मंगलबार, २५ मङ्सिर, २०७५ Tuesday, 11 December, 2018

राससका अध्यक्ष वाग्लेको बिदाइ

लामो समय ‘गोरखापत्र’ राष्ट्रिय दैनिक पत्रिकामा कार्यरत वाग्ले विसं २०७१ जेठ २९ गते तत्कालीन मन्त्रिपरिषद्को निर्णयबाट चार वर्षका लागि रासस अध्यक्षमा नियुक्त भएका थिए ।
फाईल फोटो | वेब

काठमाडौँ, २८ जेठ । राष्ट्रिय समाचार समिति का कार्यकारी अध्यक्ष कुलचन्द्र वाग्ले आफ्नो चारवर्षीय कार्यकाल पूरा गरी आज राससबाट बिदा भएका छन् । 

आफ्नो बिदाइका लागि आयोजित कार्यक्रममा उनले मुलुकको एक मात्र समाचार समिति राससमा थोरै समय भए पनि काम गर्ने अवसर पाएकामा गर्व महसुस गर्दै आफ्नो कार्यकालमा राससमा लामो समयदेखि अस्थायी ज्यालादारीमा कार्यरत कर्मचारीलाई प्रक्रिया पुर्‍याई स्थायी गर्ने अवसर पाएकामा खुशी व्यक्त गरे । 

आफ्नो कार्यकालमा राससमा भौतिक पूर्वाधारलगायत समाचार सेवा प्रवाहमा महत्वपूर्ण कार्यको थालनी भएको उल्लेख गर्दै उनले बाँकी काम आगामी दिनमा हुदैँ जाने अपेक्षा गरे । 

लामो समय ‘गोरखापत्र’ राष्ट्रिय दैनिक पत्रिकामा कार्यरत वाग्ले विसं २०७१ जेठ २९ गते तत्कालीन मन्त्रिपरिषद्को निर्णयबाट चार वर्षका लागि रासस अध्यक्षमा नियुक्त भएका थिए । 

कार्यक्रममा राससका महाप्रबन्धक ओपेन्द्र शर्माले कुनै पनि संस्थाको विकास र प्रवद्र्धनका लागि नेतृत्वसँगै अन्य सदस्यको पनि उत्तिकै महत्वपूर्ण भूमिका हुने बताउँदै सबैको प्रयासले मात्र संस्थालाई नयाँ उचाइमा पुर्‍याउन सकिने धारणा व्यक्त गरेका थिए । 

नायब महाप्रबन्धक सुुरेन्द्रबहादुर नेपालीले मुलुकको संक्रमणकालीन अवस्थामा अध्यक्ष वाग्लेले राससमा महत्वपूर्ण जिम्मेवारी निर्वाह गरेकामा प्रशंसा गर्दै आगामी दिनका लागि शुभकामना दिए । रासस सञ्चालक समिति सदस्य दयाराम दाहालले अध्यक्ष वाग्लेसँग काम गर्दा राससका हितका सदैव सौहार्द रुपमा सहकार्य भएको स्मरण गर्दै विगतका कमजोरी सच्याएर नयाँ संस्कारका साथ अघि बढ्न सबैलाई सुझाव दिए । 

सञ्चालक समितिका अर्का सदस्य एवं रासस अन्तर्राष्ट्रिय समाचार शाखा प्रमुख एकराज पाठकले अध्यक्ष वाग्लेले राससमा गरेका महत्वपूर्ण कार्यको स्मरण गर्दै आगामी दिन उनको जीवन पुनःसिर्जनशील होस् भनी कामना गरे । प्रधानसम्पादक राजु शाक्यले नेतृत्वले समाचारप्रति निरन्तर सचेतता अपनाई सोहीअनुसार नियमन र समन्वय गर्दा काम गर्न सहज भएको स्मरण गरे । 

कार्यक्रममा प्रशासन प्रमुख सोमनाथ लामिछाने, प्रमुख समाचारदाता सूर्यचन्द्र बस्नेत, नेपाल पत्रकार महासंघ राससका अध्यक्ष नारायणप्रसाद घिमिरे, रासस कर्मचारी संघका अध्यक्ष मनोज लामिछाने, रासस कर्मचारी युनियनका सल्लाहकार प्रकाश सिलवाल, नेपाल कर्मचारी संगठन राससका वरिष्ठ उपाध्यक्ष रामलाल श्रेष्ठ, अङ्ग्रेजी सम्पादक पवित्रा गुरागाईं र कर्मचारी खिलप्रसाद दाहालले अध्यक्ष वाग्लेको कार्यकालमा भएका कार्यको स्मरण गर्दै आगामी दिनका लागि शुभकामना दिएका थिए । रासस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा