सोमबार, ५ कार्तिक, २०७५ Monday, 22 October, 2018

टिम चौराह धनगढीले जित्यो डिपिएलको उपाधि

जितसँगै धनगढीले रु २५ लाख प्राप्त गर्यो भने उपविजेता काठमाडौंले १५ लाख प्राप्त

धनगढी, ३० चैत । रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट प्रतियोगिताको उपाधि टिम चौराह धनगढीले जितेको छ । सोे टिमले काठमाडौं गोल्डेन्सलाई २१ रनले हराउँदै उपाधि जितेको हो । 

प्रदेश नं ७ को संघीय एकाइ प्रहरी कार्यालयको खेल मैदानमा भएको खेलमा धनगढीले टस जितेर ब्याटिङ गरी निर्धारित २० ओभरको खेलमा धनगढीले चार विकेट गुमाउँदै १८१ रन बनायो । एक सय ८२ रनको विजय लक्ष्य पछ्याएको काठमाडौंले २० ओभरमा सबै विकेट गुमाउँदै एक सय ६० रनमा समेटियो । 

धनगढीका लागि सुनिल धमलाले ७८ तथा रोहन मुस्तफाले ६० रनको योगदान दिए । धमलाले ६३ बलमा तीन छक्का र आठ चौका प्रहार गरे । मुस्तफाले ४२ बल खेल्दै चार छक्का र चार चौका हाने । सोमपाल कामीले अविजित रहँदै आठ रन बनाए । बलिङतर्फ काठमाडौंका लागि सुबोथ भाटीले दुई तथा सन्नी पटेलले एक विकेट लिए । 

ब्याटिङतर्फ काठमाडौं गोल्डेन्सका लागि अमित श्रेष्ठले ५८ रन बनाए । उनले ३९ बलमा तीन छक्का र सात चौका प्रहार गरे । यस्तै ज्ञानेन्द्र मल्लले ३०, सन्नी पटेल २२, नरेश बुढाऐरले १९ तथा पुष्प थापाले १५ रन बनाए । 

बलिङतर्फ धनगढीका लागि ललितसिंह भण्डारीले तीन, रोहन मुस्तफाले दुई तथा सम्साद शेख र योगेन्द्रसिंह कार्कीले एक-एक विकेट लिए । 

जितसँगै धनगढीले रु २५ लाख प्राप्त गर्यो भने उपविजेता काठमाडौंले १५ लाख प्राप्त गर्यो ।

स्रोत: राष्ट्रिय समाचार समिति।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा