शनिबार, २ भदौ, २०७५ Saturday, 18 August, 2018

तरकारी बेचेर परिवार पाल्दै ७१ वर्षीया ललिता

पुरानो साइकलमा अगाडि टोकरी र पछाडि क्रेट छ । तिनैमा तरकारी राखेर घरघर पुगेर तरकारी बिक्री गर्छिन् ।
सांकेतिक फाइल फोटो/वेब

चितवन, २२ साउन । सात दशक उमेर पार गरेकी ललिता सापकोटाको दैनिकी साइकलमा तरकारी बिक्री गरेर बित्ने गर्छ । 

भरतपुर महानगरपालिकाको त्रिचोक निवासी ७१ वर्षीया सापकोटाले त्यही व्यापारबाट परिवार पाल्दै आएकी छन् । उनले तरकारी बिक्री गर्न थालेको ४० वर्ष बित्यो । पुरानो साइकलमा अगाडि टोकरी र पछाडि क्रेट छ । तिनैमा तरकारी राखेर घरघर पुगेर तरकारी बिक्री गर्छिन् । 

बिहान ४ः३० बजे उठेर दुई किलोमिटर टाढाको नारायणगढ तरकारीमण्डीमा पुग्छिन् । त्यहाँ थोकमा तरकारी खरीद गरेर भरतपुरमा बिक्री गर्छिन् । सुरुमा आठ÷दश किलोमिटर टाढासम्म साइकलमा तरकारी बिक्री गर्ने गरेपनि अहिले भरतपुरको मुख्य बसोबास क्षेत्रमा नै तरकारी खपत हुने गरेको सापकोटाले बताइन् । 

बिहान ९ बजेसम्म प्रायः तरकारी बिक्री भइसक्छ । त्यसपछि घर पुगेर पुनः घरधन्दा आफैँ गर्छिन् । सापकोटाले भनिन्, “पहिले यहाँ पातला घर थिए, धेरै टाढा टाढासम्म बिक्री गर्न पुग्थेँ । अहिले बूढो भए, नजिकै बिक्री गर्छु ।” नाफा कम राख्ने हुँदा उनका नियमित ग्राहक छन् । 

घरमा ७८ वर्षका श्रीमान छन् । तीन छोरी र एक छोराकी आमा सापकोटोको आफ्नै व्यथा छ । सङ्कटकालमा भारत गएको छोरा अहिलेसम्म फर्किएको छैन । तीन छोरीको विवाह गरेर दिइन् । 

सापकोटाले भनिन्, “ज्वाइँ मलेशिया जानुभयो ठेगाना छैन, छोरीका आमाछोरा पनि मैले नै पाल्नुपरेको छ ।” आफूसँगै श्रीमान्लाई पालेर चार छोराछोरी पढाउने हुर्काउने गरेको बताउँदै उनले यही कमाइबाट सानो घरसमेत जोडेको बताइन् । 

बागलुङबाट बसाइँसराइ आउनुभएकी सापकोटाले पहिलेदेखि नै आफ्ना श्रीमान्को कुनै कमाइ नभएकाले आफैँले नियमित तरकारी बेच्दै आएको बताइन् । अरुसँग मागेर खानेभन्दा आफैँले केही गरेर खानु राम्रो देखेर नै दुःख गरिरहेको सुनाइन् । सापकोटाले भनिन् । “गर्ने अरु छैनन्, नगरी खानु छैन । बूढो भए पनि काम त गर्नै प¥यो ।” रासस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा