सोमबार, ४ कार्तिक, २०७६ Monday, 21 October, 2019

बनेपामा पहिरोले घर पुर्दा दुई जनाको मृत्यु, दुई घाइते

घरमा रहेका चारैजना घरभित्र पुरिएपछि प्रहरी र स्थानीयवासीको सहयोगमा उनीहरुको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक जयाज सापकोटाले जानकारी दिए ।
काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–३ चुनातालमा अविरल बर्षाका कारण शुक्रबार विहान घरमाथिको ढिस्को (पहिरो) झरेर भत्किएको स्थानीयबासिन्दा रामप्रसाद दंगालको घर । सो घर भत्किँदा दई जनाको मृत्यु भएको छ । तस्वीर : पेमा लामा

 

काभ्रेपलाञ्चोक । अविरल वर्षाका कारण माथिबाट आएको पहिरोले घर पुर्दा बनेपा नगरपालिका–३ चुनातालका दुईको मृत्यु हुनाका साथै अन्य दुई घाइते भएका छन् ।

स्थानीय रामप्रसाद दङ्गालको ढुङ्गा र माटोले बनेको दुईतले घर बिहीबार राति ११ बजे पहिरो पुर्दा उनकी श्रीमती ६० वर्षीया गोमा र नातिनी सात वर्षीया सुहबीको मृत्यु भएको थियो भने बुहारी ३० वर्षीया सुशीला र  उनकी तीन महीनाकी छोरी अनुष्का घाइते भएका थिए ।

घरमा रहेका चारैजना घरभित्र पुरिएपछि प्रहरी र स्थानीयवासीको सहयोगमा उनीहरुको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक जयाज सापकोटाले जानकारी दिए ।

घाइतेको बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचार भइरहेको छ । अविरल वर्षाका कारण चौँरीदेउराली–४ मजुवामा आज बिहान पहिरोले तीन घरमा क्षति पु¥याएको छ । स्थानीयवासी दीपक गौतम, धनप्रसाद तिमल्सिना र रामप्रसाद चौलागाईंको घरमा पहिरोले क्षति पु¥याएको पीडित गौतमले जानकारी दिए ।

उनका अनुसार बिहानको समयमा पहिरोले क्षति घरमा पुर्दा पनि मानवीय क्षति भने भएको छैन । पहिरोले मजुवामै रहेको कुशल कृषि उत्पादक समूहद्वारा सञ्चालित बाख्रापालन फार्ममा क्षति पुगेको सोही स्थानका लिलानाथ गौतमले बताए । उनका अनुसार मजुवाका विभिन्न स्थानमा पहिरो जाने क्रम नरोकिँदा बस्तीनै जोखिममा पर्ने सम्भावना छ ।

अविरल वर्षाका कारण सडकमा लेदो जम्दा आज बिहानदेखि बिपी राजमार्गअन्तर्गत रोशी गाउँपालिका–११ कटुञ्जेको सडक अवरुद्ध भएको छ । प्रहरी उपरीक्षक सापकोटाका अनुसार खोसापी–ढुङ्खर्क सडकखण्डको केही स्थानमा पहिरो तथा सडक भत्कँदा यातायात अवरुद्ध भएको छ । पहिरोका कारण कोलाँती–मुलाबारी–गुराँसे सडक अवरुद्ध भएको स्थानीयवासी विष्णप्रसाद चौलागाईंले जानकारी दिए ।

अविरल वर्षाका कारण बनेपास्थित पुलबजारस्थित सडक आज बिहानदेखि डुबानमा पर्दा अरनिको राजमार्ग अवरुद्ध भएको छ । ठूला सवारीसाधन मुस्किलले डुबान सडक पार गरिरहेका छन् भने हलुका तथा दुईपाङ्ग्रे सवारीसाधन बाटोमै रोकिएका छन् । रासस
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा