आइतबार, २ मङ्सिर, २०७५ Sunday, 18 November, 2018

लिलामायाले रक्सी बेचेको पैसाले किनिदिइन् किराती 'ड्रेस'

चिण्डो फेसनबाट कपडा खरिद गरी नानीबाबुहरुलाई लिलामायाले हिजै हस्तान्तरण गरिन् ।

सोलुखुम्बु, २३ भदौ । सल्यान, देउपुजेमा पापा दिल बहादुर राई र आमा जसरुपा राईको कोखमा २०२४ सालमा जन्मेकी हुन् लिलामाया थुलुङ राई । तत्कालीन पञ्चायती सरकारको विभेद, असमानता, अशिक्षा, गरिबी जस्ता विविध कारणले कक्षा २ भन्दा बढी पढ्न पाइनन् । पढ्ने उत्कट चाहाना हुँदाहुँदै पनि घाँसदाउरा, मेलापात गर्दै बाल्यकाल बित्यो ।   

२०४५ सालमा छिमेकी गाऊँ पञ्चन, रोल्युम निवासी भिम बहादुर थुलुङ राईसँग बिहे भयो लिलामायाको । बिहेपछि लालाबाला भए । जिम्मेवारी थपियो । बिहान तीनबजे उठ्नु । ढिकीजाँतो गर्नु । बाँदर लडिमर्ने भिरमा पाँचै बजे घाँस काट्न जानु । आठ बजे फर्केर खाना पकाउनु । खाना खाएपछि गग्रेटो पाखोबारीमा काम गर्नु निस्किनु । बेलुकी लखतरान भएर घर फर्किनु । सास फेर्न सम्म फुर्सद् नपाउनु । यी सब सामान्य दिनचर्या हुनथाल्यो उनको । थकान, दुखाई, पिंडा के हो ? लिलामायाले थाहा पाउन छोडिन् । उनी त मेशिन जस्तो पो बन्दै गइन् । 

पहाडमा जत्ति दुःख गर्दा पनि सुखका दिन फिरेन । अन्ततः बुढाबुढीले सल्लाह गरे । सुखका दिन फिर्ने सपना बुन्दै भिम बहादुर विदेशतिर लागे । सपना देख्ने युवाको जाने ठाउँ नै कहाँ छ र ? भिम बहादुर अपवाद् रहेनन् । केही वर्षपछि सपनाले तान्दै लिलामायालाई पनि ललितपुर स्थित् इमाडोल ल्याईपुर्‍यायो । मसिना नानीबाबु च्यापेर लिलामाया इमाडोल आइपुगिन् । तर गाउँ जस्तो इमाडोल थिएन । इमाडोल जस्तो गाउँ हुने कुरै भएन । केही समय लिलामाया अलमल्ल परिन् । तर लिलामाया हारेस् मान्ने खालकी थिइनन् । मात्र २ कक्षा पढेकी लिलामायालाई संघर्ष गर्न कसैले सिकाइरहनु पर्दैन थियो । 

२०५८ सालतिर इमाडोल वरिपरी प्रशस्तै खाली जग्गाहरु थिए । जग्गा धनीहरु प्रायः विदेशतिर थिए । त्यही बाँझिएको अरुको जग्गामा लिलामायाले खनीखोस्री गर्न थालिन् । सिजन अनुसार कोदो, मकै र धान रोप्न थालिन् । अन्नको उत्पादनले  एकातिर छाक टार्न सहज बन्दै गयो भने उभ्रिएको कोदो, मकैको जाँड, रक्सी बनाएर लिलामायाले बेच्न थालिन् । जाँड, रक्सी बनाउनु, बेच्नु किरातीहरुको पुर्खौली पेशा हो । एकजना किराती नारीले जे जानिन्, त्यही गर्न थालिन् । जाँड, रक्सीको व्यापारले आम्दानी बढ्न थाल्यो । बुढाले कमाएको पैसा बचत हुन थाल्यो । 

थुलुङ राई भाषा बोल्न जान्ने सोलुखुम्बु, खोटाङ र ओखलढुंगाका पन्ध्र जना मसिना स्कूले नानीहरु यतिबेला काठमाडौंमा छन् । थुलुङ राई भाषाको बालगीति एल्बममा स्वर भर्नका निम्ति उनीहरु काठमाडौं आएका हुन् । थुलुङ राई भाषा पाठ्यक्रम विकास समितिले उनीहरुलाई किराती पहिचान झल्किने एकसरा कपडा किनिदिन खोजिरहेको थियो । यो कुरा थाहा पाए पछि लिलामायाले आफ्नो श्रीमान भिम मार्फत् खबर पठाइन् । उनले भनिन्,“रक्सी बेचेको केही पैसा मसँग छ । त्यही पैसाले नानीबाबुहरुलाई म एकसरा लुगा किनिदिन्छु । मैंले पढ्न नपाए पनि नानीबाबुहरुले धेरै पढुन् । प्रगति गरुन् । त्यत्ति लुगा त म किनिदिन सक्छु नि ।”

'चिण्डो फेसन'बाट कपडा खरिद गरी नानीबाबुहरुलाई लिलामायाले हिजै हस्तान्तरण गरिन् । नानीबाबुको प्रगतिको कामना गरिन् । उनले आशिर्वादसमेत दिइन् ।

 

 

 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा