आइतबार, २ मङ्सिर, २०७५ Sunday, 18 November, 2018

अपहरण एवं हत्याकाण्डमा तीन आमा पुत्र वियोगमा

लोभ, लालच र अपराधी मानसिकताले जन्मिएको बालक अपहरण र हत्या घटनाले अन्तत : तीनवटी आमालाई सधैँका लागि पीडा दिएर गएको छ ।
फाइल फोटो /वेब

भक्तपुर, २९ साउन । यही साउन २० गते काठमाडौं महानगरपालिका–३२ काँडाघारीबाट भएको अपहरण एवं हत्याकाण्डमा तीन आमा पुत्र वियोगमा परेका छन् । 

काँडाघारीबाट ११ वर्षीय निशान खड्काको अपहरण र हत्यापछि प्रहरीको इन्काउण्टरमा मारिएका अपहरणकारीको आमाहरुको अवस्था पनि निशानकी आमा चमेली खड्काको जस्तै बनेको छ । नुवाकोट समरीका २४ वर्षीय अजय तामाङको ५३ वर्षीया आमा कासाङ लामा छोराको वियोगले शोकमा छन् । उनी मात्रै होइन ६ वर्षअघि मात्रै विवाह गरेकी २३ वर्षीया श्रीमती रजनी तामाङको अवस्था झन् नाजुक छ । साढे तीन वर्षकी छोरी सजनीले अब कहिल्यै बाबा भन्न नपाउने भएकी छन् । 

अजयकी आमा कासाङ भन्छिन्, “मेरो छोरा अपराधी नै भए पनि नमारिदिएको भए हुन्थ्यो, ऊ मारिँदा मैले मात्रै छोरा गुमाइनँ, मेरी बुहारीले लोग्ने गुमाई, सानी नातिनीले आफ्नै बाबु गुमाई, उसलाई जति भए पनि सजाय दिएको भए हुन्थ्यो, जेलमै भए पनि छोरा बाँचेको छ त भन्न पाइन्थ्यो ।” “अपराधी नै भए पनि आमाबुबाका लागि छोरा प्यारो नै हुन्छ”, अजयका बाबु निमाले भने, “छोराको लास ल्याएर दाहसंस्कार सकियो तर अजयकी आमा र श्रीमतीलाई सम्झाउन सकिएन, यी दुईको पीडा हेरेर मलाई पनि बाँच्न गाह्रो भो ।” 

विदेशमा बस्दा पनि राम्रोसँग कमाई गर्न नसकेका र काठमाडौंमा पनि राम्रो कमाई भएन भनेर घरमा भन्ने गरेको बताउँदै उनले बेलाबेलामा आठ–दश हजार रुपैयाँ पठाउने गरेको बताउछन् । “हामीलाई त उसको कमाईको कुनै मतलब थिएन, उसको श्रीमती र छोरीलाई पुगे भइहाल्थ्यो, अब त त्यो पनि सकियो, बुहारीलाई खै कसरी सम्झाउनु,” निमा भन्छन् । 

वैदेशिक रोजगारीमा इराक र मलेशियामा बस्दा भेट भएका सिन्धुपाल्चोक मासखर्कका २३ वर्षीय गोपाल तामाङसँगको सल्लाहले नै काठमाडौँमा गएर घरमा रङ्ग लगाउने काम गर्न थालेको उनको भनाइ छ । 

बालक निशानको अपहरण र हत्या घटनामै प्रहरी इन्काउण्टरमा मारिएका अजयको साथी गोपालको आमाको अवस्था पनि उस्तै छ । इन्काउण्टरमा छोरा मारिएको नौ दिन बितिसक्दा पनि गोपालकी आमा छिन्डोमा तामाङको आँखा ओभाएको छैन । कक्षा ८ मै पढाइ छाडेर दुई पटक इराक, एक पटक दुबई र मेलेशिया बसेर आए पनि सन्तोषजनक रुपमा पैसा कमाउन नसके पनि घर खर्च धान्ने तथा भाइबहिनीलाई पढाउने गोपाल नै भएको उनी बताउछिन् । 

“भाइबहिनी हुर्केपछि बिहे गर्छु, अहिले कमाएको पैसा मेरो उपचारमै सकिन्छ भन्थ्यो, बेलाबेलामा घरमा आमा भन्दै आइपुग्थ्यो, ल्याएको आठ दश हजार पैसा छाडेर जान्थ्यो, शुक्रबार कि शनिबार सधैँ घरमा फोन गथ्र्यो”, आमा छिन्डोमा भन्छिन्, “मेरो छोरा भाग्नै खोजेको भए पनि घुँडामुनि गोली हानेर समातेको भए हुन्थ्यो, नमारेको भए हुन्थ्यो ।” 

छोरा मारिएको खबर २१ गते पाए पनि विश्वास नलागेर २२ गते टिचिङ अस्पतालमा पुगेर शव हेरेपछि मात्रै आफूलाई विश्वास लागेको बताउने उनी गोपालको शव काठमाडौंमा दाहसंस्कार गरेर फर्किए पनि छोरा बिर्सन नसकेको बताउन्छिन् । अपहरणमा परी हत्या गरिएका ११ वर्षीय बालक निशान खड्काको आमा चमेलीको अवस्था झन् कारुणिक छ । श्रीमान् गणेश वैदेशिक रोजगारीमा गएपछि काठमाडौंमा दुई छोरी र एक छोराको जिम्मेवारी सम्हाल्दै खाजा पसल सञ्चालन गर्दै आएकी चमेलीको एक मात्र छोरोको अपहरण पछिको बीभत्स हत्याले उनी निकै मर्माहित भएकी छिन् । 

एकैछिन अगाडिसम्म खाजा खाएर अगाडि नै खेल्दै गरेको छोराको आफ्नै पसलमा आउने नियमति ग्राहक र चिनजानका व्यक्तिले नै एकै छिनमा अपहरण गर्लान् भन्ने भेउसमेत नपाउँदै अपरहण गरी हत्या गरे पछिको पीडा सहन उनलाई निकै गाह्रो भएको छ । जतिखेर पनि “मेरो बाबु, मेरो छोरा” भन्दै छोराको सम्झनामा रोइरहने चमेलीका लागि जीवनभर निको नहुने घाउ बन्यो छोराको अपहरण र हत्या । “आमा म एकछिन खेलेर आउँछु है, भन्दै खेल्न गएको छोरा फर्कंदैन भन्ने के थाहा थियो र ?, मेरो बाबु म कसरी बिर्सनु ।” उनको पीडा उत्तिकै झल्कन्छ । अपहरण गरेपनि सँगै खेलेको, खाएको त्यो बालकलाई अपराधीहरुले नमारिदिएको भए पनि हुन्थ्यो नि भन्ने चमेलीको अवस्था निकै कारुणिक बनेको छ । लोभ, लालच र अपराधी मानसिकताले जन्मिएको बालक अपहरण र हत्या घटनाले अन्तत : तीनवटी आमालाई सधैँका लागि पीडा दिएर गएको छ । रासस

 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा