शनिबार, २ भदौ, २०७५ Saturday, 18 August, 2018

मौलिकताको खोजीमा लोकगायिका बिमाकुमारी दुरा

'मलाई हजुरबुबा र भिनाजुले काठमाडौं ल्याएर गीत गाउने अवसर प्रदान नगरेको भए म अहिले लमजुङ तुर्लुङकोटमा घाँसदाउरा गरेर बस्ने थिँए ।'
आफ्नै रचनामा झण्डै दुईसय र अन्यको पाँचहजार भन्दाबढी नेपाली लोकगीत गाउन सफल लोक गायिका बिमाकुमारी दुरा । तस्बिर : अच्युत रेग्मी, रासस

काठमाडौं, १ साउन ।  


नौ डाँडा काटेर पारि 
छोडी आयाँ लमजुङको घरबारी 
लमजुङ तुर्लुङकोट 
सररर.....हावा चल्यो लाँकुरीको बोट । 

असंख्य लोकगीत गाएर नेपाली लोकपारखीमाझ ख्याति कमाएकी बिमाकुमारी दुरा पछिल्लो समय गायन क्षेत्रमा त्यति सारो देखिन्नन् । ‘छुट्यो मायाजाल’, ‘खैरेनीमा गेट’, ‘वनको काफल वनकै चरीलाई’, ‘फुल्यो निमपत्ता’ र ‘सररर पानी घट्टामा’ जस्ता कैयन् कालजयी गीतले दुरालाई नेपाली लोकगायन क्षेत्रको उचाइमा पुर्‍यायो । 

उनको गीत कुनै बेला नेपाली लोकदोहरी क्षेत्रमा चर्चाको शिखरमा थियो, जनजिब्रोमा झुण्डिएको थियो र देशविदेशका नेपाली स्रोताबीच चर्चा कमाएको थियो ।

उनी मेलापर्व, विभिन्न उत्सव र सांगीतिक कार्यक्रममा निकै व्यस्त देखिन्छन् । उनले झण्डै दुई सय गीत आफैंँले रचना गरेकी छन् । अरु पाँच हजारभन्दा बढी गीतमा स्वर दिएकी छन् । 

विसं २०२८ वैशाख ९ मा तत्कालीन सिन्दूरे गाविस– ५, लमजुङमा बुबा दलबहादुर र आमा शान्तामाया दुराको कोखबाट जन्मनुभएकी दुरा बाल्यकालदेखि नै गीतप्रति आकर्षित थिइन् ।। पहाडी मनोरम प्रकृति, जीवन्त संस्कृति, गाउँले जीवन, चाडपर्व र मानिसका दुःखसुख हेर्दै हुर्कंदै गर्दा पाखापखेरामा गुञ्जने भाका टिपेर गुनगुनाउन थालिन् । उनलाई अरुभन्दा लोकभाकाले लोभ्यायो । 

“लोकगीत भनेपछि हुरुक्कै हुन्थेँ, मैले आठ वर्षको उमेरमा मेलापाता, घाँसदाउरा र गोठालो जाँदादेखि नै गाउन सुरु गरेकी हुँ, उनी भन्छिन् । दुराका गीतले धेरैको मन र मुटु छोएको छ । कर्णप्रिय स्वरका कारण उनको गीत धेरैको जिब्रोमा झुण्डिएको छ । गीतले धेरै प्रशंसक कमाएको छ – 

माझी दाइ पोखरा फेवातालको 
लाऊँ माया साँच्चैको, 
नलाऊँ भो ख्याल ख्यालैको । 

बुबा भारतीय सेनामा जागीरे भए पनि दुराले पढ्न भने पाइनन् । हजुरबुबा क्याप्टेन बखानसिंह र भिनाजु भीमबहादुर दुराको सहयोगमा काठमाडौं आएकी उनले स्वर राम्रो भएकै कारण हजारौंँ गीतमा गाउने अवसर पाएकी थिइन् । “मलाई हजुरबुबा र भिनाजुले काठमाडौं ल्याएर गीत गाउने अवसर प्रदान नगरेको भए म अहिले लमजुङ तुर्लुङकोटमा घाँसदाउरा गरेर बस्ने थियाँ,”, उनी सम्झिन्छिन् । गाउँ र जिल्लास्तरमा धेरै गीत गाएकी दुराले विसं २०४६ मा पहिलोचोटि ‘छोरीको जुनी...’ बोलको गीत आफ्नै आवाजमा अभिलेख गरिन् । 

झण्डै तीन दशकको गायन क्रियाशीलताले उहाँलाई केवल प्रशंसा मात्र होइन पुरस्कार तथा सम्मानसमेत दिलाएको छ । उनले रेडियो नेपालको देशव्यापी लोकगीत प्रतियोगितामा प्रथम तथा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको पुरस्कारसमेत प्राप्त गरेकी छन् । विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा गरी पाँच सयभन्दा बढी पुरस्कार तथा सम्मान प्राप्त गरेकी छन् । 

दुराका गीत नेपालको डाँडापाखा र तराईका फाँटमा मात्र गुञ्जिएका छैनन्, हङकङ, सिङ्गापुर, दक्षिण कोरिया, बहराइन, मलेसिया, युनाइटेड अरब इमिरेट्स, कतार, बेलायत, भारत, श्रीलङ्कालगायत देशमा पनि पुगेका छन् । उनले त्यहाँ नेपाली स्रोताबीच आफ्नो गायनकला जीवन्त रुपले प्रस्तुत गरेकी छन् । 

ग्रामीण जीवन, परम्परागत संस्कृति, जीवनका भोगाइ, प्रेम, मिलन विछोड र नारी वेदनाका भाव उनको गीतमा पाइन्छ । गायन क्षेत्रमा तीन दशक समय व्यतीत गरेकी दुरा पछिल्लो समय नेपाली लोकगीतमा मौलिकता हराउँदै गएकामा चिन्ता व्यक्त गर्छिन् । “मैले हाम्रै पाखापखेरामा गुञ्जने स्वर र भाका टिपेर नेपालीले भोगेका दुःखसुखका गीत गाएको छु, हाम्रै परिवेशमा चलेका लय, भाव र सिर्जनालाई पछ्याएर लोकगीतको मौलिकपनलाई जीवन्त राख्ने कोशिस गरेको छु,”, उनी भन्छिन्, “लोकसंस्कृति, कला, भाषा र परम्परालाई बचाउन सकेमात्र मुलुकको विकास हुने उनको भनाइ छ ।” 

लोकगीतका अतिरिक्त उनले ठाडोभाका, गुरुङ गीत, कौरा र भजनसमेत गाएकी छन् । उनी नयाँ पुस्तालाई नेपाली परम्परागत मौलिक लोकगीत संगीतको प्रवद्र्धन, संरक्षण र अनुसरण गर्न आग्रह गर्छिन् । उनी नयाँ पुस्तालाई मेहनत, परिश्रम र गीतसंगीतको मर्मअनुसार प्रतिष्पर्धा गर्नसक्ने गरी लोकगीतको क्षेत्रमा लाग्न सुझाव पनि दिन्छिन् । रासस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा