्ण नहुनुका कारण पनि यो समस्या झागिँदै गएको छ ।” 

नेपालगञ्जस्थित भेरी अञ्चल अस्पतालमा पाठेघर जाँच गराउन आउनु भएकी चार सन्तानकी आमा रुकुमकी ३५ वर्षीया मनसरी बूढाको दुःखेसो छ, “काममा दिनभरि खटिनुपर्छ, समयमा खान पाइँदैन, मेलापात पनि गर्नुपर्छ, त्यसैले आफ्नो स्वास्थ्यको विषयमा ध्यान दिने समय नै हुँदैन ।” 

“कामको बोझ, मानसिक तनाव, सरसफाइमा कमी, उमेर नपुग्दै बिहे गर्नु र असुरक्षितरुपमा सुत्केरी गराउने कारणले पनि महिलामा पाठेघर समस्या जटिल हुँदै गएको छ । गाउँघरतिर छिटोछिटो बच्चा जन्माउनु, सुर्तीजन्य अम्मल प्रयोग गर्नु, पोषणयुक्त खानामा ध्यान नदिनु र महिलाप्रति परिवारको व्यवहार मैत्रीपूर्ण नहुनुका  पनि यो समस्या झागिँदै गएको छ । -स्त्रीरोग विशेषज्ञ डा कल्पना थापा, भेरी अञ्चल अस्पताल, नेपालगञ्ज

केही समयअघि यस भेगका विभिन्न ग्रामीण क्षेत्रमा सञ्चालन गरिएका स्वास्थ्य शिविरमा उपचारका लागि आएका महिलामध्ये अधिकांशमा पाठेघरको समस्या अधिक थियो । “शिविर, स्वास्थ्यचौकी र अस्पतालमा उपचारका लागि आउने महिलामध्ये एक चौथाइ महिलाको पाठेघर जटिल अवस्थामा पुगिसकेको हुन्छ, शल्यक्रिया गर्नुबाहेक अन्य उपचार सम्भव हँुदैन”, प्रमुख जनस्वास्थ्य प्रशासक खिमबहादुर खड्काको अनुभव छ । 

विशेषतः ग्रामीण भेगका पछाडि पारिएका दलित, मधेशी, मुस्लिम र सीमान्तकृत समुदायका महिलामा यो समस्या बढी देखिएको छ । कम उमेरमा विवाह हुनु, घरमै बच्चा जन्माउनु, गर्भावस्थामा पोषिलो खानेकुरा खान नपाउनु, सुत्केरी अवस्थामा राम्रो स्याहार नपाउनु र अत्यधिक कामको बोझमा परेका महिलामा आङ खस्ने समस्या बढी देखिने गरेको जनस्वास्थ्य कार्यालयको तथ्याङ्कमा छ । 

यो अवस्थामा सुधार ल्याउन सरकारले जिल्ला जिल्लामा महिला स्वास्थ्य कार्यक्रमअन्तर्गत सुरक्षित मातृत्व, आमा सुरक्षा, पूर्व गर्भवती स्याहार, आइरन चक्की, पोषणयुक्त खाना वितरणलगायतका कार्यक्रम सञ्चालन गर्दै आएको छ । 

घरमा बच्चा जन्माउँदा पाठेघर खस्नेलगायतका जटिल स्वास्थ्य समस्या कम गर्न विशेषतः ग्रामीण भेगका स्वास्थ्य संस्थामा बर्थिङ सेन्टर (सुत्केरी गराउने केन्द्र) निर्माणको अभियान सुरु गरिएको छ ।

प्रमुख जनस्वास्थ्य प्रशासक खड्का भन्छन्, “पाठेघर खस्ने समस्यालाई समाधान गर्ने हो भने महिलाको स्वास्थ्य, शिक्षा तथा सामाजिक र आर्थिक सशक्तीकरणलाई स्वास्थ्य कार्यक्रमसँग जोड्नु नितान्त आवश्यक छ ।” रासस
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा