सोमबार, ११ असार, २०७५ Monday, 25 June, 2018

२५ औँ वर्षगाँठमा जापानमा भव्य 'कर्न्सट' गर्दै नेपथ्य 

२५ वर्षे यात्राको कथा समेटेको चिनारी पुस्तक प्रकाशित गर्ने तयारी
पोस्टर फाइल फोटो | वेब

जापान, १३ जेठ । नेपाली मौलिक गीत-संगीतलाई लोक-पप, लोक-रक साथै मैत्री रकमा गाएर लोकप्रिय बनेको चर्चित ब्याण्ड नेपथ्य व्याण्डको जुलाई ७ तारिखमा जापानमा 'कन्सर्ट' आयोजना हुने भएको छ ।

स्थापनाको २५ औँ वर्ष मनाई रहेको नेपथ्यले राजधानी टोकियोमा रहेको चर्चित  टोकियो डोमस्थित हलमा आफ्नो प्रस्तुति दिने भएको छ ।

फिनल्याण्ड, अमेरिका, दक्षिण कोरिया, डेनमार्क, अष्ट्रेलिया लगायत दर्जनौं देशहरुमा आफ्नो प्रस्तुति देखाइसकेको नेपथ्यले बेलायतको विश्व चर्चित ओटु एकेडेमीको विक्सटनमा भव्य कन्सर्ट गरिसकेको छ । 

सन् १९९१ मा स्थापना भएयता ९ वटा एल्बम निकालिसकेको नेपथ्यको पहिलो एल्बम नेपथ्य देखि ऐना झ्याल एल्बममा समावेश गीतहरु सबै उमेर समुहका नेपाली माझ लोकप्रिय रहेको छ ।

पप गितलाई लोकलय र नेपाली मौलिक लोक गीतलाई लोक-रक लयमा ढालेर नेपाली गीत संगितलाई अन्तराष्ट्रियकरण गर्दै आएको नेपथ्य नेपालय को ब्राण्डमा समेत परिचित छ ।

Nepathya concert

नेपालको प्रमुख शहरहरुमा कन्सर्ट आयोजना गरेर मोफसललाई गीत-संगितको मनोरञ्जनसँगै सामाजिक कार्यमा समेत सहभागी गराउँदै आएको नेपथ्यले प्रवासमा रहेको नेपाली समुदायलाई समेत यसमा सहभागी गराउँदै गीत संगीतमार्फत सामाजिक कार्यमा योगदान दिंदै आएको छ ।

नेपाली लोकभाकाका गीतलाई मौलिकता नमर्नेगरि नयाँ पुस्ताको रुचि अनुसार ढालेर गाउने कलात्मकताकै कारण नेपथ्य व्याण्डको पहिलो गित छेक्यो छेक्यो देउराली डाँडाँदेखि पछिल्लो गित शिर फुल फुलैमा, वनफुल वनैमा नेपाली दर्शक श्रोतामाझ निक्कै लोकप्रिय छ ।

मन्त्रमुग्ध बनाउने नेपथ्य व्याण्डका अमृत गुरुङ्को  स्वर, सुरज थापाको किर्बोड, सुबिन शाक्यको ब्यास तथा निखिल तुलाधर ड्रम्स एवं निरज गुरुङ र हरि महर्जनको गितारको धुनले जापानमा रहेका नेपालीलाई मनोरन्जन दिने छ ।

युवा तन्नेरी सहित हरेक पुस्ताका नेपालीलाई नेपाली गीत संगीतमा गर्व गर्न लायक बनाउँदै आएको नेपथ्यको रजत वर्षको जापान यात्रालाई ऐतिहाँसिक र भव्य बनाउन आयोजक गोरेटो प्रोडक्सनले तयारी गरेको छ । जापानमा नेपथ्य व्याण्डको यो तेस्रो तेस्रो भ्रमण हो ।

साउण्ड सिस्टमदेखी लाईट, स्टेजसम्म तथा सहभागिता सबै दृष्टिले पनि भव्य अनि नेपथ्यको रजत बर्ष जसरी नै मनाउनेगरि व्यवस्थापन थालिएको आयोजक संस्था गोरेटो प्रोडक्सनका सदस्य अनिस अधिकारीले बताए । उनले भने, 'कुनैपनि कुराका कमि हुन नदिनकै लागि जापानमा अहिलेसम्म नभएको ठूलो र भव्य स्थानमा नेपथ्यको कन्सर्ट आयोजना गरेका हौं ।' 

नेपथ्य व्याण्डले प्रस्तुती दिने स्थान टोकियो डोममा रहेको हलमा ३५ सय व्यक्ति अट्ने सिट क्षमता रहेको छ । जापान, दक्षिण कोरिया, चिन सहित अमेरिका लगायत देशका लोकप्रिय गायक तथा संगित समुहले प्रस्तुती दिइसकेको यो हलमा आजसम्म कुनैपनि नेपाली कार्यक्रम आयोजना भएको छैन ।

सन् १९९१ मा नेपथ्य एल्बम निक्लिएको मितिलाई स्थापना वर्ष मानेर ‘सेलिब्रेटिङ ट्वेन्टि फाइभ इयर्स अफ नेपथ्य’ मनाईरहेको व्याण्डले ‘आँगनैभरी हिउँ नै झरे’ ब्याण्डको पहिलो गीत भएको बताएको छ ।

सिल्भर जुब्लीको अवसरमा आफ्ना पुराना गितहरुको भिडियो समेत सार्वजनिक गरेको आएको नेपथ्यले नेपालयलाई पलेँटी श्रृंखला पुनः सुचारु गर्न सहयोग समेत गर्ने भएको छ । नेपाली संगीतको स्वर्णिम कालको उपासना र जागरण अभियान पलेँटीले चलाउँदै आएकोमा केही वर्षयता बन्द अवस्थामा छ । 

सिल्भर जुब्ली बर्षलाई सामाजिक क्षेत्रमा सहयोग गर्ने बर्ष समेत घोषणा गरेका नेपथ्यका संस्थापक एवं मुख्य गायक अमृत गुरुङले यो वर्ष नेपाली संगीतकै श्रीवृद्धिमा संलग्न हुने अठोट समेत गरिसकेका छन् ।

अमृत गुरूङ्ग, दीपकजंग राणा र भीम पुनले स्थापना गरेको नेपथ्यमा हालसम्म २० भन्दा बढि गित संगीतकर्मीहरु सहभागी भएर योगदान दिइसकेका छन् । नेपथ्यले रजत वर्षको अवसर पारेर आफ्नो २५ बर्षे यात्राको कथा समेटेर छिट्टै चिनारी पुस्तक प्रकाशित गर्ने तयारी समेत गरेको छ ।

रजत बर्षकै अवसर पारेर आफ्नो दशौं एल्बम सार्वजनिक गर्ने तयारी गरिरहेको नेपथ्यले दशौं एल्बममा समेटिने  शिर फुल फुलैमा, वनफुल वनैमा लगायत केही गीत भने सार्वजनिक गरिसकेको छ ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा