बिहीबार, ३ श्रावण, २०७५ Thursday, 19 July, 2018

राससकर्मीसहित पाँच सम्मानित

“बहुसंख्यक मैथिली भाषी रहेको प्रदेशमा आयातीत भाषालाई कुनै पनि हालतमा लाद्नु उचित हुँदैन । ”
उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल सोमबार विद्यापति पुरस्कार कोषद्वारा जनकपुरमा आयोजित नेपाल विद्यापति पुरस्कार अर्पण समारोहको उद्घाटन गर्नुहुँदै । तस्बिरः अजयकुमार साह, धनुषा | रासस

महेन्द्रनगर, धनुषा, २५ असार । विद्यापति पुरस्कार कोषले मैथिली भाषासाहित्यको विकासमा योगदान पुर्‍याएका साहित्यकार तथा राससकर्मी हिमांशु चौधरीसहित पाँच स्रष्टालाई आज सम्मान गरेको छ । 

कोषले आज जनकपुरमा मैथिली भाषा संस्कृति र कला साहित्यमा योग्दान पुर्‍याएका मैथिली भाषा संस्कृति, अनुवाद, कला, साहित्यलाई अग्रगति तिर लैजान योगदान दिने मैथिली लेखक, अनुवादक, प्रकाशक तथा स्रष्टालाई उल्लेखनीय कार्य गरेर विशिष्टि योगदान पुर्‍याउने पाँच जनालाई पाँच विधामा पुरस्कृत गरेको हो । 

सोअनुसार साहित्यतर्फ ‘नेपाल विद्यापति मैथिली पुरस्कार २०७४’ बाट धनुषाका रोशन जनकपुरी पुरस्कृत भएका छन् । पुरस्कारको राशि रु दुई लाख छ । पाण्डुलिपितर्फ जनही रु एक लाख राशिको पुरस्कार रासस प्रदेश नं २ का प्रमुख चौधरी, अनुवादतर्फ सप्तरीका देवेन्द्र मिश्र, अनुसन्धानतर्फ सर्लाहीका डा देवनारायण यादव तथा कला र संस्कृतितर्फ रामसागर पण्डितलाई उपप्रधानमन्त्री ईश्वर पोखरेलले नगद र सम्मानपत्र प्रदान गरेका थिए । 

मैथिली भाषा र साहित्यको विकासका लागि सरकारले २०६८ सालमा रु एक करोडको अक्षयकोष राशिबाट स्थापना गरेको कोषले प्रत्येक वर्ष मैथिली भाषा संस्कृति र कला साहित्यको विकासमा योगदान पुर्‍याएका पाँच स्रष्टालाई पुरस्कृत गर्दै आएको छ । 
सामाजिक सद्भाव राख्न आग्रह 

सो अवसरमा उपप्रधानमन्त्री पोखरेलले नेपाल र चीन दुवै मित्र राष्ट्र नेपालका लागि समान रहेको बताउँदै नेपालको भारत र चीनसँगको मित्रता कसैले टुटाउन सक्दैन भने । उनले न हिमाल, पहाड र तराई मिलेर बनेको नेपाललाई भौगोलिक विखण्डन गर्ने किसिमको क्रियाकलाप हुनबाट जोगाउनुपर्नेमा जोेड दिए । 

मन्त्री पोखरेलले आफ्नो बाल्यकाल तथा अध्ययन जनकपुर क्षेत्रमा भएको तथा भूमिगत राजनीतिको १० वर्ष मधेशमा बिताएको बताउँदै पछिल्लो पटक सामाजिक सद्भावमा खलल पुगेको देखेर आफू दुःख लागेको बताए । 

उनले आफू जनकपुर बस्दाको बेलाको स्मरण गर्दै भने, “जनकपुर समाजिक सद्भावको ठूलो नमूना थियो, यहाँका समुदाय पहाडी मूलका हुन् वा मधेसी मूलका, एक आपसमा ठूलो सद्भाव रहेको थियो, जनकपुर स्वर्गझैँ थियो तर पछिल्लो पटक यसलाई कुनै गलत तत्त्वले आफ्नो स्वार्थका लागि खलल पुर्‍याएको छ ।”

उनले राष्ट्रिय एकतालाई टिकाउने चिज भनेको नै सामाजिक सद्भाव भएकाले यसलाई जसरी पनि कायम राख्नुपर्ने र यसका लागि सबै क्षेत्रबाट समान सहयोग र प्रयास हुनुपर्ने बताए । 

मन्त्री पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीले भनेका कुरालाई सम्झिँदै भने, “नेपालमा अरु जुनसुकै देशबाट आउने नागरिकले शुरुमा अंगीकृत नागरिकता नै पाउने हो, अब देशमा अंगीकृत नागरिकको सन्तानलाई पनि वंशजको नागरिकता दिने प्रावधान बन्दैछ ।” 

प्रदेश नं २ मा अहिले उठेको भाषा विवादको कुरालाई केन्द्रित गर्दै उनले भाषा विवादमा नफस्न आग्रह गरे । उनले बेलायतको मातृभाषा अंग्रेजीलाई संयुक्त राज्य अमेरिका, अष्ट्रेलियालगायत मुलुकले स्वीकार गरेर सजिलैसँग प्रयोग गरिरहेको उदाहरण दिँदै नेपालमा पनि बोलिने सबै भाषा नेपालकै भाषा भएको हुँदा भाषा विवादमा फस्नु उचित नभएको बताए । 

मन्त्री पोखरेलले प्रदेश नं २ मा सबैभन्दा बढी बोल्ने भाषा मैथिली रहेकाले प्रदेशको कामकाज गर्ने भाषा मैथिली बनाउन आग्रह गर्दै भने, “सरकारी कामकाजका लागि मैथिली भाषाको झण्डा गाड्नुस् ।” साहित्यकार कुनै क्षेत्र र जातको नभएर मुलुकको धरोहर रहेको बताउँदै उनले विद्यापतिको पक्ष र विपक्षमा उभिनु गलत हो भने । 

कार्यक्रममा भौतिक योजना तथा यातायातमन्त्री रघुवीर महासेठले प्रदेश नं २ मा राजकाजको भाषा मैथिली हुनुपर्ने बताउँदै भने, “बहुसंख्यक मैथिली भाषी रहेको प्रदेशमा आयातीत भाषालाई कुनै पनि हालतमा लाद्नु उचित हुँदैन । ” -रासस
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा