मंगलबार, ९ असोज, २०७५ Tuesday, 25 September, 2018

सुवासचन्द्र ढुङ्गेलका सशक्त मुक्तक

‘मुक्तकमा कतैकतै अनुप्रास नमिले जस्तो लागे पनि भावना र संवेगका दृष्टिले सशक्त रहेको छन् ।’
फाइल फोटो : सुवासचन्द्र ढुङ्गेल/फेसबुक

काठमाडौं, १८ जेठ । गीतकार तथा लघुकथाकार सुवासचन्द्र ढुङ्गेलले आफू मुक्तककार पनि रहेको परिचय आज यहाँ २५ मुक्तक वाचन गरी दिएका छन् ।

दूध हो र हजुर पानीमा कहाँ तर लाग्छ 
सन्तको भन्दा अचेल चोरको चाहिँ भर लाग्छ 
जब याद आउँछ दुःशासन र द्रौपदीको 
शत्रुसँगभन्दा आफन्तसँग बढी डर लाग्छ ।’ 

सांस्कृतिक संस्थान र डिएमपिएस पूर्व्विद्यार्थी समाज सानोठिमीको आयोजनामा शुक्रबार (आज) भएको एकल मुक्तक वाचन र साङ्गीतिक कार्यक्रममा उनले मुलुकमा असल नेता नजन्मिएको, देवता र राक्षस गुण भएका छुट्याउन गाह्रो भएको, कालो धनको प्रयोग गर्न पुरस्कारहरु स्थापना गरिएको, युवाहरु विदेशमा रोजगारका लागि बाध्य भएर जानुपरेको जस्ता विषय उठाएका थिए ।
 
कार्यक्रममा साहित्यकार चेतन कार्कीले ढुङ्गेलका मुक्तकमा कतैकतै अनुप्रास नमिले जस्तो लागे पनि भावना र संवेगका दृष्टिले सशक्त रहेको बताए । साहित्यकार राजेन्द्र थापाले मुक्तक गाह्रो विधा भए पनि यसले लाखौँ मानिसलाई मन्त्रमुग्ध बनाउन सक्ने विचार राखे ।
 
संस्थानका महाप्रबन्धक राजेश थापाले संस्थाले हरेक महीनाको पहिलो बिहीबार सङ्गीत, दोस्रो बिहीबार काव्य र चौथो बिहीबार गायन कार्यक्रम आयोजना गर्ने गरेको जानकारी दिए ।

साहित्यकार प्रकाश सायमीले ढुङ्गेल ३० को दशकमा उदाएका गीतकार भएको बताउनुभयो । कार्यक्रममा ढुङ्गेलद्वारा लिखित ‘मेरा यी हातहरुमा तरबार र छुरा नहोस्’, मनविना बाँच्न पाए हुन्थ्यो दुईचार वर्ष, ‘जति पीडा’, ‘चोट के हो’, ‘उसको नजरमा’, ‘जति चोट दिन्छौ’ बोलका गीत मेनुका पौडेल, अधिश्री कसपाल र दिवाकर शर्माले गाएका थिए । 
 

‘आजभोलि तँ त साह्रै बेइमान भइस् ऐना 
मेरो थिइस् मेरैविरुद्धमा लागिस् ऐना 
कति धेरै खुशी थिएँ आफूलाई जवान ठान्दा 
सोध्दै नसोधी मेरो उमेर भन्दिइस् ऐना ।’ 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा