बुधबार, ३० श्रावण, २०७५ Wednesday, 15 August, 2018

इजरायलले जापानी प्रधानमन्त्री आबेलाई जुत्तामा खाना दिएपछि...

‘यो त यहुदी पाहुनालाई सुंगुरले खाने भाँडोमा खानेकुरा दिएजस्तै भयो ।’ – वरिष्ठ राजनीतिक विश्लेषक
फोटो : शेफ मोशे सेगेव इन्टाग्राम

एजेन्सी–वैशाख । जापानी प्रधानमन्त्री शिन्जो आबे र उनका श्रीमतीलाई इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले रात्रीभोजपछिको ‘डेजर्ट’ जुत्तामा राखेर दिए ।

यस घटनालाई जापानी राजनीतिक विश्लेषकहरुले जापानको वेइज्जतिको रुपमा अर्थाएका छन् भने सामजिक सन्जालहरुमा प्रधानमन्त्री नेतान्याहुको शैलिप्रति नकरात्मक टिप्पणीहरु आउन थालेका छन् ।

इजरायल भम्रणमा रहेका प्रधानमन्त्री आबे र उनका श्रीमतीलाई प्रधानमन्त्री नेतान्याहुले गत बिहीबार आफ्नै नीजि निवासमा रात्रीभोज दिएका थिए । उक्त भोजपछि जुत्तामा सजाएर प्रधानमन्त्री आबे र उनका श्रीमतीलाई ‘डेजर्ट’ दिइएको थियो ।

इजरायलमा चर्चित बनेका शेफ मोशे सेगेव प्रधानमन्त्री नेतान्याहुका नीजि सेफ हुन् ।  शेफ सेगेवले प्रधानमन्त्रीको नीजि निवासमा शानदार ‘डिनर’ तयार गरेका थिए । र, अन्त्यमा खानापछि खाइने ‘डेजर्ट’को रुपमा चकलेटबाट बनेको चम्किलो जुत्तामा राखेर प्रधानमन्त्री आबे र उनका श्रीमतीलाई पस्किए ।

'बीबीसी'का अनुसार जापानी शंस्कृतिमा जुत्तालाई निकै अपमानजनक मानिन्छ । प्रधानमन्त्री आबेले बिना कुनै संकोच जुत्तामाथिको ‘डेजर्ट’ खाए तर, जापान–इजरायलबीच कुुनैपनि राजनैतिक कुराकानी भने गरेनन् ।

जापान–इजरायल सम्बन्धबारे जानकार एकजना वरिष्ठ राजनीतिक विश्लेषकले इजरायली प्रधानमन्त्रीले जुत्तामा खाना राखेर दिएको विषयले हैरान भएको प्रतिकृया दिएका छन् । जापानमा रहँदै आएका ती विश्लेषकले इजरायल पत्रिका ‘येदियोत अहरानोत’लाई दिएको अन्र्तवार्तामा भनेका छन्, ‘त्यो एक असंवेदनशिल र बेवकुफीपना निर्णय थियो ।’
 
उनले भनेका छन्, ‘जापानी शंस्कृतिमा जुत्ता जत्ति तुच्छ चिज अरु केहि छैन् । जापानी आफ्नो घरभित्र जुत्ता लगाएको मन पराउँदैनन् । यहाँसम्म की प्रधानमन्त्रीलगायत अन्य मन्त्रीहरु समेत आफ्नो कार्यालयभित्र जुत्ता लगाएर जाँदैनन् । यो त यहुदी पाहुनालाई सुंगुरले खाने भाँडोमा खानेकुरा दिएजस्तै भयो ।’

शेफ सेगेवले समेत सामाजिक सन्जालमा प्रधानमन्त्रीको रात्रीभोजसँग सम्बन्धित खानाका परीकारको फोटो बाँडेका छन् । ती फोटोहरुमा प्रधानमन्त्री आबेलाई दिइएको ‘डेजर्ट’समेत रहेको छ । उनले बाँडेको उक्त फोटोमा एकजना प्रयोगकर्ताले लेखेका छन्, ‘तपाईंले अहिलेसम्मकै सबैभन्दा ठूूलो गल्ति गर्नुभयो ।’ 

 

A post shared by segevmoshe (@segevmoshe) on

त्यस्तै, अर्का प्रयोगकर्ताले लेखेका छन्, ‘यस देशले यस घटना कहिल्यै बिर्सने छैन्, सेगेव म तपाईंलाई एकदमै सम्मान गर्थेँ तर, तपाईंले हाम्रो वेइज्जती गर्नुभयो ।’

अहिलेसम्म कैयौँ पुरस्कार तथा सम्मान पाइसकेका शेफ सेगेव इजरायलका ठूलो होटलका मालिक हुन् । उनले खानपानसम्बन्धित कैयौँ किताबहरु लेखिसकेका छन् । साथै उनी टेलिभिजन सेलिब्रेटिसमेत हुन् । 

प्रधानमन्त्री आबे पहिलोपटक सन् २०१५ मा इजरायल भ्रमणमा आएका थिए । उनको यसपटकको इजरायल भ्रमणमा प्रधानमन्त्री नेतान्याहुसँग उत्तर कोरिया, इरान परमाणु सम्झौता र इजरायल–फलस्तीनि शान्ति वार्तालगायतका बिषयमा छलफल भएको बीबीसीले उल्लेख गरेको छ ।

जापानी प्रधानमन्त्री शिन्जो आबे र इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु । फाइल फोटो : एपी

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा