बुधबार, ४ मङ्सिर, २०७६ Wednesday, 20 November, 2019

मलाई गुमराहमा राखे, आफ्नो भूल स्वीकार गर्छु : प्रधानमन्त्री ओली [भिडियो]

ओलीले आफूले खोजी गरेपछि मात्र पत्र आएको थाहा भएको बताए । कार्यक्रममा प्रधानमन्त्री ओलीले असार २३ गते बेलुका मात्र आफूले पत्रबारे जानकारी पाएको बताएका छन् ।


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले नेपालमा तरकारीको विषादी परीक्षणमा असन्तुष्टि प्रकट गरेर पत्र पठाइएको विषयमा आफूलाई गुमराहमा पारिएको बताएका छन्।

नेपाल टेलिभिजनसँग प्रशारित ‘जनतासँग प्रधानमन्त्री’ कार्यक्रममा प्रधानमन्त्री ओलीले भारतले पठाएको पत्रबारे परराष्ट्र मन्त्रालय, वाणिज्य र कृषि मन्त्रालय जानकार भए पनि आफूलाई सूचना नदिएको बताएका हुन् ।

गत असार २१ गते नेकपाको संसदीय दलको बैठकमा प्रधानमन्त्री ओलीले भारतबाट पत्र आएको जानकारी नभएको बताएपछि भारतीय पक्षले नेपाललाई पठाएको पत्र नै सार्वजनिक गरिदिएको थिए ।

उनले टेलिभिजनमा प्रत्यक्ष प्रसारण भएको कार्यक्रममा भारतीय पक्षले पठाएको पत्रबारे आफ्नो भूल स्वीकार गरेका छन् । ओलीले आफूले खोजी गरेपछि मात्र पत्र आएको थाहा भएको बताए । कार्यक्रममा प्रधानमन्त्री ओलीले असार २३ गते बेलुका मात्र आफूले पत्रबारे जानकारी पाएको बताएका छन् ।

प्रधानमन्त्री ओलीले कार्यक्रममा यस्तो बोले 

‘मैले कबुल गर्नुपर्छ भूल स्वीकार गर्नुपर्दछ । मैले भारतबाट पत्र प्राप्त आएको साँचो होइन, हल्ला हो भने । किनभने भारतले पठाएको पत्रबारे परराष्ट्र मन्त्रालय, वाणिज्य मन्त्रालय, कृषि मन्त्रालय जानकार रहेछन् । त्यो पत्र आएको रहेछ तर त्यससम्बन्धमा मलाई बताइएन। मैले त्यसरी बोलिसकेपछि पनि पत्र आएको छ भन्ने बताइएन ।

विभिन्न ठाउँमा कुरा अगाडि बढाएको रहेछ, त्यो सम्बन्धमा मलाई अनविज्ञ राखियो। तसर्थ मैले मेरो जानकारीमा नभएको हुनाले पत्र आएको छैन भने । तर, २३ गते बेलुका मात्र पत्र आएकोबारे जानकारी पाएँ । त्यसबाट म अत्यन्त दुखित छु। मलाई जसले जानेर भ्रममा राख्यो वा अन्जानमा बताउन भुल्यो, मलाई त्यो कुरा जानकारी भएन । जे सुकै होस् त्यो कुरा म सँग आएन। र, मैले प्रधानमन्त्रीको हैसियतमा त्यो कुरा जानकारी पाउनुपर्थ्याे । मैले थाहा पाए अनुसार विभिन्न ठाउँमा राजदूतले भेटेको पाइयो। त्यो कुरा मलाई कसैले बताएन ।

कतिपय बोर्डरमा परीक्षणको सुविधा रहेनछ। न यन्त्र छ, न जनशक्ति छ । केही ठाउँमा भएको सामान्य कुरालाई भयो भनेर यो गर्दा हुन्छ भनेर प्रस्ताव ल्याइयो। जसबाट म झुक्किएँ ।

मलाई थाहा नहुँदा (पत्र) आएको छैन भनेँ, कहीँ जनतालाई अल्मल्याउन खोजेको त हैन भन्ने भ्रमको अवस्था र विरोधीहरूले भएको कुरालाई हैन भनेर प्रचार गर्ने मौका पायो । मलाई त्यसमा कुनै एउटा तथ्यलाई अर्को ढंगले भन्नुपर्ने र त्यसो भन्दा कुनै लाभ हुने अवस्था थिएन ।

यो सामान्य ढंगले हामीले आयात गर्ने खाद्य पदार्थ शुद्ध हुनुपर्छ भन्ने कुरा हो । अर्को कुरा परीक्षण सम्पूर्ण रूपले रोकिएको होइन । हामीले चालेको कदम फिर्ता लिएको होइन। आवश्यक तयारी गरी फेरि शिघ्र परीक्षण गर्ने भनेर निर्देशन सम्बन्धित मन्त्रालयहरूलाई भएको छ ।

हामीले मित्रराष्ट्रलाई आग्रह गरेका छौँ । हाम्रो देशमा निर्यात गर्ने सामानको परीक्षण प्रमाणपत्र दिएर पठाउनुहोस् । यसअघि अमृत नै अमृत आउँथ्यो जस्तो हल्ला भएको छ, विषादीयुक्त हामीले खाने भनेर चिकित्सकहरू बोलेका छन् । तबसम्म किन नबोलेको जबसम्म म बोलिन । यो हुँइया मच्चाएको राम्रो छ । सजगता आएको छ ।

मैले हाम्रै तयारी पुगेन भनेर मन्त्रालयलाई निर्देशन दिएर तयारी नपुगेसम्म स्थगित गरेर तयारी गर्नु भनेर निर्देशन दिएको हो । त्यस्तो प्रमाणपत्र नभएकोमा जाँच गर्छौँ ।’ 

भिडियो स्रोत: नेपाल टेलिभिजन/जनतासँग प्रधानमन्त्री’ कार्यक्रम

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा