बुधबार, ३० श्रावण, २०७५ Wednesday, 15 August, 2018

हेर्न लायक भएपनि पर्यटक पुग्दैनन् चितवनको उपरदाङगढी

विसं १८०० तिर पृथ्वीनारायण शाहका नाति बहादुर शाहका छोरा शत्रुभञ्जन शाहले अंग्रेजसँग लडाइँ गर्न उपरदाङगढी बनाएका थिए ।
फाइल फोटो / वेब

चितवन १ जेठ । चितवनको पुरानो सदरमुकाम उपरदाङगढी पर्यटकीय दृष्टिले अति नै महत्वपूर्ण भएपनि सोचे जति पर्यटक पुग्दैनन् । पूर्वाधार अभाव र प्रचारको कमीले ऐतिहासिक गढी घुम्ने पर्यटक कम भएको हो । 

उपरदाङगढीको होमस्टे नम्बर २ का सञ्चालक गणेश थापा विदाको समयमा आन्तरिक पर्यटक आउने गरेपनि अरु बेला पर्यटकहरु शून्य जस्तै हुने बताउँछन् । 

‘कुनैकुनै बेला यहाँको तीनवटा होमस्टे भरिन्छ, तर धैरैजसो समयमा खाली नै हुन्छ,’ थापाले भने, ‘यति महत्वको गढी भए पनि सोचे जति पर्यटक भने आएका छैनन् ।’ 

पर्यटक नआएका कारण यहाँ सञ्चालनमा आएका तीन वटा होमस्टे बन्दसमेत भएका छन् । करीव विसं १८०० तिर पृथ्वीनारायण शाहका नाति बहादुर शाहका छोरा शत्रुभञ्जन शाहले अंग्रेजसँग लडाइँ गर्न उपरदाङगढी बनाएका थिए । 

समुद्र सतहदेखि एक हजार २७५ मिटरको उचाइमा रहेको गढी (किल्ला)का भग्नावशेषहरु अझै छन् । तत्कालीन समयमा अड्डा, अदालत, मालपोत तथा विभिन्न सरकारी कार्यालय र सैनिक चौकी रहेको स्थानीयवासीले बताएका छन् । 

गर्मी समयमा पनि जाडोको महसुस हुने यहाँबाट चितवनको सबैभन्दा अग्लो पहाड सिंराइचुली जान सजिलो पर्छ । 

अहिले गढीमा ऐतिहासिक किल्ला, तोप हान्न बनाइएका नौ वटा आकर्षक स्थान, कोतघर र विभिन्न मन्दिरको भग्नावशेष देख्न सकिन्छ । चारैतिर विशाल र ठूला कुँदिएका ढुंगाले बनेको पर्खाल हेर्दैमा आकर्षक देखिन्छ । 

यहाँबाट मनास्लु र अन्नपूर्ण हिमाल, प्राकृतिक दृश्यावलोकन र चितवनको समथर फाँट तथा निकुञ्जलाई राम्ररी नियालेर मनोरञ्जन लिन सकिन्छ । 

पूर्वतर्फ चितवनकै अग्लो पहाड सिंराइृचुली देखिन्छ । सूर्याेदय र सूर्यास्तको दृश्यले मन लोभिन्छ । गढी घुम्न आइपुग्नुभएका राजेन्द्र कार्कीले परिवारसहित आएर दृश्यावलोकन गर्न स्वर्गीय आनन्दको अनुभव लिन सकिने खालको गढी रहेको प्रतिक्रिया दिए । 

यस्तो महत्वको क्षेत्रको अहिले न संरक्षण गरिएको छ, न त प्रचार प्रसार नै भएको छ । अझ गढीको जग्गा अतिक्रमण हुने चिन्तासमेत बढ्दो छ । 

शनिवार गढी पुगेका आन्तरिक पर्यटक सुजन नेपाल ऐतिहासिक किल्ला मात्रै नभएर प्राकृतिक छटाले भरिपूर्ण उपरदाङगढी सुन्दर पर्यटकीय नगरी हो भन्छन् । 

उनीसँगै ज्ञानप्रसाद उपाध्याय, ध्रुव घिमिरे, दीपक तिवारी, सुवास न्यौपाने, माधव देवकोटा लगायतको एउटा समूहले शनिबार गढी पुगेर मनोरञ्जन लिए । 

यति महत्व र सुन्दर क्षेत्र भएर पनि यहाँ पाँच वर्षअघि जति पर्यटक आउँछन्, अहिले पनि सोही हाराहारीमा मात्र आउने गरेका छन् । सडक बनेकाले अहिले गाडी र मोटरसाइकलबाट यहाँ आउन सजिलो भएको छ । 

विगतमा शक्तिखोरसम्म सवारी यात्रापछि २/३ घण्टा हिँडेरै गढी घुम्न पर्यटक आउँथे । अहिले शक्तिखोरबाट पौने घण्टामै गढी पुगिन्छ । तर, पनि विगत भन्दा अहिले पर्यटक आशातित रुपमा बढ्न सकेको छैन । अहिले गढीमा दुई वटा होमस्टे र एउटा गढी हिल कटेज सञ्चालनमा छ । यहाँ एकदिनमा ५० जनासम्म पर्यटक राख्न मिल्छ । 

तेजबहादुर गुरुङले सञ्चालन गरेको होमस्टे नम्बर १ र गणेश थापाले सञ्चालन गरेकोे होमस्टे नम्बर २ मा पाँच/पाँच श्यया छ । बीस जना पर्यटक यी दुईमा बस्न मिल्छ । 

रुपेन्द्र कर्माचार्यको गढी हिल कटेजमा ३० जना सुत्न मिल्ने ठाउँ रहेको कटेज रेखदेख गर्दै आएका गोठे गुरुङ बताउँछन् । विदेशी पर्यटकहरु भने यहाँ न्यून मात्रामा मात्रै पुग्ने गरेका छन् । 

‘शुक्रबार र शनिवार चाहीँ आन्तरिक पर्यटक राम्रै आउँछन्, अरु बेला चाहीँ फाट्टफुट्ट हो,’ गुरुङले भने । बास बस्ने राम्रो व्यवस्था भएपनि पर्यटक भित्र्याउनतर्फ ध्यान नपुगेको देखिन्छ । रासस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा