बुधबार, ३० श्रावण, २०७५ Wednesday, 15 August, 2018

‘जेरी’ फिल्मको छायाङ्कनसँगै उदाएको ढुम्बा तालले पर्यटक लोभ्याउँदै

फाइल फोटो | वेब

वासुदेव पौडेल र रामबहादुर थापा (रासस)-

मुस्ताङ, १ जेठ । “ढुम्बा तालको पर्यटकीय आकर्षण ‘जेरी’ फिल्मको छायाङ्कन पछि मात्र बढेको हो,” ढुम्बा ताल संरक्षण समितिका सदस्य एवं स्थानीयवासी श्यामलाल गुरुङले भने । 

हिमालपारिको जिल्ला मुस्ताङको घरवजोङ गाउँपालिका– ५ ढुम्बा गाउँमा रहेको रमणीय ताल यतिखेर आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बनेको छ । सदरमुकाम जोमसोमबाट ४५ मिनेटको पैदल यात्रापछि पुगिने यो ताल मुस्ताङको ऐतिहासिक ठिनी गाउँको नजिकै पर्छ । 

लगभग ४०० मिटर लम्बाइ र १०० मिटर चौडाइमा अवस्थित ढुम्बा तालको गहिराइ करिब १० मिटर रहेको गुरुङ बताउँछन् । विसं २०७२ को भूकम्पका कारण तालको पानी सुक्दै जान थालेपछि चिन्तित बनेका स्थानीवासी यतिखेर पानी पूर्ववत् अवस्थामा रहन थालेपछि खुशी छन् । 

भूकम्पपछि मुहान सुक्नाका साथै तालको भूभाग चर्कंदा पानी सुक्दै गएको थियो । ‘जेरी’को छायाङ्कनसँगै विश्व बजारमा चर्चा पाएको ढुम्बा ताललाई त्यसपछि छायाङ्कन भएका विभिन्न चलचित्र एवं गीतको भिडियोले पर्यटन बजारमा थप चर्चामा ल्याएको हो । वरपरका हिमालको छायाँका साथै माछा एवं जलचरको दृश्यले यहाँ आउने जो कोही पर्यटक मोहित हुने गरेका छन् । 

तालको नजिकै रहेको ऐतिहासिक कुछप तेरेङ्गा गुम्बामा यही तालको पानी चढाउने भएका कारण यसको धार्मिक महत्व रहेको गुरुङको भनाइ छ । ढुम्बा तालमाथिको उक्त गुम्बामा गुरु पद्मसम्भवले प्रयोग गरेका केही सामान अझै सुरक्षित छन् । उनका कपडा, जुत्ता र कपाल यहाँ अझै छन् । बौद्धमार्गी यस गुम्बामा दर्शन गर्न पाउँदा आफूलाई निकै भाग्यमानी ठान्छन् । 

तालमा देखिने निलगिरि हिमालको छायाँले पर्यटकलाई मोहित पार्ने गरेको छ । वरपरका हिमाली दृश्यको छायाँसमेत तालभित्र देख्न सकिन्छ । ताल किनारमा रहेको शिलामा नागको वासस्थान भएको विश्वासका आधारमा समय समयमा यहाँ भक्तजनले नागको पूजाआजा गर्ने गरेका छन् । 

नागको पूजा गरेमा पारिवारिक सुखशान्तिका साथै मनोकांक्षा पूरा हुने जनविश्वास छ । हिमालको काखमा रहेको यो ताल पछिल्ला समय आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बनेको ढुम्बा आधारभूत विद्यालयका शिक्षक राजेन्द्र गुरुङले बताए । 

“मुक्तिनाथ दर्शनका साथै मुस्ताङको दृश्यावलोकन र पदयात्रामा आउने पर्यटक ताल हेर्न आउने गरेका छन्,” उनले भने । 

जलवायु परिवर्तनको बढ्दो असरसँगै तापक्रम वृद्धि र अन्य मानवीय कारणले तालमा पानीको सतह घट्दै गएकोतर्फ राज्यस्तरबाट चासो राखिनुपर्ने स्थानीयवासी बताउँछन् । समुद्री सतहदेखि करीब तीन हजार ५०० मिटरको उचाइमा अवस्थित ढुम्बा ताल चलचित्रको छायाङ्कन र वृत्तचित्र निर्माणका कारण चर्चामा छ । ताल संरक्षणका लागि वरपर वृक्षरोपण आवश्यक छ । 

ढुम्बा तालका साथै प्राचीन गुम्बा, नमखु लेक र थकाली संस्कृतिले भरिपूर्ण ठिनी गाउँका कारण तालसहितको क्षेत्र पर्यटकको आकर्षक गन्तव्य बन्दै गएको ढुम्बा आधारभूत विद्यालयका शिक्षक वसन्त गुरुङ बताउछन् । तालसम्म पुग्न ठिनी खोलामा पुल नहुँदा समस्या भएको छ । वर्षात्बाहेकको समयमा काठको पुलले काम चलाउने गरिए पनि ठाडो खोलाका कारण वर्षात्मा पुल नै बगाएर लैजाने समस्या रहेको उनले बताए । 

“पर्यटकलाई सहज रुपमा पुर्याउन पक्की पुल निर्माण गरिनु पर्छ,” उनले भने । 

मुक्तिनाथ मन्दिरबाट लुब्रा हुँदै ढुम्बा ताल भएर मार्फासम्म पदयात्रा गर्न वैकल्पिक पदमार्ग रहेका कारण पर्यटकलाई तालसम्म पुग्न सहज भएको छ । वैकल्पिक मार्ग हुँदै ढुम्बा ताल आएका पर्यटक ऐतिहासिक ठिनी गाउँ बास बस्छन् । पर्यटकलाई लक्ष्य गरी स्थानीयवासीको सक्रियतामा ठिनी गाउँमा घरबास कार्यक्रम समेत सञ्चालनमा छ । 

तालबाट ठिनी गाउँ आधा घण्टाको पदयात्रापछि पुगिन्छ । पर्यटकको आगमन बढ्दै गएपछि काजी लामाको अध्यक्षतामा रहेको ढुम्बा ताल संरक्षण समिति आवश्यक पूर्वाधार निर्माणमा क्रियाशील बनेको छ । तालकै संरक्षणका लागि ताल वरपर तारबार लगाइएको छ भने अवलोकन गर्न आउने आन्तरिक पर्यटकलाई रु १० तथा बाह्य पर्यटकका लागि रु २० प्रवेश शुल्क तोकिएको छ । 
समितिले तालको संरक्षण एवं सरसफाइका लागि परिसरमा शौचालय निर्माण गर्ने भएको छ ।

 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा