शनिबार, ६ असोज, २०७५ Saturday, 22 September, 2018

मगर समुदायका कान्छा सगरमाथा आरोही नर्विन सम्मानित

मन्त्री मगरले सगरमाथाको फोहोर सफाई अभियानमा जुट्ने बताइन्
फोटो: प्रकाश खालिङ

काठमाडौं, २७ जेठ । मगर समुदायको सबैभन्दा कान्छा सगरमाथा आरोही नर्विन मगरलाई खानेपानी तथा सरसफाईमन्त्री विना मगरले भाङ्ग्रा र फेटा  गुथेर सम्मान गरेकी छन् ।

शनिबार आयोजित एक समारोहबीच मन्त्री मगरले सम्मान गर्दै विभिन्न चुनौतीहरुको सामना गर्दै विश्वको सर्वोच्च शिखर सगरमाथा चुम्न सफल मगर एक उदाहरणीय पात्र बनेको बताइन् ।

मगरलाई बधाई तथा थप सफलताको शुभकामना दिँदै मन्त्री मगरले सगरमाथा चढ्नु असाधारण काम भएको बताउँदै नर्विनको साहस भावी पिढीका लागि प्रेरणा बन्ने विश्वाससमेत व्यक्त गरिन् ।

कार्यक्रममा आरोही नर्विनले पर्वतीय पर्यटन र पर्वतारोहीहरुको समस्यालाई ध्यानमा राखेर 'फाउण्डेसन' स्थापना गर्ने घोषणा गरेका थिए । उक्त अभियानका लागि मन्त्री मगरले उनलाई अग्रिम बधाई दिंदै अभियानलाई सफल गर्नका लागि सबैबाट सक्दो सहयोगको आवश्यकता रहेको भन्दै आफ्नो तर्फबाट सहयोग गर्ने प्रतिबद्धता जनाइन् ।

आरोहण अभियान समितिका संयोजक तथा समाजसेवी गंगाबहादुर थापामगरले नर्विन मगरले सगरमाथा चढेर मगर समुदायको लागि मात्रै नभएर सिंगो मुलुककै यूवाहरुको लागि उदाहरणीय पात्रको रुपमा आफुलाई उभ्याउन सफल भएको बताए । ‘नर्विन मगरले मगर समुदायको कान्छा आरोही त हुँदै हो’ उनले भने  ‘त्यत्तिमात्रै नभएर उनले सिंगो मुलुककै लागि एक उदाहरणीय पात्र बन्न सफल भएको बताए । उनले अभियानका सबै सहयोगीहरुप्रति आभार प्रकट गरे ।

कार्यक्रममा बोल्दै मन्त्री मगरले सगरमाथाको फोहोर सफाई अभियानमा जुट्ने बताइन् । ‘हामीसँग यत्तिधेरै हिमाल छ’ उनले भनिन् ‘माउन्टेन हबको रुपमा नेपाललाई विकास गर्न सक्छौं । तर, त्यसका लागि हामीले देखेको सम्बृद्धि, व्यवस्थापन र योजना निर्माण गर्न सकिरहेका छैनौँ । अहिलेको सरकार यसतर्फ गम्भिर भएर लाग्नुपर्ने आवश्यकता छ ।

सगरमाथा क्षेत्रमा फोहोरको डंगुर छ । सगरमाथाको सफाई अभियान राज्यस्तरबाट सञ्चालन गरिनुपर्दछ भन्नेमा मेरो पनि जोड रहेको छ ।’ उनले थपिन् ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा