शनिबार, ६ असोज, २०७५ Saturday, 22 September, 2018

क्रोएसियासँग पेनाल्टीमा पराजित रुसी खेलाडी ‘राष्ट्रनायक’ : राष्ट्रपति पुटिन

फर्नान्डेसले अन्तिम समयमा गोल गरेर बराबरी बनाएपछि खेल रुसको पोल्टामा गएको ठान्न थालिएको थियो ।
फोटो : यना लापिकोभ/ एपी

बीबीसी, २४ असार । एउटा भावनात्मक क्वार्टरफाइनल खेलमा क्रोएसियासँग पेनाल्टीमा पराजित भएपछि आयोजक रुसको विश्वकप यात्रा समाप्त भएको छ ।

क्वार्टरफाइनलमा पराजित भए पनि विश्वकप फुटबल प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गरेको भन्दै खेलाडीहरूको प्रशंसा भइरहेको छ ।

राष्ट्रपति भ्लादिमिर पुटिनले उनीहरूलाई ’राष्ट्रनायक’ भनेका छन् ।

एउटा सेमिफाइनलमा अब क्रोएसियाले इङ्ग्ल्याण्डसँग र अर्कोमा फ्रान्सले बेल्जियमसँग खेल्नेछ ।

विश्वकपमा सहभागी भइरहँदा रुस सहभागी टोलीमध्ये फुटबल वरीयताको पुछारमा थियो । उनीहरूबाट खासै ठूलो अपेक्षा राखिएको पनि थिएन ।

तर, फुटबलका महाशक्ति राष्ट्रहरू जर्मनी, ब्राजिल र स्पेनभन्दा लामो अवधि रुस यस विश्वकपमा टिकेको थिए ।

निर्णायक पेनाल्टीमा १ सय १५ मिनेटमा टाउकोमार्फत गोल गरेर खेललाई बराबरीमा ल्याएका मारिओ फर्नान्डेसले मौका गुमाएका थिए ।

बार्सिलोना क्लबबाट खेल्ने क्रोएसियाका मध्यपङ्क्तिका खेलाडी इभान राकिटिकले गल्ती नगरी गोल गरेपछि रुसको प्रेरणादायी विश्वकप यात्रा समाप्त भएको थियो ।

पेनाल्टीमार्फत गोल गर्ने बित्तिकै अन्तिम १६ को पेनाल्टी प्रहारमा क्रोएसियाले डेनमार्कलाई हराउँदाको जःतै दृश्यहरू देखिएका थिए । तर, हारपछि पनि रुसी समर्थकहरूले ताली बजार आफ्नो टोलीप्रति सम्मान व्यक्त गरेका थिए।

अन्तिम सिटी बजेपछि त झन् उनीहरूले अझ ठूलो स्वरमा कराउँदै टोलीलाई सान्त्वना दिएका थिए ।

ब्राजिलमा जन्मिएका फर्नान्डेसअघि नै रुसका अर्का खेलाडी फेडोर स्मोलोभले कमजोर किसिमको पेनाल्टी प्रहार गरेका थिए जसलाई क्रोएसियाका गोलरक्षकले सजिलै जोगाएका थिए ।

रुसी गोलरक्षकले पनि क्रोएसियाली खेलाडीको एउटा प्रहार उत्कृष्ट ढङ्गले रोकेका थिए । सन् १९७० को सोभियतकालीन समययता पहिलो पटक विश्वकपमा क्वार्टरफाइनलमा पुगको रुसले डेनिस चेरिसेभको यो विश्वकपकै सर्वाधिक राम्रोमध्येको गोलका मद्दतले क्रोएसियाविरूद्ध अग्रता लिएको थियो ।

तर, त्यसको ८ मिनेटपछि नै क्रोएसियाले खेललाई बराबरीमा ल्यायो ।

९० मिनेटसम्म बराबरी भएपछि थप गरिएको समयमा फेरी क्रोएसियाले अग्रता लिएको थियो । तर, फर्नान्डेसले अन्तिम समयमा गोल गरेर बराबरी बनाएपछि खेल रुसको पोल्टामा गएको ठान्न थालिएको थियो ।

तर, अन्त्यमा पेनाल्टीमा क्रोएसिया नै विजयी भयो ।

सन् १९९८ को विश्वकपमा पनि क्रोएसिया सेमिफाइनलसम्म पुगेको थियो र उपाधि विजेता फ्रान्ससँग पराजित भएको थियो ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा