मंगलबार, ९ असोज, २०७५ Tuesday, 25 September, 2018

चन्द्रकलाको मुहार तरकारी खेतीले फेरियो

‘ज्ञान र सीप पाएपछि आफ्नो मेहनतले अघि बढ्छु ।’’
प्रतिनिधिमुलक फोटो | वेब

काठमाडौँ, ३० जेठ । दुई वर्षअघिसम्म मकवानपुर जिल्ला भीमफेदी गाउँपालिका नामटारकी चन्द्रकला रुम्बा घरायसी कामबाहेक अशिक्षाले गर्दा अरु कामधन्दा गर्न नजान्ने भएकाले घरमै सीमित थिए । छोरीले पढ्न हुँदैन भन्ने सामाजिक अन्धविश्वास र घरको आर्थिक अवस्थाले गर्दा उनको विद्यालय जाने चाहना कहिल्यै पूरा भएन । 

सानो उमेरमै बिहे भएर अर्काको घरमा गएपछि त मेलापात, घरधन्दा र चुलोचौकामा नै उनको आधा जीवन बित्यो । आफ्नो पर्याप्त जग्गा नभएकाले अर्काको जग्गा अधियाँमा कमाएर र ज्याला मजदुरीबाट घरको गुजारा चलाउन उनलाई हम्मेहम्मे पर्दथ्यो । 

रातपछि बिहान भएजस्तै उनको जीवनमा पनि घाम उदायो । दुई वर्षअघिसम्म गरिब परिवारकी गृहिणीको रुपमा रहेकी उनको एक्कासी परिचय सफल महिला व्यवसायीको रुपमा फैलिएको छ । ४२ वर्षीया चन्द्रकलाको जीवनले विस्तारै कोल्टे फेर्न थाल्यो । 

घर उही, परिवार सदस्य उति नै, तर फेरिंदो जीवन । वल्लोपल्लो गाउँमा समेत उनलाई नचिन्ने कमै होलान् । सङ्घर्षशील महिलाको रुपमा चिनिन्छिन् उनी । दुई छोरा, दुई छोरी र श्रीमान गरी छ जनाको परिवार उनकै पाखुरामा निर्भर रहेको छ । श्रीमान शारिरीकरुपमा अशक्त भएकाले घर व्यवहारको जिम्मेवारी पनि उनकै काँधमा रहेको छ । 

गाउँघरमा अरुले तरकारी खेतीबाट पैसा कमाएको देखेर उनलाई पनि तरकारी खेती गर्ने विचार आयो । जग्गाको नाममा भएको आठ कठ्ठामा सानो खरको छानो भएको घर बनाएर बसेको थियो उनको परिवार । तरकारी लगाउने प्रसस्त बारी नभए पनि उनले अरुको अधियाँ कमाएर खेती सुरु गरेकी छिन् । 

थोरै जग्गामा लगाएको तरकारीले सुरुमै राम्रो आम्दानी दिएपछि उनलाई व्यावसायिक रुपमा तरकारी खेती गर्ने जाँगर बढ्यो । कमाएको आधा साहूलाई दिनुपर्दथ्यो र समयअनुसार विउबिजन नपाउँदा कहिलेकाहीँ त उनलाई खेती छोडेर अन्य व्यवसाय गर्ने विचार पनि नआएको होइन । तर त्यस्तो व्यवसाय गर्न उनीसँग पूँजी नभएको र कसैले दुई/चार हजार रुपैयाँ पनि नपत्याउने भएकाले तरकारी खेतीमै निरन्तर लागिरहेकी छिन् ।

निरन्तरको साधनाले सफलता दिन्छ भने झैं २०१४ अप्रिलपछि उनको तरकारी खेतीले फस्टाउने अवसर पायो । संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम, विश्व वातावरण कोष, साना अनुदान कार्यक्रमको आर्थिक सहयोग र एमडिसी नेपालको प्राविधिक सहयोगमा गाउँमा भू–क्षय रोकथामद्वारा जलवायु समानुकूलनमा समुदायको दिगो जीविकोपार्जन कार्यक्रम लागू भएपछि उनलाई ढुङ्गा खोज्दा देवता मिलेजस्तै भयो । यसले उनलाई पुनः तरकारी खेतीमै लाग्ने प्रेरणा मिल्यो । 

कार्यक्रमले विभिन्न समूहमा जैविक वातावरणमैत्री ताजा तरकारी उत्पादनसम्बन्धी तालिम दिएपछि उनमा तरकारी खेतीबाटै केही गर्न सकिन्छ भन्ने आत्मविश्वास बढ्यो । उनलाई लाग्यो अब बल्ल मेरो जिन्दगीले अनेक घुम्ती र खोँचहरु पार गर्दै मूल सडकमा आइपुग्यो । तालिमबाट उनले कसरी तरकारी उत्पादन तथा बजार व्यवस्थापन गर्नुुपर्ने रहेछ भन्ने थाहा पाएपछि उनले व्यावसायिक ढङ्गबाट तरकारी खेती गर्ने निधो गरिन् । 

सुरुमा आप्mनो आठ कठ्ठा र अरुको अधिँया चार कठ्ठा जमिन लिएर तरकारी खेती गर्न सुरु गरेकी थिइन् । बजारमा अरुले उत्पादन गरेको तरकारी आउनुअघि नै आफ्नो तरकारी लैजान सके बढी मूल्य पाइने भएकाले आफूले १२ कठ्ठा जग्गामै बेमौसमी तरकारीहरु लगाउन थालेको यहाँ बताउछिन् । एकै सिजनमा सबै खर्च कटाएर उनले रु. एक लाख ५० हजार खुद नाफा कमाउन सफल एको चन्द्रकलाको भनाइ छ । 

खेतबारीमा मल पनि हुने र दुध तथा मासु बिक्री गरेर आम्दानी पनि गर्न सकिने भएकाले अहिले उनले दुई÷तीनवटा भँैसी र केही बाख्रा पनि पाल्न थालेकी छिन् । प्राङ्गारिक मल राखेको तरकारीको मूल्य बढी पाउने र रासायनिक मल किन्ने पैसा पनि बचत हुने देखी भैँसी र बाखाको मललाई भकारो सुधार गरी सुधारिएको गोठेमल बनाएको उनी भन्छिन् । 

गाई भैँसीको पिसाब सङ्कलन गरी अर्गानिक तरकारी खेती गर्ने उनको लगन, मिहेनतको गाउँमा सबैले प्रशंसा गर्न थालेका छन् । उनको तरकारी अर्गानिक भएकाले मानिसहरु खोजीखोजी घरमै आएर पनि धेरै पैसा तिरेर किन्ने गरेकाले अब उनलाई बजारमा बेच्न जानुपर्ने समस्या छैन् । मूल्य पनि राम्रो पाएपछि उनको आर्थिक हैसियत बढ्न गएको छ । 

हिजोसम्म अर्काको जगगा अधियाँ गरेर जेनतेन घर परिवार चलाउँदै आएकी चन्द्रकला अहिले समाजमा हुनेखानेमा चिनिन्छिन् । दुई छोरी र दुई छोरालाई राम्रो क्याम्पस र स्कुल पढाउन सक्षम उनलाई अब घरखर्चमा कुनै समस्या छैन् । पहिले खरको छाप्रोमा गुजारा गर्दै आएकामा उनले अहिले पक्की घर बनाएकी छिन् । 

उनी भन्छिन, ‘‘ज्ञान र सीप पाएपछि आफ्नो मेहनतले अघि बढ्छु ।’’ यस वर्ष तरकारी खेतीबाट तीन लाख रुपैयाँ कमाउने उनको योजना छ । पहिले त पैसा कमाउन विदेश नै जानुपर्छ भन्ने लाग्थ्यो तर अहिले यहीँ बसेर मेहनत साथ खेती गरियो भने विदेशको भन्दा बढी कमाइ गर्न सकिने रहेछ भन्ने अनुभव उनको छ । 
–रासस

 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा