शनिबार, ६ असोज, २०७५ Saturday, 22 September, 2018

प्रशोधन केन्द्र जीर्ण हुँदा धारामा धमिलो पानी

“प्रशोधन गर्ने प्रयोजनका लागि राज्यको पैसा खर्च भएकाले शुद्ध पानी पिउन पाउने नागरिकको मौलिक हकको रक्षा हुनुपर्छ, केन्द्रमा कार्यालय र पर्याप्त मात्रामा कर्मचारीसमेत नभएको पाइयो, उपत्यकामा बढी पानी जाने केन्द्रको यस्तो हालत हुनुभएन, सुध्रनुपर्छ”
उपत्यकामा वितरणका लागि सुन्दरीजलबाट ल्याइएको वाग्मतीको पानी प्रशोधन गर्न बनाइएको केन्द्र भूकम्पले क्षतिग्रस्त भएपछि धमिलै पानी वितरण हुने गरेको छ । विसं २०२२ मा बनाइएको केन्द्र मर्मत नहुँदा उपभोक्ता धमिलो पानी पिउन बाध्य छन् । तस्बिर : पूर्णप्रसाद मिश्र |

काठमाडौं, १० असार । सुन्दरीजलबाट उपत्यकामा वितरणका लागि ल्याइएको वाग्मतीको पानी राम्रोसँग प्रशोधन नहुँदा धमिलो पानी धारामा खस्ने गरेको छ । 

सुन्दरीजल प्रशोधन केन्द्रमा रहेका छ वटा प्रशोधन केन्द्रमध्ये हाल दुईवटा मात्र सञ्चालनमा छन् । विसं २०२२ मा निर्माण भएको प्रशोधन केन्द्र हालसम्म मर्मत भएको थिएन । केन्द्रले पानी प्रशोधन नै गर्न नसक्ने भएपछि चारवटा केन्द्रको मर्मत शुरु गरिएको कार्यालय प्रमुख वसन्तकुमार पालले बताए । 

धाराको पानी पिउन त के कपडा धुन र नुहाउनसमेत नहुने धमिलो खस्न थालेपछि आज समता मानव अधिकार तथा नागरिक समाजले प्रशोधन केन्द्रको स्थलगत रुपमा अनुगमन गर्‍यो । धारामा पानी नआउने, आएपनि धमिलो पानीमात्र आउने गरेकाले खानेपानीको मुहान क्षेत्रमै हाहाकार भएर अनुगमन गर्नुपरेको समाजका अध्यक्ष नोर्साङ शेर्पाले जानकारी दिए । 

“प्रशोधन गर्ने प्रयोजनका लागि राज्यको पैसा खर्च भएकाले शुद्ध पानी पिउन पाउने नागरिकको मौलिक हकको रक्षा हुनुपर्छ, केन्द्रमा कार्यालय र पर्याप्त मात्रामा कर्मचारीसमेत नभएको पाइयो, उपत्यकामा बढी पानी जाने केन्द्रको यस्तो हालत हुनुभएन, सुध्रनुपर्छ”–उनले भने । 

लिमिटेडको आयोजना कार्यान्वयन निर्देशनालयले सुन्दरीजलमा विसं २०७० मा निर्माण गरेको ‘डिस्इन्फेक्सन प्लान्ट’ (शुद्घिकरण गर्ने उपकरण) सञ्चालन नै हुन नसक्दा पनि आधुनिक प्रविधिबाट पानी प्रशोधन हुन नसकेको कार्यालय प्रमुख पालले स्वीकारे । “प्रशोधन गर्न रासायनिक पदार्थ पनि पुग्दैन, ‘डिस्इन्फेक्सन प्लान्ट’ चलेन भनेर निर्देशनालयलाई पत्र लेखे पनि न त जवाफ आयो, न बन्यो”–उनले भने । 

सुन्दरीजल क्षेत्र जाँदैमा मीठो र शुद्ध पानी पाइएला भन्ने सबैको अनुमान हुन्छ । मुहानमाथिको बस्तीका कारण पनि वर्षाको पानी प्रदूषित हुने गरेको स्थानीय सन्दीप लामाले सुनाए । “पानीको मुहानमाथिको बस्तीमा भूकम्पले घरसँगै शौचालय पनि भत्किए, धेरै शौचालय अझै पुनःनिर्माण भइसकेका छैनन्, खुला शौचालय यहाँको बाध्यता बनेको छ, वर्षाको भेलले यो फोहर पानीपोखरीमै आउँछ”–उनले भने । 

पानीपोखरीमाथि रहेको मूलखर्क, चिलाउने, ओखरेनी, कुनेलगायतका बस्ती सार्न विगत ३० वर्षअघिदेखि बहस चले पनि अझै टुंगोमा पुग्न सकेको छैन । बस्ती स्थानान्तरण वा सरसफाइको अभियान दुवै अघि नबढ्दा उपभोक्ता भने धारामा बल्लबल्ल खसेको धमिलो पानी हेरेर बस्न बाध्य छन् । 

धारामा आएको पानी पिएपछि घाँटी दुख्ने र नुहाएमा जीउ चिलाउने समस्या देखिएको गोकर्णेश्वर नगरपालिका वडा नं ८, अत्तरखेलकी सहारा थापाको गुनासो छ । कपडा धुँदा रङ नै बदलिने समस्या आउन थालेको उनको भनाइ छ । 

संविधानमा खानेपानीलाई मौलिक हकका रुपमा उल्लेख गरिए पनि उपत्यकामा पानी बढी पाइने भनेर चिनिने मुहान क्षेत्रकै अवस्था दयनीय बनेको छ । सुन्दरीजल पानी प्रशोधन केन्द्रको पटकपटक अनुगमन गरी सेवाको गुणस्तर सुधार्न लिमिटेडलाई दिएको निर्देशन वेवास्ता गरिएको खानेपानी महसुल निर्धारण आयोगका अध्यक्ष उपेन्द्रकुमार अधिकारीले बताए । 

“प्रशोधन केन्द्र जीर्ण बन्दै जाँदा वर्षौँ अघिदेखि दिइएको निर्देशनअनुसार बल्ल मर्मत शुरु गरेर कार्यान्वयनतर्फ गएको छ, धेरै ठाउँमा मूल पाइपबाटै पानी वितरण र चोरी भएका छन्, त्यससम्बन्धी विवरण पेश गर्न आयोगले दिएको निर्देशन पनि लिमिटेडले मानेन”–उनले भने । 

निर्देशनालय स्रोतले भने आइरनमात्र प्रशोधन हुनेगरी प्लान्ट बनाइएको जानकारी दिएको छ । एमोनिया जस्ता व्याक्टेरिया नयाँ स्थापना गरिएको प्लान्टबाट प्रशोधन हुन नसक्ने जनाइएको छ । सुन्दरीजलबाट उपत्यकामा वर्षामा दैनिक नौ करोड लिटर र हिउँदमा छ करोड लिटर पानी आपूर्ति हुने गरेको लिमिटेडले जनाएको छ । –रासस

 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा